विवाहेतर सम्बन्धका कारण प्रहरी जवानको हत्या
वीरगन्ज: वीरगन्जमा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर सम्बन्धनका कारण भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भइ जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय प्रहरी जवान चौरसियाको आइतबार साँझ वीरगन्ज–११ रानीघाटस्थित एक घरमा कुटपिट गरी हत्या गरिएको थियो ।
रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडिको फिरोज मियाँको घरमा डेरा लिएर बस्दै आएका रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह र उनकी पत्नि २४ वर्षीया सोनी कुमारी साहको कोठामा चौरसिया गएका बेला त्यही उनको कुटपिट गरी हत्या गरिएको थियो ।
उक्त घटनामा संलग्न सन्तोष,उनकी पत्नि सोनी कुमारी ,सन्तोषको नातामा भाइ पर्ने बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र उनको साथी भारतको उत्तरप्रदेश प्रान्तको अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले आइतबार नै साँझ पक्राउ गरिसकेको छ ।
अनुसन्धानका क्रममा प्रहरी जवान चौरसियाको हत्या सन्तोषकी पत्नि सोनीसँग उनको अनैतिक सम्बन्ध भएकै कारण खुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार,चौरसिया र सोनीबीच अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले चौरसियाको हत्याको योजना बनाएका थिए । उक्त योजना अनुसार नै आइतबार साँझ उनले आफ्ना नातामा पर्ने भाइ विशाल र साथी ओवीरलाई आफ्नो कोठामा बोलाएर राखेका थिए । त्यसपछि सन्तोषले चौरसियालाई कोठामा बोलाउन पत्नि सोनीलाई फोन गराउन लगाएका थिए । सोनीले फोन गरेर बोलाएपछि उनको कोठामा चौरसिया पुगेपछि सन्तोष,सोनी,विशाल र ओमवीर चारैजनाले रडले हानेर कुटपिट गरेपछि घाइते भएका उनको मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले बताए । उनले भने,'अहिलेसम्मको अनुसन्धानका क्रममा प्रहरी जवान चौरसियाको हत्या विवाहेतर सम्बन्धका कारण भएको देखिन्छ ।' यसबारेमा थप अनुसन्धान भइरहेको उनले भने।
प्रतिक्रिया दिनुहोस !