काठमाडौँ : नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा आफूले पार्टीको लाइनअनुसार बोलेको दाबी गर्दै त्यसबाट पार्टीभित्रका दक्षिणपन्थीहरू उदांगो भएको आरोप लगाएका छन्।
बादलले संसद्को पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विजयमा नेपाली सेना, निजामती कर्मचारी र अन्तर्राष्ट्रिय समुदायको निर्णायक भूमिका रहेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको भन्दै उपाध्यक्ष विष्णु पौडेलले सोही दिन सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका थिए। उपमहासचिव योगेश भट्टराईले पनि बादलको उक्त अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि जनाएका थिए।
विवाद बढेपछि भोलिपल्टै बसेको सचिवालयको आकस्मिक बैठकले बादलको अभिव्यक्ति सच्याएको थियो। ‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन, ब्युरोक्रेसी र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ महासचिव शंकर पोखरेलद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
- रामबहादुर थापा ‘बादल’ ले संसद्मा आफ्नो अभिव्यक्ति पार्टीको नीतिअनुसार भएको दाबी गरे।
- बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दलको जिम्मेवारी दिएकामा असन्तुष्टि।
तर, पोखरामा बुधबार आयोजित कार्यक्रममा भने बादलले आफूले पार्टीकै लाइनअनुसार संसद्मा बोलेको अडान दोहोर्याएका छन्। उनले आफ्नो अभिव्यक्तिले पार्टीभित्र लुकेका दक्षिणपन्थी प्रवृत्ति र दुस्मनहरूलाई उदांगो पारेको दाबी गरे। संसदीय दलको नेताका हैसियतले आफूले संसद्मा व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताअनुरूप रहेको उनको जिकिर थियो।
‘अन्तरसंघर्षको स्थिति कस्तो छ, मान्छेहरू चाहिँ त्यो वक्तव्यबाट उत्तेजित भए,’ बादलले भने, ‘को–को मान्छेहरू त्यो वक्तव्यबाट उत्तेजित भए, भित्र लुकेका को–को मान्छेहरू बाहिर देखिए। किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्र हो।’ आफूले सदनमा पार्टीकै लाइनमा बोलेको दाबी गर्दै उनले थपे, ‘मैले सदनमा पार्टीको लाइनमा बोलेको हो, पार्टी निर्णय दृढतापूर्वक लागू गरेको थिएँ। देश र जनताका दुश्मनमाथि ठुलो आक्रमण थियो र लुकेका दक्षिणपन्थीलाई पनि प्रहार थियो।’
बादलको पछिल्लो अभिव्यक्तिले एमालेभित्रको विवाद झनै चर्किने संकेत देखिएको छ। ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दलको नेताको हैसियतमा जे कुराहरू भनेँ, त्यसलाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो। केन्द्रीय सचिवालयले फेरि अर्को एउटा वक्तव्य जारी गर्यो,’ कार्यवाहक अध्यक्ष बादलले भने, ‘त्यो वक्तव्य आइसकेपछि त्यसले अर्को अन्योल सिर्जना गरेको छ। त्यो वक्तव्य दलको नेताका रूपमा मैले दिएको थिएँ, त्यसले भित्र पनि अन्योल देखिएको छ।’
एमाले नेता सूर्य थापाले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष र उपमहासचिव सार्वजनिक रूपमा विवादमा उत्रिएको भन्दै प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीका कावा अध्यक्ष र उपाध्यक्ष, उपमहासचिवबिच नै व्यक्तिगत भेट र संवाद हुँदैन कि ? सार्वजनिक/सोसल मिडिया नै बहसको रोजाइ पो बनाइएका छन्।’
माओवादी पृष्ठभूमिबाट आएका बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दल दुवैको जिम्मेवारी दिएकोमा पार्टीभित्र व्यापक असन्तुष्टि छ। सचिवालयको आकस्मिक बैठक बस्नुअघि नेताहरूलाई फूल दिएर पार्टीका युवा नेताहरूले सांकेतिक विरोधसमेत जनाएका थिए। यो विषयलाई लिएर पार्टीमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानसम्म थालिएको थियो। हाललाई विशेष महाधिवेशन पक्षधरलाई थामथुम पारिए पनि पार्टीभित्र असन्तुष्टि भुसको आगोझैं फैलिँदै गएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस !