काठमाडौं : फागुन २१ गते भएको चुनावमा सूर्य चुनाव चिह्न लिएको एमालेले नराम्ररी हार बेहोर्यो। भोलिपल्टदेखि घाम लागेको छैन। ठट्टैठट्टामा जनजीवनमा भन्ने गरिएको छ– एमालेसँगै घाम पनि हरायो। भएको चाहिँ के हो ?
मतदानको दिनसम्म मौसमले साथ दिए पनि निर्वाचनपछि मौसमी गडबढी सुरु भएको छ। यतिबेला उपत्यकालगायत देशभर नै मौसम धुम्मिनुका साथै प्रदूषण बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्याप्त पानी नपर्दा प्रदूषण अड्किएर बसेको छ। सोमबार अपराह्न काठमाडौंको एयर क्वालिटी इन्डेस्क (एक्यूआई) १६९, भतmपुरको १६६ (एक्यूआई) र ललितपुरको १६१ (एक्यूआई) पुगेको छ।
महाशाखाका प्रवक्ता विभूति पोखरेलले अझै दुई–तीन दिन मौसम धुम्मिने बताइन्। ‘मौसमा अझै धुम्मिने नै देखिन्छ। यतिबेला प्रदूषण अड्किएर बसेको छ। कतैकतै थोरै वर्षा भएको छ,’ पोखरेलले भनिन्, ‘प्रदूषण च्यापिएर बसेका बेला स्वास्थ्यलाई हानि गर्छ। अझै कम्तीमा दुई–तीन दिन मौसम यस्तै धुम्म हुन्छ।’
प्रि–मनसुन सुरु भइसकेको छ। प्रायजसो प्रि–मनसुनको समयमा बिहान गर्मी हुने र तातिने हुन्छ। तर, अपराह्नपछि हावाहुरी, मेघगर्जनसहित वर्षा हुने गर्छ। तर, पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मौसमको अनुमान गर्न नसकिने अवस्था सिर्जना भएको पोखरेलले बताइन्।
तर, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले यतिबेलाको अवस्थालाई केवल ‘मौसमी घटना’मात्रै भन्न मिल्ने प्रतिक्रिया दिए। कतिपय निजी संस्थाहरूले प्रदूषण मापन सेन्सर मेसिन प्रयोग गरेर मनपरी तथ्यांक दिइरहेको गुनासो गरिन्। सुवेदीले भने, ‘काठमाडौंलगायत केही ठाउँमा प्रदूषण बढे पनि छटपटाउने स्थिति छैन। जथाभावी दिइने तथ्यांकले आममानिसमा त्रास बढाउँछ। विभागको तथ्यांकमात्रै आधिकारिक हुन्छ।’
सुवेदीका अनुसार आइतबार काठमाडौंमा हावाको गुणस्तर १ सय ७४ एक्यूआई पुगे पनि राम्रोसँग घाम लागेको भए प्रदूषण घटेर १ सय २० एक्यूआई पुगिसक्ने बताइन्। ‘घाम लागेको छैन। पाँच महिनादेखि पानी परेको छैन। प्रदूषण बढार्ने गरी हावा पनि चलेको छैन,’ सुवेदीले भने, ‘तापक्रम बढे पनि प्रदूषण पातलिएर जान्थ्यो। यस्तो अवस्थामा प्रदूषण रहिरहन्छ। प्रदूषण त अझै महिनौं रहन्छ।’
उनका अनुसार हावाको गुणस्तर चौबिस घण्टाको अवधिमा ३०० एक्यूआई पुगेपछि मात्रै नाजुक अवस्था मानिन्छ। तर, यतिबेला १ सय ७४ एक्यूआईसम्म पुगेको छ। त्यसैले भयभीत हुन तथा आत्तिनुपर्ने अवस्था नरहेको जनाए। हावाको गुणस्तर १ सय ७५ एक्यूआईसम्म छटपटाइ हाल्नुपर्ने अवस्था नभएको र गत वर्ष चैतमा २ सय ५० एक्युआई पुगेको सुवेदीले स्मरण गरे। यस्तो समयमा कतिपयले आपत्कालीन घोषणा गर्नुपर्ने माग राख्दै आएको उनको भनाइ छ। तर, सरकारले आपत्कालीन घोषणा गरेमा उद्योग, यातायात, पर्यटन, शैक्षिक क्षेत्रलगायत मानिसको मनोविज्ञानमा समेत असर गर्ने भएकाले सोचविचार गर्नुपर्ने बताए।
विभागको तथ्यांकले काठमाडौंभन्दा धेरै दूरीमा रहेको इलामलगायत केही स्थानमा समेत प्रदूषण अत्यधिक देखाउँदै आएको छ। यस विषयमा प्राविधिकले चेकजाँच गरिरहेको जानकारी दिइन्। सुवेदीले भनिन्, ‘त्यहाँको प्रदूषण सेन्सर मिसिन परीक्षण गरिरहेकाछौं। विभागबाट सञ्चालित सेन्सरहरूले पाँच किलोमिटर वरपरको प्रदूषण मात्रै देखाउँछ। इलामको किन त्यस्तो देखियो ? बिस्तारै चेकजाँचले देखाउँला।'
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएका छन्। उनले पनि प्रदूषण बढिरहेको र यसलाई पखाल्ने गरी पानी नपर्ने भएकाले प्रदूषणको मार अझै झेल्नुपर्ने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !