एमाले कार्यक्रममा भण्डारी प्रमुख अतिथि, सम्बन्ध सुधारतर्फ ओली
काठमाडौं : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर आइतबार मदन आश्रित स्मृति दिवस मनाएको छ। खण्डहर भएको बल्खुस्थित मदननगरमा भएको मदन आश्रितको ३३औं स्मृति दिवसमा भण्डारीलाई प्रमुख अतिथि बनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। २०७२ वैशाख १२ गते भूकम्पबाट एमाले केन्द्रीय कार्यालय भत्किएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीसँग दूरी घटाउने उद्देश्यका साथ विद्यालाई प्रमुख अतिथि बनाउने रणनीति अख्तियार गरेको विश्लेषण गरिएको छ। तर, कतिपयले पार्टीमा समीकरण फेरिएका रूपमा हेरेका छन्। ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको हो। पछिल्लो पार्टीमा पुस्तान्तरण र रूपान्तरणको आवाज बुलन्द हुन थालेपछि पनि अध्यक्ष ओली झस्किएका छन्। ओलीनिकट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल नै पार्टी नेतृत्वको विकल्पको खोजीमा उभिएपछि ओलीले भण्डारीसँग छलफल गरेका थिए। त्यसैकारण ओलीले भण्डारीसँग निकटता बढाएको हुन सक्ने अनुमान गरिएको छ।
अध्यक्ष ओली भने मदन आश्रित स्मृति दिवसमा सहभागी भएनन। जेनजी आन्दोलनको दमनमा दोषी भन्दै पक्राउपछि रिहा भए पनि ओली सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनीनिकट स्रोत भने स्वास्थ्य समस्याका कारण ओली गुन्डुस्थित निवासमा आराम गरिरहेको बताउँछ। अध्यक्ष ओली पत्थरी र हर्नियाको शल्यक्रिया गरेर हाल स्वास्थ्य लाभ गरिरहेका छन्।
गत वैशाख २७ गते विद्या भण्डारीसँग अध्यक्ष ओलीको गुन्डुमा लामै भेटवार्ता पनि भएको थियो। ओलीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’सँग पनि पछिल्लो समय निकटता बढाएका छन्। त्यसैकारण पार्टी एकताको चर्चा पनि सुरु भइसकेको छ। स्मृति दिवसका अवसरमा ओलीले मदन भण्डारीसँगको विगत सम्झदै भावुक स्टाटस पनि लेखेका छन्। ‘घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,‘अभावहरू झन् गहिरिँदा रहेछन्। जननेता मदन भण्डारी मेरो नेता, साथी र सहयोद्धा– सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो।’
विगतका लामो समयदेखि ओली विद्याबीच सम्बन्ध निकट थियो। ओलीकै समूहबाट भण्डारी २/२ पटक पार्टी उपाध्यक्ष बनिन्। ओलीले भण्डारीलाई २/२ पटक राष्ट्रपति पनि बनाए। पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचिन् । तर, भण्डारी राष्ट्रपतिबाट हटेपछि राजनीतिमा सक्रिय हुने इच्छा जाहेर गरिन्। जब भण्डारीले पार्टी नेतृत्वको दाबी गरिन्, ओलीसँग एकाएक सम्बन्धमा दरार उत्पन्न भयो। भण्डारीको नवीकरण गरिसकिएको पार्टी सदस्यता पनि रद्द गरियो। पानी बराबारकै अवस्था सिर्जना भयो।
०८२ भदौमा भएको विधान महाधिवेशनमा भण्डारीलाई बन्देज गरियो। भण्डारीले आफ्नो सदस्यता खोसेपछि एमालेमा आफ्नो समूह नै तयार गरिन्। ११ औं महाधिवेशनमा ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएर ओलीसँग प्रतिस्पर्धामा उतार्ने काम गरिन्।
प्रतिक्रिया दिनुहोस !