सुरु भयो मलमास
काठमाडौं : प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटको अन्तरालमा आउने मलमास (अधिकमास) शनिबारदेखि सुरु भई आगामी असार १ सम्म रहने भएको छ ।
ज्योतिषीय गणनाअनुसार सौर र चान्द्रमासको समन्वय गर्ने क्रममा संक्रान्ति नभएको महिनालाई मलमास भनिने शास्त्रीय मान्यता छ । यस महिनाको कुनै अधिपति देवता नभएपछि भगवान् श्रीकृष्णले आफ्नै नामबाट यसलाई ‘पुरुषोत्तममास’ को नाम दिएको पौराणिक कथन छ । यसअघि २०८० सालको साउन महिनामा अधिकमास परेको थियो ।
मलमासको अवधिभर वैदिक सनातन धर्मावलम्बीहरूले विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश जस्ता मांगलिक कार्य तथा महादान र नयाँ व्रतको सुरुवात गर्नु नहुने धर्मशास्त्रविद्हरूले बताएका छन् । नवविवाहित दम्पतीले गर्भाधान दोषबाट बच्न मलमास छल्नुपर्ने परम्परा छ भने पहिलेदेखि नै गर्दै आएका नित्य कर्म, पूजा, पाठ, जप र नियमित व्रतलाई भने निरन्तरता दिन मिल्ने धार्मिक नियम रहेको छ ।
यसैबीच, मलमासको अवसर पारेर काठमाडौंको कीर्तिपुर नजिकै रहेको प्रसिद्ध मत्स्यनारायण मन्दिरमा शनिबारदेखि एक महिने मेला सुरु भएको छ । भगवान् विष्णुको पहिलो अवतार मानिने मत्स्यनारायणको मन्दिरमा अवधिभर पूजाआराधना र पुरुषोत्तममास माहात्म्य वाचन हुने गर्दछ । यो महिनामा भगवान् नारायणको दर्शन र आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वासका कारण यहाँ लाखौं भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
मलमासको अवधिभर वैदिक सनातन धर्मावलम्बीहरूले विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश जस्ता मांगलिक कार्य तथा महादान र नयाँ व्रतको सुरुवात गर्नु नहुने धर्मशास्त्रविद्हरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !