कांग्रेसबाट निर्वाचित वडाध्यक्ष केसी रास्वपामा प्रवेश
गुल्मी : कांग्रेसबाट निर्वाचित मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रविन्द्र केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार रास्वपा गुल्मीका सभापति भोजराज पाण्डेले पार्टी कार्यालयमा केसीलाई औपचारिक रूपमा स्वागत गरेको जिल्ला सचिव निषेश श्रेष्ठले जानकारी दिए।
केसीले नेपाली कांग्रेस परित्याग गर्दै आफूले सम्हाल्दै आएका सबै जिम्मेवारीबाट समेत राजीनामा दिएको बताएका छन्। वडाध्यक्ष केसीले २०८२ चैत १५ गते नगर सभापतिलाई राजीनामा पत्र लेखेका थिए।
राजीनामा पत्रमा उनले आफू २०७० सालदेखि नेपाली कांग्रेसमा आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको उल्लेख गरेका छन्। सोही मितिदेखि पार्टीमा रही काम गर्न नसक्ने अवस्था आएको भन्दै उनले पार्टी परित्याग गर्दै सबै जिम्मेवारीबाट अलग भएको व्यहोरा उल्लेख गरेका थिए।
पत्रमा बोधार्थका रूपमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति गुल्मी क्षेत्र नं. २ र नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीलाई समेत उल्लेख गरिएको थियो। पार्टी प्रवेशपछि केसीले मुसिकोट नगरपालिकामा भएको बेथिति विरुद्ध प्रमाणसहित आफूले आवाज बुलन्द गर्न खोजे पनि पार्टीबाट आफूलाई सहयोग नभएको आरोप लगाएका छन्। उनी साधारण सदस्यका रूपमा रास्वपामा प्रवेश गरेका हुन्। कुनै पदको बार्गेनिङ नगरेको जिल्ला सचिव श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !