ब्रिटेनले इरानी बन्दरगाहको घेराबन्दीमा साथ नदिने : बेलायती प्रधानमन्त्री
लन्डन : बेलायती प्रधानमन्त्री किएर स्टार्मरले इरानी बन्दरगाहहरूमा गरिने कुनै पनि सैन्य 'नाकाबन्दी' लाई ब्रिटेनले समर्थन नगर्ने स्पष्ट पारेका छन्।
स्टार्मरका अनुसार, ब्रिटेनको मुख्य ध्यान अहिले होर्मुज स्ट्रेटलाई खुला राख्नमा केन्द्रित छ। उनले भने, 'ऊर्जाको मूल्यलाई जतिसक्दो चाँडो कम गर्ने एक मात्र उपाय नै यही जलमार्ग खुला राख्नु हो।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटबाट गुज्रिने हरेक जहाजको नाकाबन्दी गर्ने धम्की दिएपछि बेलायती प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो। जब स्टार्मरलाई 'के बेलायतमा बढ्दो ऊर्जा संकटका लागि राष्ट्रपति ट्रम्प व्यक्तिगत रूपमा जिम्मेवार हुन्र 'भनेर सोधियो, उनले यसको सीधा जवाफ दिएनन्।
त्यसको सट्टा उनले तनाव कम गर्न र जलमार्ग खुला राख्नका लागि सबै देशहरूलाई एकजुट बनाउनु नै आफ्नो 'सबैभन्दा महत्त्वपूर्ण काम' भएको बताए।
स्टार्मरले खाडी क्षेत्रमा आवागमनमा देखिएको अवरोधको मुख्य कारण इरान भएको दाबी गरे पनि ब्रिटेन यो युद्धमा प्रत्यक्ष सहभागी नहुने प्रष्ट पारे।
बीबीसीका अनुसार बेलायती नौसैनिक जहाज र सैनिकहरू इरानी बन्दरगाह रोक्न प्रयोग गरिने छैनन्। तर, त्यस क्षेत्रमा बेलायतका 'माइनस्वीपर' र 'एन्टी-ड्रोन' क्षमता भएका संयन्त्रहरूले भने काम गरिरहनेछन्।
हालै इस्लामाबादमा इरान र अमेरिकाका प्रतिनिधिहरूबीच भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि राष्ट्रपति ट्रम्पले इरानमाथि कडा नाकाबन्दीको धम्की दिएका थिए।
प्रतिक्रिया दिनुहोस !