कमजोर कांग्रेस, वैकल्पिक शक्तिलाई ऊर्जा
नेपाली कांग्रेस केवल राजनीतिक दल मात्र होइन, मुलुकको लोकतान्त्रिक यात्राको ऐतिहासिक संस्था हो। राणा शासनविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्र, जनआन्दोलन, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा कांग्रेसले नेपाली राज्यको राजनीतिक चरित्र निर्माणमा निर्णायक भूमिका खेलेको छ। तर, इतिहासले स्थापित गरेको पार्टी वर्तमानमा आफ्नै आन्तरिक विभाजन, असन्तुलित शक्ति संघर्ष र नेतृत्वबीचको अविश्वासले कमजोर बन्दै गएको छ।
यही सन्दर्भमा मंगलबार सभापति गगन थापाले नेता डा. शेखर कोइरालासँग गरेको भेटलाई धेरैले सामान्य शिष्टाचारभन्दा बढी अर्थपूर्ण रूपमा हेरेका छन्। विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको १ घण्टाको छलफलले कांग्रेसभित्र कम्तीमा संवादको ढोका अझै बन्द नभएको संकेत दिएको छ। त्यसपछि डा. कोइरालाले आफू निकट नेताहरूलाई दिएको ब्रिफिङले पनि त्यही भाव प्रकट गर्छ— ‘गगनसँग कुराकानी राम्रै भएको छ। मैले सबै कुरा भनेको छु। उहाँले सल्लाह गरेर निर्णयमा पुग्छु भन्नुभएको छ।’
यो वाक्य केवल व्यक्तिगत संवादको सूचना होइन, कांग्रेसको भविष्य कुन दिशामा जान सक्छ भन्ने राजनीतिक संकेत पनि हो। कांग्रेस किन एकजुट हुनैपर्छ ? आज नेपाली कांग्रेसले सामना गरिरहेको संकट केवल संगठनात्मक होइन, वैचारिक र अस्तित्वगत पनि हो। पार्टीभित्रको प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यासको हिस्सा हुन सक्छ, तर जब त्यो प्रतिस्पर्धा अविश्वास, प्रतिशोध र शक्ति–सन्तुलनको युद्धमा रूपान्तरित हुन्छ, तब संगठन कमजोर हुन थाल्छ। अहिले कांग्रेस त्यही मोडमा उभिएको देखिन्छ।
डा. शेखर कोइरालाले गगन थापासँगको भेटमा उठाएको एउटा महत्वपूर्ण प्रस्ताव यही सन्दर्भमा अर्थपूर्ण छ— विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूलाई पनि समेटेर लैजाने।
यो केवल पद बाँडफाँटको प्रस्ताव होइन, यो ‘इन्क्लुसिभ रिकन्सिलियसन्’ को प्रस्ताव हो। कांग्रेसको पुरानो संरचना र नयाँ पुस्ताबीच पुल निर्माण गर्ने प्रयास हो। कोइरालाले भनेजस्तै— ‘पुरानो कमिटीका साथीहरूलाई पनि मिलाएर लैजानुहोस्। त्यो वातावरण बनाउनुहोस्।’
यो सुझावले कांग्रेसभित्र अहिले देखिएको मुख्य रोगलाई पहिचान गर्छ— ‘विनर टेक्स अल’ मानसिकता। महाधिवेशनपछि विजयी पक्षले सम्पूर्ण शक्ति आफ्नो नियन्त्रणमा राख्ने र पराजित पक्षलाई क्रमशः निष्क्रिय बनाउने प्रवृत्तिले कांग्रेसलाई संस्थागत पार्टीभन्दा गुटहरूको महासंघ बनाइदिएको छ।
जब पार्टीभित्र सम्मानजनक सहअस्तित्व हराउँछ, तब कार्यकर्ता निराश हुन्छन्। जब कार्यकर्ता निराश हुन्छन्, तब वैकल्पिक राजनीतिक भाष्य जन्मिन्छ। अहिले काठमाडौंमा देखिएको ‘एन्टी पार्टी सेन्टिमेन्ट’ त्यही निराशाको परिणाम हो।
डा. कोइरालाले भेटमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्नु संयोग होइन। गिरिजाप्रसाद कोइरालाको राजनीति केवल सत्ता सञ्चालनको कला थिएन, त्यो संकटमा पार्टीलाई जोगाइराख्ने ‘म्यानेजमेन्ट अफ कण्ट्राडिक्सन्स’ पनि थियो। उनले पार्टीभित्र असहमति भए पनि सम्बन्ध विच्छेद हुन दिएनन्। कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, सुशील कोइराला वा अन्य नेतासँग गम्भीर मतभेद हुँदा पनि अन्ततः संवादको ढोका खुला राखे। किनभने उनी बुझ्थे—कांग्रेस फुट्नु भनेको लोकतान्त्रिक शक्तिको क्षय हुनु हो। आज कांग्रेसभित्र त्यो राजनीतिक धैर्यता कम देखिन्छ।
आजको पुस्ता तुरुन्त परिणाम खोज्छ। तत्काल पद, तत्काल प्रभाव, तत्काल प्रभुत्व। तर कांग्रेसजस्तो ऐतिहासिक दल केवल संगठनात्मक चुनावले चल्दैन, त्यो ‘पोलिटिकल एकोमोडेसन’ बाट चल्छ।
कांग्रेस कमजोर हुँदा कसलाई फाइदा ?
कांग्रेसको आन्तरिक कलहले सबैभन्दा ठूलो राजनीतिक लाभ कसलाई पुगिरहेको छ भन्ने प्रश्न अहिले अत्यन्त महत्वपूर्ण छ। यसको उत्तर स्पष्ट छ— चतुर राजनीतिक खिलाडी वालेन्द्र शाह जस्ता ‘एन्टी स्टाविलेसमेन्ट चरित्रलाई।
वालेन्द्र शाहको राजनीतिक उदय केवल उनको व्यक्तिगत लोकप्रियताको परिणाम होइन; त्यो परम्परागत दलहरूप्रति जनतामा बढेको वितृष्णाको परिणाम पनि हो। कांग्रेस, एमाले र माओवादी जस्ता दलहरू लगातार आन्तरिक विवाद, भागबन्डा र शक्ति संघर्षमा अल्झिँदा जनताले ‘डिसाईसिभ आउटसाइडर’ खोज्न थाले। बालेनले त्यही मनोविज्ञान समाते।
जब कांग्रेस आफ्नै गुट व्यवस्थापनमा व्यस्त हुन्छ, तब बालेन ‘काम गर्ने नेता’ को छवि निर्माण गर्छन्। जब कांग्रेसका नेताहरू एकअर्कालाई कमजोर बनाउन सक्रिय हुन्छन्, तब बालेन ‘सिस्टमविरुद्ध लड्ने’ पात्र बन्छन्। जब कांग्रेस नीति भन्दा समीकरणमा अल्झिन्छ, तब बालेनको ‘डोजर पोलिटिक्स’ जनताका लागि आकर्षक देखिन्छ।
वास्तवमा कांग्रेसको कमजोरीले बालेनलाई दुई प्रकारले लाभ पुर्याएको छ।
१. वैकल्पिक राजनीतिक भाष्यको विस्तार –
कांग्रेसभित्रको झगडाले युवापुस्तामा एउटा धारणा बलियो बनाएको छ—‘पुराना दल सुध्रिन सक्दैनन्।’
यो धारणा बालेनको सबैभन्दा ठूलो राजनीतिक पुँजी हो।
उनले हरेक विवादमा आफूलाई ‘अग्नेस्ट दि स्टालिवेसमेन्ट’ को रूपमा प्रस्तुत गर्न सकेका छन्। र स्टालिवेसमेन्ट कमजोर देखिनु भनेको बालेन बलियो देखिनु हो।
२. संस्थागत राजनीतिमाथि व्यक्तिवादी राजनीतिको विजय –
कांग्रेस कमजोर हुँदा संस्थागत राजनीति कमजोर हुन्छ। संस्थागत राजनीति कमजोर हुँदा ‘स्ट्रगम्यान पपुलिज्म’ बलियो हुन्छ।
अहिले काठमाडौंमा धेरै मानिसले प्रक्रिया होइन, परिणाम हेर्न थालेका छन्।कानुनी जटिलता होइन, ‘एक्सन’ चाहिरहेका छन्।
त्यसैले कहिलेकाहीँ बालेनको आक्रामक शैली—इभन ह्वेन कन्ट्राभर्सियल पनि लोकप्रिय देखिन्छ। यदि कांग्रेसभित्र एकता, स्पष्ट नीति र संगठित प्रतिपक्षी भूमिका हुन्थ्यो भने बालेनको राजनीति यति सहज रूपमा विस्तार हुने थिएन। कांग्रेस अहिले केवल पार्टीभित्रको शक्ति सन्तुलन मिलाउने मोडमा छैन, उसले आफ्नो ऐतिहासिक विश्वसनीयता पुनर्निर्माण गर्नुपर्ने चरणमा प्रवेश गरेको छ। त्यसका लागि तीन कुरा अत्यावश्यक छन्—
- १. संवादको संस्कृतिः–
नेताहरूबीच असहमति हुन सक्छ, तर संवाद टुट्नु हुँदैन। गगन थापा, पूर्णबहादुर खड्का र शेखर कोइरालाबीचको भेट त्यस अर्थमा सकारात्मक संकेत हो।
- २. सम्मानजनक शक्ति साझेदारी।
हार्ने पक्षलाई समाप्त गर्ने होइन, समेट्ने संस्कृतिको विकास आवश्यक छ।
- ३. नयाँ पुस्ता र पुरानो अनुभवबीच सन्तुलन।
कांग्रेसलाई केवल युवाको ऊर्जा वा पुरानो पुस्ताको अनुभवले मात्र बचाउन सक्दैन, दुवैको संयोजन आवश्यक छ। नेपाली कांग्रेस आज एउटा ऐतिहासिक मोडमा उभिएको छ। यदि उसले आफ्ना आन्तरिक मतभेदलाई व्यवस्थापन गर्न सकेन भने समस्या केवल पार्टीको हुनेछैन, नेपालको लोकतान्त्रिक राजनीतिले नै ठूलो मूल्य चुकाउनुपर्नेछ। किनभने लोकतन्त्रमा जब संस्थागत दलहरू कमजोर हुन्छन्, तब राजनीति क्रमशः व्यक्तिकेन्द्रित, भावनात्मक र प्रतिक्रियात्मक बन्दै जान्छ।
डा. शेखर कोइरालाले गगन थापालाई दिएको सुझावको सार यही हो—‘पार्टी बचाउनुस्, सबैलाई समेट्नुस्।’कांग्रेसले यो सन्देश समयमै बुझ्न सकेन भने इतिहासले उसलाई केवल एउटा महान आन्दोलनकारी पार्टीको रूपमा सम्झिनेछ, भविष्य निर्माण गर्ने शक्तिको रूपमा होइन।
निष्कर्षमा भन्नुपर्दा, वालेन्द्र शाहका लागि नेपाली कांग्रेसभित्रको आन्तरिक कलह केवल प्रतिपक्षी दलको समस्या होइन, एउटा राजनीतिक अवसर पनि हो। कांग्रेस जति विभाजित देखिन्छ, बालेन त्यति नै ‘वैकल्पिक शक्ति’ का रूपमा उभिन सहज हुन्छन्। किनभने परम्परागत दलहरू आफ्नै गुट, भागबन्डा र नेतृत्व संघर्षमा अल्झिएको बेला जनतामा ‘पुराना दलले अब समाधान दिन सक्दैनन्’ भन्ने मनोविज्ञान बलियो बन्छ। बालेनले यही निराशालाई आफ्नो राजनीतिक पुँजीमा रूपान्तरण गरेका छन्।
कांग्रेसभित्रको विवादले अर्को फाइदा पनि बालेनलाई दिएको छ—संस्थागत राजनीतिभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई बलियो बनाउने। जब कांग्रेसका नेताहरू सार्वजनिक रूपमा एकअर्काविरुद्ध उत्रिन्छन्, तब बालेन आफूलाई ‘काम गर्ने’, ‘निर्णय लिन सक्ने’ र ‘सिस्टमसँग नडराउने’ नेताका रूपमा प्रस्तुत गर्न सफल हुन्छन्। यही कारणले काठमाडौंका धेरै युवाले दलगत संरचनाभन्दा ‘एन्टी ओरिण्टेट लिडरसीप’ लाई बढी आकर्षक मान्न थालेका छन्। कांग्रेसको कमजोरीले बालेनको ‘एन्टी स्टाविलिमेन्ट’ छविलाई झन् चम्काइरहेको छ।
वास्तवमा कांग्रेसभित्रको कलहले बालेनलाई प्रत्यक्षभन्दा अप्रत्यक्ष रूपमा बढी लाभ पुर्याइरहेको छ। कांग्रेस बलियो, एकताबद्ध र वैचारिक रूपमा स्पष्ट भएको भए बालेनको राजनीतिक स्पेस यति फराकिलो हुने थिएन। तर अहिले कांग्रेस आफ्नै समीकरण मिलाउन व्यस्त देखिन्छ, जबकि बालेन जनताको असन्तोषलाई राजनीतिक भाषामा बदलिरहेका छन्। त्यसैले कांग्रेसभित्रको प्रत्येक असहमति, प्रत्येक सार्वजनिक आरोप–प्रत्यारोप, र प्रत्येक गुटीय तनावले अन्ततः बालेनकै वैकल्पिक राजनीतिलाई थप ऊर्जा दिइरहेको छ।
निष्कर्षमा भन्नुपर्दा, वालेन्द्र शाहका लागि नेपाली कांग्रेसभित्रको आन्तरिक कलह केवल प्रतिपक्षी दलको समस्या होइन, एउटा राजनीतिक अवसर पनि हो। कांग्रेस जति विभाजित देखिन्छ, बालेन त्यति नै ‘वैकल्पिक शक्ति’ का रूपमा उभिन सहज हुन्छन्। किनभने परम्परागत दलहरू आफ्नै गुट, भागबन्डा र नेतृत्व संघर्षमा अल्झिएको बेला जनतामा ‘पुराना दलले अब समाधान दिन सक्दैनन्’ भन्ने मनोविज्ञान बलियो बन्छ। बालेनले यही निराशालाई आफ्नो राजनीतिक पुँजीमा रूपान्तरण गरेका छन्।
कांग्रेसभित्रको विवादले अर्को फाइदा पनि बालेनलाई दिएको छ—संस्थागत राजनीतिभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई बलियो बनाउने। जब कांग्रेसका नेताहरू सार्वजनिक रूपमा एकअर्काविरुद्ध उत्रिन्छन्, तब बालेन आफूलाई ‘काम गर्ने’, ‘निर्णय लिन सक्ने’ र ‘सिस्टमसँग नडराउने’ नेताका रूपमा प्रस्तुत गर्न सफल हुन्छन्। यही कारणले काठमाडौंका धेरै युवाले दलगत संरचनाभन्दा ‘एक्सन ओरियन्टेट लिडरसीप’ लाई बढी आकर्षक मान्न थालेका छन्। कांग्रेसको कमजोरीले बालेनको ‘एन्टी इन्स्टयाब्लिसमेन्ट’ छविलाई झन् चम्काइरहेको छ।
वास्तवमा कांग्रेसभित्रको कलहले बालेनलाई प्रत्यक्षभन्दा अप्रत्यक्ष रूपमा बढी लाभ पुर्याइरहेको छ। कांग्रेस बलियो, एकताबद्ध र वैचारिक रूपमा स्पष्ट भएको भए बालेनको राजनीतिक स्पेस यति फराकिलो हुने थिएन। तर, अहिले कांग्रेस आफ्नै समीकरण मिलाउन व्यस्त देखिन्छ, जबकि बालेन जनताको असन्तोषलाई राजनीतिक भाषामा बदलिरहेका छन्। त्यसैले कांग्रेसभित्रको प्रत्येक असहमति, प्रत्येक सार्वजनिक आरोप–प्रत्यारोप, र प्रत्येक गुटीय तनावले अन्ततः बालेनकै वैकल्पिक राजनीतिलाई थप ऊर्जा दिइरहेको छ।
प्रतिक्रिया दिनुहोस !