४० वर्षपछि जीवनको अर्थ
४० पछि पुरुषको मौनतामा नि गहिरो पीडा छ। महिलाको आँसु देखिन्छ, पुरुषको मौनता देखिँदैन। तर मौन हुनु भनेको पीडा नहुनु होइन। बरु धेरैजसो अवस्थामा, मौन सबैभन्दा गहिरो पीडाको भाषा हो।
चालीस वर्ष पार गरेपछि जीवन शान्त, स्थिर र व्यवस्थित हुनुपर्छ भन्ने विश्वास समाजमा गहिरोसँग गढेको छ। यो उमेरलाई एउटा यस्तो मोडका रूपमा हेरिन्छ, जहाँ मानिस ‘सेटल’ भइसकेको मानिन्छ। करिअरले दिशा पाइसकेको हुन्छ भने पारिवारिक संरचना बनिसकेको हुन्छ। जीवन अब उतार–चढावभन्दा पर, एक किसिमको सहज लयमा अघि बढिरहेको देखिन्छ।
बाहिरबाट हेर्दा यो कथा आकर्षक लाग्छ। तर यही कथा भित्र फरक हुन्छ। धेरै मानिस चुपचाप हराइरहेका हुन्छन्। ४० पछि धेरै महिला र पुरुष ठूलो आवाजमा दुःख व्यक्त गर्दैनन्। उनीहरूको पीडा रोदनमा होइन, थकित मौनतामा देखिन्छ। उनीहरू सामाजिक रूपमा सक्रिय देखिए पनि भित्र कतै भारीपन बोकेर हिँडिरहेका हुन्छन्। आँसु आँखामै रोकिएर बस्छ। डरहरू शब्द नपाएर गुम्सिन्छन् र जीवनको अर्थबारे प्रश्नहरू मनभित्रै घुमिरहन्छन्।
यो पीडा नाटकीय हुँदैन, त्यसैले देखिँदैन। तर यही मौन पीडा सबैभन्दा गहिरो हुन्छ। ४० पछि शरीरभन्दा पहिले किन मन बदलिन्छ ? ४० पछि देखिने शारीरिक परिवर्तनलाई समाजले सहजै स्वीकार गर्छ। हर्मोनमा परिवर्तन होला, शरीर छिटो थाक्ला, स–साना स्वास्थ्य समस्या देखिन सक्छन्– यी कुरालाई उमेरसँग स्वाभाविक रूपमा जोडेर बुझिन्छ। तर मनमा आउने परिवर्तनलाई भने अझै पनि ‘कमजोरी’, ‘नाटक’ वा ‘अनावश्यक संवेदनशीलता’ भनेर टारिन्छ।
यहीँबाट समस्या सुरु हुन्छ। ४० को दशक कुनै विश्रामको चरण होइन। यो वास्तवमा आत्म–परीक्षणको समय हो। यो उमेरमा मानिस पहिलो पटक गहिरो रूपमा सोध्न थाल्छ– के म आफूले चाहेको जीवन बाँचिरहेको छु ? कि म केवल अरूले अपेक्षा गरेको भूमिकामा बाँच्दै आएँ ? म आमा, बाबु, पति, पत्नी, कर्मचारी वा छोराछोरीको भूमिकाभन्दा बाहिर पनि कोही हुँ भन्ने प्रश्न सोध्न मैले कहिले पाएको थिएँ ? यी प्रश्न सजिला छैनन्। तर यी प्रश्न टार्न खोज्दा मन अझै गह्रौं बन्छ। महिलाको हकमा यी प्रश्न प्रायः प्री–मेनोपजसँगै आउँछन्। पुरुषको हकमा यी प्रश्नहरू जिम्मेवारी, असफलताको डर र भावनात्मक एक्लोपनसँग गाँसिएर आउँछन्।
प्रि–मेनोपज : ‘हार्मोन’ मात्र होइन, पहिचानको यात्रा हो। प्रि–मेनोपजलाई धेरैले केवल शारीरिक प्रक्रिया ठान्छन्। तर यो चरण महिलाका लागि अत्यन्त गहिरो मानसिक र भावनात्मक यात्रा हो। ४० को आसपास सुरु हुने यो यात्रा केही महिनाको होइन, धेरैका लागि वर्षौंसम्म चल्ने प्रक्रिया हो। निन्द्रा बिग्रिनु, सानो कुरामा रिस उठ्नु, कारण नखुलेको उदासी, आत्मविश्वास खस्किनु, अचानक रोइदिन मन लाग्नु आदि धेरै महिलाका लागि दैनिक यथार्थ बन्छन्। तर समाजले यी भावनालाई गम्भीर रूपमा सुन्दैन। हालसालै एक महिलासँग भएको कुराकानीले यो यथार्थ झनै प्रस्ट पार्छ।
दुई सन्तान हुर्काइसकेकी, काम र घर दुवै जिम्मेवारी कुशलतापूर्वक सम्हालेकी उनी भन्छिन्, ‘कहिलेकाहीँ आफू को हुँ भन्ने नै थाहा हुँदैन। रिस उठेको हो कि अत्यन्त थाकेको हो ? छुट्याउन सक्दिनँ।’ जब उनले यी कुरा श्रीमान्सँग साझा गरिन्, ‘श्रीमान्ले समाधान खोज्ने प्रयास गरे। डाक्टर देखाउने, औषधि खाने, व्यायाम गर्ने सुझाव आदि। सबै सुझाव व्यावहारिक देखिन्थे। तर उनी चाहिँ केही अरू नै खोजिरहेकी थिइन्।’ ‘मलाई समाधान होइन, मलाई सुन्ने र बुझ्ने मान्छे चाहिएको थियो’ भन्दै गर्दा उनका आँखा रसाएका थिए। यो एउटा व्यक्तिगत अनुभवजस्तो लाग्न सक्छ, तर वास्तवमा यो लाखौं महिलाको साझा अनुभव हो।
‘म केवल आमा र पत्नी मात्र हुँ ?’, प्रि–मेनोपजको चरणमा धेरै महिलाले पहिलो पटक गम्भीर रूपमा आफ्नो पहिचानबारे सोध्छन्– ‘के मेरो अस्तित्व सधैं अरूको सेवा र जिम्मेवारीमै सीमित रह्यो ? मेरो चाहना, सपना र थकानलाई कहिले प्राथमिकता दिइयो ?’ तर हाम्रो समाजमा महिलाले यस्तो प्रश्न सोध्नु नै असहज मानिन्छ। त्यसैले उनीहरू मौन रहन्छन्। आफ्ना भावना आफैंसँग लुकाउँछन्। ‘सबै महिलाले त सहनैपर्छ’ भन्ने निष्कर्षमा पुग्छन्। यही मौनताले मानसिक थकानलाई अझ गहिरो बनाउँछ।
४० पछि पुरुषको मौनतामा नि गहिरो पीडा छ। महिलाको आँसु देखिन्छ, पुरुषको मौनता देखिँदैन। तर मौन हुनु भनेको पीडा नहुनु होइन। बरु धेरैजसो अवस्थामा, मौन सबैभन्दा गहिरो पीडाको भाषा हो। ४० पछि पुरुषमाथि आर्थिक जिम्मेवारी, बुढिँदै गरेका अभिभावकको हेरचाह, सम्बन्धको थकान, करिअरको दबाब, र भविष्यप्रतिको अनिश्चितताको भार एकैचोटि पर्छ। तर समाजले पुरुषलाई सिकाएको हुन्छ– ‘बलियो बन्नुपर्छ, भावना देखाउनु हुँदैन।’ केही वर्षअघि सम्बन्धविच्छेद भएका ५५ वर्षे एक पुरुषले एक साँझ मन खोलेर भनेका थिए– ‘अब फेरि बिहे गर्ने कुरा सोच्दा पनि डर लाग्छ।’ यो डर प्रेमप्रतिको होइन, अघिल्लो सम्बन्धमा लागेको चोटको स्मृतिको थियो। तर पुरुष भएर उनले यो डर कहिल्यै खुलेर व्यक्त गर्न सकेनन्।
४० वर्ष पार गरेर पनि विवाह नगरेका वा कुनै कारणले एक्लै जीवन बिताइरहेका महिला र पुरुषहरूको पीडा अझै मौन छ। किनकी उनीहरूको पीडा केवल व्यक्तिगत होइन, सामाजिक पनि हुन्छ। ४० पछि अविवाहित महिला भए समाजले तुरुन्तै प्रश्न गर्छ— किन बिहे भएन ? के कमि
रह्यो ? अब त ढिला भइसक्यो नि ! पुरुषको हकमा पनि फरक शैलीमा प्रश्न उठ्छ– जिम्मेवारी लिन डरायो कि ? अलिक गम्भीर छैन जस्तो छ। यी प्रश्नको पछाडि सहानुभूति हुँदैन, केवल ट्याग हुन्छ। तर समाजले कहिल्यै सोध्दैन– के यो व्यक्ति आफ्नो स्वभावसँग इमानदार रहन चाहन्थ्यो ? के सबैको खुसीको परिभाषा विवाह नै हुनुपर्छ ? के एक्लै भएर पनि जीवन पूर्ण हुन सक्दैन ?
४० पछि एक्लो रहनु हाम्रो समाजमा अझै पनि रोजाइ होइन, असफलता ठानिन्छ। यही दृष्टिकोणले यी मानिसलाई झन् एक्लो बनाउँछ। विवाहित वा अविवाहित– पीडाको रूप फरक, सार एउटै। विवाहित महिला भन्छन्, ‘मेरो कुरा सुन्ने कोही छैन।’ अविवाहित महिला भन्छन्, ‘मेरो कुरा सोध्ने नै कोही छैन।’ विवाहित पुरुष मौन छन्। एक्ला पुरुषलाई संवेदनहीन ठानिन्छ। तर पीडाको सार एउटै हो, नबुझिनु। समस्या विवाह हुनु वा नहुनु होइन। समस्या आफैं भएर बाँच्न नपाउनु हो।
‘४० पछि शान्त जीवन’ भन्नाले समस्या नहुनु होइन। शान्त जीवन भन्नाले समस्या हुँदा पनि एक्लो महसुस नहुनु हो। ४० पछि जीवन अन्त्यतिर होइन, गहिराइतिर जान्छ। यहाँ सफलता होइन, अर्थ खोजिन्छ। यहाँ नियन्त्रण होइन, अपनत्व चाहिन्छ। महिलाको आँसु कमजोरी होइन, थकित आत्माको भाषा हो। पुरुषको मौन कठोरता होइन, शब्द नपाएको पीडा हो। अविवाहित जीवन असफलता होइन, आत्म–चयन पनि हुन सक्छ।
जब हामी समाधान दिनुअघि सुन्न सिक्छौं, जब हामी ट्याग लगाउनुभन्दा पहिले बुझ्न खोज्छौं, जब हामी ‘ठीक होऊ’ भन्दा पहिले ‘म सुन्दैछु’ भन्न सक्छौं, तब मात्र ४० पछि जीवन साँच्चै शान्त बन्छ। मौन मनहरूको आवाज सुन्न सक्ने समाज नै परिपक्व समाज हो। र, त्यो परिपक्वता ४० पछि सुरु हुन सक्छ, यदि हामीले आफू र एक–अर्कालाई इमानदारीपूर्वक सुन्न सिक्यौं भने।
प्रतिक्रिया दिनुहोस !