ट्रम्पको डरलाग्दो पोष्ट : इरानमाथि अर्को हमला हुने संकेत ?
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा पोस्ट गरेको एउटा एनिमेटेड तस्वीरले अन्तर्राष्ट्रिय राजनीति र विशेषगरी मध्यपूर्वमा नयाँ हलचल पैदा गरेको छ।
राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक गरिएको उक्त एनिमेटेड तस्वीरमा उनी एक सैन्य कमाण्डरका साथ युद्धपोतको डेक मा उभिएको देखिन्छन्। तस्वीरको पृष्ठभूमिमा आँधीबेहरी आएको जस्तो डरलाग्दो वातावरण छ भने आसपासमा इस्लामिक रिपब्लिक (इरान) को झण्डा बोकेका जहाजहरू देखाइएका छन्। यस तस्वीरसँगै ट्रम्पले क्याप्सनमा लेखेका छन्-'यो तूफान अघिको शान्ति थियो।'
ट्रम्पको यो रहस्यमय र आक्रामक पोष्टले अमेरिका र इजरायलले इरानमाथि पुनः ठूलो सैन्य हमला गर्ने योजना बनाइरहेको चर्चा चुलिएको छ।
अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले मध्यपूर्वका दुई उच्च अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र इजरायल इरानमाथि संयुक्त सैन्य कारबाहीको अन्तिम तयारीमा रहेको दाबी गरेका छन्। साथै यो सम्भावित आक्रमण आउँदो हप्तादेखि नै सुरु हुन सक्ने बताइएको छ ।
यता, अमेरिकी राष्ट्रपति र सञ्चारमाध्यमको यस्तो दाबी सार्वजनिक भएपछि इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानी अधिकारीहरूले चेतावनी दिँदै भनेका छन्- 'यदि इरानको सार्वभौमसत्तामाथि कुनै पनि प्रकारको आक्रमण गरिए, यसपटकको जवाफ पहिलेभन्दा निकै कडा र विनाशकारी हुनेछ।'
प्रतिक्रिया दिनुहोस !