प्रधानन्यायाधीशमा सिफारिस शर्माविरुद्धका रिट १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश

प्रधानन्यायाधीशमा सिफारिस शर्माविरुद्धका रिट १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश

काठमाडौं : कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा सिफारिस भएका डा.मनोज शर्माविरुद्ध परेका सबै रिट निवेदन आज दिउँसो १ बजेभित्र दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएकी छन्।

संवैधानिक परिषद्ले वरियताक्रम मिचेर चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले शर्मालाई प्रधानन्यायाधीश बन्न अयोग्य रहेको जिकिर गर्दै नियुक्ति रोक्न माग गरेका छन्।

यसअघि सर्वोच्च अदालत प्रशासनले ती रिट दर्ता नगरी दरपीठ गरेपछि उनीहरूले  पुनः दर्ताका लागि निवेदन दिएका थिए। त्यसपछि कामु प्रधानन्यायाधीश मल्लले सबै निवेदन आजै दर्ता गर्न आदेश जारी गरेकी हुन्।

आदेशमा संविधानले न्यायसम्बन्धी अधिकार अदालतलाई दिएको र अन्यायमा परेको व्यक्ति वा संस्थालाई अदालत पुग्ने अधिकार आधारभूत मानव अधिकार भएको उल्लेख गरिएको छ। अदालतमा परेका उजुरी,निवेदन वा रिट कानुनबमोजिम दर्ता गरी प्रक्रिया अघि बढाउनु अदालतको दायित्व भएको भन्दै प्रशासनिक तहले निवेदन रोकिराख्न नमिल्ने आदेशमा भनिएको छ।

इजलासले निर्णय गर्नुपर्ने विषय प्रशासनिक तहबाट ‘होल्ड’ मा राखिएको भन्दै आदेशमा गम्भीर असन्तुष्टि जनाइएको छ। साथै,दरपीठ आदेशविरुद्धको निवेदनसमेत इजलाससमक्ष पेश नगरी राखिएको अवस्थाप्रति प्रश्न उठाइएको छ।

आदेशमा अदालत प्रशासन तथा जिम्मेवार अधिकारीहरूले कानुनी दायित्व पूरा नगरेको र न्यायिक मर्यादाको सम्मान नभएको टिप्पणी गरिएको छ। सर्वोच्च अदालत नियमावली, २०७४ अनुसार लिखत दर्ता गर्ने वा दरपीठ गर्ने अधिकार मुख्य रजिष्ट्रारलाई भएको उल्लेख गर्दै रिट दर्ता शाखा,मुद्दा हेर्ने रजिष्ट्रार तथा मुख्य रजिष्ट्रारले न्यायिक प्रक्रियामा अवरोध पुर्‍याएको उल्लेख छ।

कामु प्रधानन्यायाधीश मल्लले संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ अनुसार विशेष अधिकार प्रयोग गर्दै आदेश जारी गरेकी हुन्। 

आदेशमा आज १ बजेसम्म सबै रिट तथा दरपीठविरुद्धका निवेदन दर्ता गरी भोलिका लागि पेशी तोक्न निर्देशन दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.