कांग्रेस हार्नुका ५ कारण

कांग्रेस हार्नुका ५ कारण

‘नेतृत्व परिवर्तन गरेर कांग्रेस सुध्रिन्छ, कांग्रेस सुध्रिए देश सुध्रिन्छ’ भन्ने नाराका साथ आम निर्वाचनमा होमिएको नेपाली कांग्रेसले इतिहासकै सबैभन्दा ठूलो पराजय बेहोरेको छ। कांग्रेसको यो पराजयको मुख्य कारण अरू कोही नभएर कांग्रेस आफैं हो। सुधारको बाटोमा हिँड्ने प्रयास गरे पनि आन्तरिक कमजोरी, विचारधारा, सिद्धान्त र आदर्शबाट बिचलित निर्णयगत त्रुटिहरूले गर्दा कांग्रेस चुनावी मैदानमा पछारिन पुग्यो।
कांग्रेसको यो हार इतर शक्तिभन्दा पनि आफ्नै नीतिगत र व्यावहारिक असफलताको परिणाम हो। यसलाई निम्न ५ बुँदामा विश्लेषण गर्न सकिन्छः

 १. भदौ २३ को घटनालाई सम्बोधन गर्न अलमल

संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि, नेपालको संविधान, बालबालिका ऐन, शिक्षा ऐन र २०६७ सालमा ‘बालबालिका शान्ति क्षेत्र’ अभियानप्रति दलहरूले जनाएको प्रतिबद्धताविपरीत विद्यालयका बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग गरियो। विधिपूर्वक गठित सरकारलाई सडकबाट अपदस्त गर्ने उद्देश्यले बालबालिकालाई मृत्युको मुखमा धकेल्ने र त्यसबाट उत्पन्न आक्रोशलाई प्रयोग गरी भदौ २४ गते गरिएको अराजकता, आगजनी र तोडफोडको घटनाको विरुद्धमा कांग्रेस डटेर उभिन सकेन। यो कांग्रेसको सबैभन्दा ठूलो गल्ती थियो।

२. दण्डहीनता र न्यायको पक्षमा कमजोर अडान
राज्यको प्राथमिक दायित्व नागरिकको जीवन, स्वतन्त्रता र सम्पत्तिको रक्षा गर्नु हो। यी आधारभूत अधिकारमाथि हमला गर्नेहरू देश र जनताका अपराधी हुन्। तर, कांग्रेसले ती घटनालाई ‘क्रान्ति’ ठहर गर्ने गल्ती गर्‍यो।

कुन दलका कार्यकर्ता संलग्न थिए भन्ने खोज्नुभन्दा पनि ‘क्रान्ति’ भनी दिएपछि भोट पाइन्छ भन्ने भ्रममा कांग्रेस रह्यो। कांग्रेसको यो दोधारे नीतिले जनतामा अन्योल सिर्जना गर्‍यो। ‘क्रान्तिकारी’ छवि त रास्वपाकै थियो, त्यसैले जनताले उसैलाई रोजे।

३. कानुनी प्रक्रियामा दबाब दिन नसक्नु
भदौ २३ र २४ का अपराधलाई सामान्य फौजदारी न्याय प्रणालीअन्तर्गत ल्याई दोषीहरूलाई पक्राउ, अनुसन्धान र अभियोजन गर्न सुशीला कार्की सरकारमाथि कांग्रेसले दबाब बढाउन सकेन। ‘अपराधीहरूलाई कारबाही नगरी गरिने चुनावमा भाग लिँदैनौं’ भन्न सक्नुपथ्र्यो, तर कांग्रेसले यो गम्भीर राजनीतिक विषयलाई बेवास्ता गर्‍यो। परिणाम स्वरूप अपराधीहरूले ‘क्रान्तिकारी’ को रूपमा उन्मुक्ति पाए र जनताले कांग्रेसलाई न्यायको पक्षधर ठानेनन्। यसले पार्टीको नैतिक आधार नै कमजोर बनायो।

४. नेतृत्व परिवर्तनको किचलो र समयको दुरुपयोग
भदौ २८ पछि कांग्रेसले लामो समय नेतृत्व परिवर्तनको आन्तरिक विवादमै खर्च गर्‍यो। निर्वाचनसम्मको उपलब्ध समयको झन्डै एकतिहाइ भाग अनावश्यक किचलोमा बित्यो। त्यतिबेला देशले स्पष्ट दिशा र अभिभावकत्व खोजिरहेको थियो, तर कांग्रेस आन्तरिक द्वन्द्वमा रुमल्लियो। नेतृत्व परिवर्तन आवश्यक भए पनि त्यसको समय र प्राथमिकता गलत थियो। यसले पार्टीको ऊर्जा र स्रोत मात्र खेर गएन, कांग्रेसले आफ्नो पक्षमा बोल्छ भन्ने आस राखेका जनतामा समेत निराशा छायो।

५. जनपरिचालन र सञ्चारमा असफलता
राजनीतिक दलको मूल काम जनपरिचालन र प्रभावकारी सञ्चार हो। कांग्रेसले तत्कालीन सरकारमा रहेर पनि भदौ २३–२४ पछिको घटनामा आफूलाई जिम्मेवारीबाट पन्छाउन खोज्यो। आफ्नै संलग्नताको गठबन्धन सरकारलाई दोष दिँदै नेकपा (एमाले) र तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ‘भित्तामा पुर्‍याउने’ दाउ खोज्दा अराजक शक्तिहरूलाई फाइदा पुग्यो। अन्ततः एमालेलाई घेराबन्दी गर्न खोज्दा कांग्रेस आफैं पनि घेराबन्दीमा पर्‍यो। नागरिकको जीवन र स्वतन्त्रताका लागि लड्छौं भन्ने विश्वास दिलाउन नसक्दा कांग्रेस चिप्लियो।

निष्कर्ष
यी पाँच कारणले कांग्रेसको पराजयलाई प्रष्ट पार्छन्। अब कांग्रेसले यी त्रुटिबाट पाठ सिक्छ कि सिक्दैन, त्यसैले यसको भविष्य निर्धारण गर्नेछ। संसद्मा कांग्रेसले भदौ २३ र २४ का अपराधीहरूलाई कठघरामा उभ्याउन कस्तो भूमिका खेल्छ, त्यसैमा पार्टीको पुनरागमन निर्भर छ। बलियो र वैचारिक कांग्रेसबिना नेपालको लोकतन्त्र सधैं जोखिममा रहनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.