कामु प्रधानन्यायाधीशबाट दुई तिहाइको सरकारलाई लत्याउने काम भयो : सांसद पराजुली
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले मुलुकलाई सहि बाटोमा हिडाउने प्रयास सुरू भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा पराजुलीले यसअघिका गलत नीतिका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै अब सहि बाटोमा हिडाउने प्रयास सुरू भएको बताए।
उनले विद्यालयलाई दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाइएको र कर्मचारीतन्त्रमा पनि राजनीतिकरण हावी भएकाले अब सक्षम युवा उत्पादन र नागरिकलाई सेवा दिन सक्ने कर्मचारीतन्त्र बनाउन खोजिएको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर नै सरकारले अध्यादेश ल्याएको भन्दै यसमा रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गरे।
पराजुलीले सहकारीबाट पीडित जनतालाई न्याय दिने प्रयास सरकारले सुरू गरेको उल्लेख गरे। त्यस्तै उनले न्यायलयलाई राजनीतिक हस्तक्षेपमुक्त गर्न खोजिएको समेत दावी गरे । आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर स्वच्छ न्यायको परिकल्पना गर्न नसकिने उनको भनाइ छ ।
उनले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट न्यायलयको मर्यादा जोगाउन नसकेको र सडकबाट दुईतिहाइको सरकारलाई लत्याउने काम भएको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस !