मन्त्री क्वार्टर ध्वस्त छन्, कहाँ बस्लान् नयाँ मन्त्री ?
काठमाडौं : भैंसीपाटी सैंबुस्थित नवनर्मित मन्त्री निवास (क्वार्टर) ध्वस्त छ। नयाँ सरकार गठनको चरणमा पुग्दा नवनियुक्त मन्त्रीलाई दिने निवास छैन। नवनियुक्त मन्त्रीलाई भाडामा राख्नुको विकल्प देखिँदैन।
निर्माण भई सञ्चालनमा आएको एक वर्षमा नै जेन–जी आन्दोलनका कारण मन्त्री निवासमा क्षति पुग्यो। २७ ब्लकमध्ये २६ ब्लक जेन–जी आन्दोलनका कारण ध्वस्त भएका हुन्। २६ ब्ल्कमध्ये ११ ब्लकको ठेक्काको काम सम्पन्न गरी निर्माणको चरणमा जाने तयारी भइरहेको सहरी विकास सचिव गोपालप्रसाद सिग्देल बताउँछन्।
‘ठेक्काको काम अगाडि बढाइसकेका छौं। ठेक्काका लागि बोलपत्र प्राप्त भइसकेका छन्। अब तिनको मूल्यांकन भइरहेको छ। ११ ब्लकको डिजाइनलगायत प्राप्त भएकाले तिनको निर्माण अबको करिब १० दिनमा सुरु हुन्छ,’ सचिव सिग्देलले अन्नपूर्णसँग भने। बाँकी १५ ब्लकको पनि पुनर्निर्माणका लागि डिजाइनको काम भइरहेकाले आएपछि ठेक्का लगाउने बताए।
११ ब्लक निर्माणमा गएको करिब २ महिनामा सक्काउने र सञ्चालनमा ल्याउने सचिव सिग्देल बताउँछन्। भैंसेपाटीमा मन्त्री निवास बनाउन सरकारले २०७६ कात्तिकमा केसी–समानान्तर जेभी व्यावसायिक कम्पनीसँग सम्झौता गरेको थियो। दुई वर्षभित्रै काम सक्ने गरी सम्झौता भएको थियो। तर, पटकपटक म्याद थप गर्नुपरेकाले निर्माण अवधि लम्बिएको थियो।
करिब ३ अर्ब लागतमा निर्माण भैंसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुखका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण गरिएका हुन्। पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएको भन्दै २०७५ सालको मंसिरमा तत्कालीन मन्त्रिपरिषद् बैठकले ललितपुर महानगरपालिका भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रमा छुट्याइएको १ सय ४९ रोपनी चार आना जग्गामा उक्त निवास निर्माण गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवासका लागि १४ वटा भवन बनाउने निर्णय गरेको थियो। कुल २७ ब्लकमा २६ वटामा आगजनीसहित क्षति भएको थियो भने एउटा ब्लकमा तोडफोड मात्र भएको थियो। तोडफोड भएको ब्लकलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठ बताउँछन्। अहिले वनमन्त्री त्यही क्वार्टरमा बस्दै आएका छन्।
जलेका मन्त्री क्वार्टर पुनर्निर्माणका लागि बोलपत्र आह्वान सकी मूल्यांकनको काम भइरहेको उनी पनि बताउँछन्। विषम परिस्थितका कारण सरकारको निर्णयअनुसार नै यी ब्लक निर्माणका लागि बोलपत्र खुलाइएको कण्ठले जानकारी दिए।
भवनहरूको पुनर्निर्माणमा समय लाग्ने भएकाले नयाँ आउने मन्त्रीहरूलाई भाडाका घरमा राख्ने व्यवस्था गरिने उनले भने। ‘तुरुन्तै सम्पन्न हुन सक्ने अवस्था नरहेकाले मन्त्रीज्यूहरू नियुक्त भइसकेपछिको अवस्थामा काठमाडौंमै घर हुने आफ्नैमा बस्नुहुन्छ र नहुनेलाई उपलब्ध गराउनुपर्ने सुविधा हामी दिन्छौं’, कण्ठले जानकारी दिए। यसका लागि सम्बन्धित मन्त्रालय र अर्थमन्त्रालयले वैकल्पिक व्यवस्थापन के–कसरी कुन रूपमा लिन्छ त्यहीअनुसार अघि बढ्ने पनि उनको भनाइ छ। ‘जब मन्त्रीहरू नियुक्त हुनुहुन्छ, त्यसपछि उहाँहरूलाई कस्तो सुविधा दिनुपर्ने हो, कति जनालाई आवास दिनुपर्ने हो, त्यो थाहा हुन्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !