अन्तर्राष्ट्रिय नर्सिङ दिवस : सशक्त नर्स, सुरक्षित स्वास्थ्य र नेपालको भविष्य

अन्तर्राष्ट्रिय नर्सिङ दिवस : सशक्त नर्स, सुरक्षित स्वास्थ्य र नेपालको भविष्य
सांकेतिक तस्बिर

हरेक वर्ष मे १२ मा मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवस विश्वभरिका नर्सहरूको योगदानलाई सम्मान गर्ने विशेष अवसर हो। सन् २०२६ को नारा “हाम्रा नर्सहरू, हाम्रो भविष्य ; सशक्त नर्सहरूले जीवन बचाउँछन्।” ले नर्सिङ पेशाको महत्व मात्र होइन, स्वास्थ्य प्रणालीको दिगोपनाका लागि नर्सहरूको सशक्तीकरण अपरिहार्य रहेको सन्देश दिन्छ। 

नेपालको सन्दर्भमा यो विषय झन् सान्दर्भिक छ, जहाँ स्वास्थ्य सेवामा पहुँच, गुणस्तर र जनशक्तिको असमान वितरण अझै चुनौतीका रूपमा विद्यमान छन्। नेपालमा नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा कार्यरत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाल नर्सिङ काउन्सिलका तथ्याङ्क अनुसार देशभर करिब ६० हजारभन्दा बढी दर्ता भएका नर्स तथा मिडवाइफहरू रहेका छन् । तर, यी जनशक्तिको वितरण समान छैन। 
शहरी क्षेत्रमा नर्सहरूको उपस्थिति तुलनात्मक रूपमा बढी भए पनि दुर्गम तथा ग्रामीण क्षेत्रमा अझै पनि नर्सहरूको अभाव छ। यसले गर्दा स्वास्थ्य सेवामा पहुँच र गुणस्तर दुवै प्रभावित हुने गरेका छन्। 

नेपालको स्वास्थ्य प्रणालीले पछिल्ला वर्षहरूमा केही उल्लेखनीय प्रगति गरेको भए पनि अस्पतालजन्य संक्रमण (Hospital-Acquired Infection – HAI) अझै महत्वपूर्ण चुनौतीको रूपमा रहेको छ। यस्ता संक्रमणहरू मुख्यतः कमजोर संक्रमण रोकथाम तथा नियन्त्रण (Infection Prevention and Control – IPC) अभ्यास, अपर्याप्त स्रोत, तथा कार्यस्थलमा अत्यधिक चापका कारण हुने गरेका छन्। नेपाल स्वास्थ्य संस्था सर्वेक्षण २०२१ ले धेरै स्वास्थ्य संस्थाहरूमा हात धुने सुविधा, व्यक्तिगत सुरक्षा सामग्री तथा फोहोर व्यवस्थापन प्रणालीमा कमी रहेको तथ्य उजागर गरेको छ। यसले बिरामी मात्र होइन, स्वास्थ्यकर्मी स्वयंलाई पनि जोखिममा पारिरहेको छ। यस्तो अवस्थामा सशक्त नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। नर्सहरू नै बिरामीको नजिक रहेर प्रत्यक्ष हेरचाह गर्ने भएकाले उनीहरूको दक्षता, ज्ञान र निर्णय क्षमता बिरामीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। संक्रमण नियन्त्रण, औषधि व्यवस्थापन, आपतकालीन सेवा, स्वास्थ्य शिक्षा तथा जनचेतना जस्ता क्षेत्रमा नर्सहरूको सक्रियता बिना नेपालमा प्रभावकारी स्वास्थ्य सेवा सम्भव छैन। यस सन्दर्भमा सरकारको भूमिका निर्णायक हुन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ सेवाको सुदृढीकरणका लागि स्पष्ट र प्रभावकारी नीति निर्माण गर्न आवश्यक छ। सुरक्षित कार्य वातावरण, पर्याप्त जनशक्ति, तथा समान वितरण सुनिश्चित गर्नु सरकारको प्राथमिक दायित्व हो। “Right nurse in the right place” को अवधारणाअनुसार दुर्गम क्षेत्रमा नर्सहरूको व्यवस्थापन गर्न विशेष नीति आवश्यक छ। त्यस्तै, नियमित तालिम, सीप विकास कार्यक्रम, तथा नेतृत्व विकासमा लगानी गर्नुपर्छ। अस्पतालका विभिन्न संवेदनशील कार्यक्षेत्रहरू जस्तै: CCU, Neuro ICU,  ICU, NICU Oncology, Dialysis, तथा आपतकालीन सेवामा विशेषज्ञ नर्सहरूको अभावलाई सम्बोधन गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ। एउटै व्यक्तिलाई पटकपटक धेरै प्रकारका तालिम दिनुभन्दा सबै नर्सलाई आफ्नो कार्यक्षेत्रमा दक्ष बनाउनको लागि उनीहरूको कार्य र जिम्मेवारी सँग सम्बन्धित आवश्यक तालिम दिनु जरुरी छ। 

सरकारले नर्सहरूको प्रोत्साहन र करियर विकासमा पनि ध्यान दिनुपर्छ। न्यून तलब, सीमित पदोन्नति अवसर, तथा असुरक्षित कार्य वातावरणका कारण धेरै नर्सहरू विदेश पलायन भइरहेका छन्। यसले देशभित्र दक्ष जनशक्तिको अभाव सिर्जना गरेको छ, त्यसैले आकर्षक सेवा सुविधा, उचित पारिश्रमिक, तथा स्पष्ट करियर मार्ग सुनिश्चित गर्नु अत्यावश्यक छ। नेपाल नर्सिङ एसोसिएसन  र नेपाल नर्सिङ काउन्सिल जस्ता संस्थाहरूले नर्सिङ पेशाको मापदण्ड निर्धारण, नियमन तथा गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी निर्वाह गर्दै आएका छन्  र यी संस्थाहरूले नर्सहरूको पेशागत अधिकार, सुरक्षा र सम्मानका लागि वकालत गर्नुपर्ने आवश्यकता अझै बढेको छ। अहिलेको सन्दर्भमा, Evidence-based practice लाई प्रवर्द्धन गर्दै अनुसन्धानमा नर्सहरूको सहभागिता बढाउने, सुरक्षित कार्य वातावरण, पर्याप्त जनशक्ति, तथा उचित पारिश्रमिकका लागि नीति निर्माण तहमा आवाज उठाउनु आवश्यक छ। साथै, नर्सहरूलाई नेतृत्व तहमा पुर्‍याउन तालिम, कार्यशाला र सेमिनारमार्फत नर्सहरूको क्षमता अभिवृद्धिमा योगदान दिन सक्छन्। 

हालै, नेपाल सरकारको संघीय स्वास्थ्यमन्त्रीमा नर्स नियुक्त हुनुले पनि सम्पूर्ण नर्सहरूको लागि एउटा सकारात्मक सन्देश दिएको छ। सरकार र नर्सिङ संगठनहरू बीचको सहकार्यले मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ र नर्सहरूको सशक्तिकरण बिना दिगो स्वास्थ्य प्रणाली सम्भव छैन। यदि नर्सहरूलाई आवश्यक स्रोत, तालिम र सम्मान प्रदान गरियो भने उनीहरूले अझ प्रभावकारी रूपमा बिरामीको अथवा कुनै पनि समुदायको व्यक्तिको जीवन बचाउने काम गर्न सक्छन्। तसर्थ, नेपालको स्वास्थ्य प्रणालीलाई सबल र प्रभावकारी बनाउन नर्सहरूको भूमिकालाई केन्द्रमा राखेर अगाडि बढ्नु आजको आवश्यकता हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.