सपना हो कि विपना ?
पत्ता साफ !
पत्ता साफ !
‘कसैको लोकमा हुन्न एकैनास समुन्नति
(कवि शिरोमणि लेखनाथ पौड्याल)
म अलि स्वर बिगारेर यी कुराहरू फत्फताउँदै मेरा बालसखाको घरको भर्याङ उक्लिँदै थिएँ,भित्रबाट मेरो मित्र चड्कियो,‘को हो त्यो,यसरी कराउने ?’
कोठामा पस्दै मैले भनें,‘किन करा’को ? म हो,म।’
उसले खुइँय सुस्केरा काट्दै भन्यो,‘यस्तो बेलामा पनि मलाई सापक हान्न छाड्दैनस्,हैन ?’
बालसखा भएको हुनाले मेरो जस्तोसुकै व्यंग्य पनि उसले पचाउने गरेको छ। सिरकलाई अलिकति पन्छाएर उसले ओछ्यानमै बस्न इशारा गर्यो।
बसेपछि भनें,‘कल्पनामा पनि नभएको कुरा भयो, सुपर्णखा। यसमा पक्कै पनि ठूलो खेल भएको हुनुपर्छ। नत्र यस्तो हुने सम्भाव नै थिएन। हामीले पनि अनुसन्धान गरेकै थियौं। एक एक गन्ति,
हिसाब लगाएकै थियौं।’ मैले भनें, ‘हेर, खेल सेल केही हैन, मैले पहिले पनि तँलाई भनेको थिएँ, लुट्ने काम नगर। यसले नराम्ररी पिरोल्छ, निद्रा भोक हराउँछ।’
उसले भन्यो,‘अब राजनीति भनेको यस्तै त हो नि। कतिलाई आफ्नो बनाउनु पर्छ। आफ्नो बनाउन खर्च गर्ने पर्छ। त्यो खर्च मैले कहाँबाट ल्याउने ? अलिअलि यताउता त गर्नैपर्यो नि।’
मैले भनें, ‘हेर, अरूले समेत नपत्याउने कुरा मसँग किन गर्छस्। मलाई तेरो बाल्यकालदेखिको नालीबेली थाहा छैन र! अलिअलि यताउता गरेर कोही अरबपति बन्छ ? तैंले त लुट्नसम्म लुटेको होस् नि। नत्र यत्रो राजषी छाँट, सोख कहाँबाट जुट्छ ? जहाँजहाँ दृष्टि पर्छ, त्यहाँ त्यहाँबाट सोहोर्न तैंले छाडिनस्। यो टोल बनाउँछु भनेर भ्रम छर्दै सात पुस्तासम्म हेरिस्। टोलको पहिलेभन्दा दुर्गति बनाइस्। अन्त गएर मेरो टोल फलानो हो भन्न लाज लाग्ने तुल्याइस्।’
उसले चिन्तित स्वरमा भन्यो,‘सुपर्णखा,अरूले मलाई घुस खायो, घुस्याहा, भ्रष्टाचारी भने भने,तँ त मेरो बालसखा। तँ पनि त्यसो भन्ने ?’
मैले भनें, ‘हेर,अरूले तेरो विषयमा धेरै थाहा नभएर घुस्याहा र भ्रष्टाचारी भने। मलाई त सबै थाहा छ नि। छाक टार्न गाह्रो पर्ने तेरो यो अकुत सम्पत्ति र आलिशान जीवन पद्धति कहाँबाट जुर्यो ? तेरो बाल्यकाल देख्नेले त तँलाई लुटेरा, डाँका भन्नेछन्। त्यो सुनें भने मेरो पनि हृदय रुनेछ,जे भए पनि बालसखा!तँ त्यस्तो नहुनु पर्ने थियो। कति सम्झाएको हुँ। मान्दै मानिनस्।’
उसले दिग्दार भएर भन्यो,‘मैलेभन्दा कम मनपरी नगर्नेले पनि बाजी मार्यो त।’
दिक्क मान्दै जवाफ दिएँ,‘अब त्यो धूर्तले खोजी खोजी नरम ओछ्यानमा गएर लम्पसार परेछ,अनि उसलाई हाइसन्चो भएन त। तँ घमण्डले मातिइस्,थच्चिइराख्,आफ्नै ओछ्यानमा।’
उसले कुइँय गरेर नमीठो मुख लगायो।
‘कल्पनामा पनि नभएको कुरा भयो, सुपर्णखा। यसमा पक्कै पनि ठूलो खेल भएको हुनुपर्छ। नत्र यस्तो हुने सम्भाव नै थिएन। हामीले पनि अनुसन्धान गरेकै थियौं। एक एक गन्ति, हिसाब लगाएकै थियौं।’
मैले थपें,‘त्यतिमात्र हैन तँ धेरै उम्लिन थालिस्,अरूलाई मान्छे गन्न छाडिस्। तेरा मतियारसँग मिलेर तिमीहरू सबैले टोलमा गरिखाने बाटो सबै मासिदियौ,स–साना भुराको आहार बनायौ। स्वाद मानेर खायौ। हसुर्नलाई के बाँकी राख्यौ र ?अरू ठाउँमा भए त योभन्दा ठूलो दुर्गति हुन्थ्यो,धन्न यो टोलमा भएर। यहाँका मानिसहरू सोझा भएर बाच्यौ।’
उसले बडो बेचैनीका साथ सोध्यो,‘भन्न त अब म के गरेर दिन बिताउँ ?’
मैले भनें,‘अब केही नगर्ने। खुराफाती दिमाग सम्हाल्ने। घरमा बसेर आराम गर्ने,पढ्ने,बस्। वास्तवमा ६० नाघेका टोल बनाउने बहानामा टोल भत्काएका पात्र र तिनका मतियार सबैले अब चुप लागेर बस्ने। खुराफात नगर्ने। नत्र योभन्दा कठोर नियति भोग्नु पर्ला। मलाई त डर लागिरहेछ,कतै टोल बनाउन आएका उत्साह,अठोट,जाँगर,इच्छाशक्ति र दृष्टिकोण भएका यी युवती तथा युवामा तिमीहरू भाइरस भएर छिर्लाउ र आफैं जस्तो मानसिक रोगी बनाउलाउ कि भन्ने! यो झिनो डरमात्र हो। यी युवती र युवा बुद्धिमान छन्। आधुनिक प्रविधिको राम्रो ज्ञाता भएकाले भाइरस छिटै पत्ता लगाइहाल्छन् र त्यसलाई नष्ट पनि गरिहाल्छन्।’
मेरो कुरा सुनेर ऊ एकपल्ट झस्क्यो र निन्याउरो अनुहार लगायो।
त्यहीबेला बाहिर बाटामा कोही चिच्यायो,‘देशद्रोही, राष्ट्रघातीको घर यै हो।’
रिसले जुर्मुर्याएर उठ्दै ऊ करायो,‘को हो त्यो ?’
ओहो, अझै पनि चुरीफुरी! म त्यहाँबाट लुसुक्क हिडें।
प्रतिक्रिया दिनुहोस !