डेढ सय वर्षको इतिहास तोडेर नयाँ नोटमा ट्रम्पको तस्बिर, बन्ने छ यस्तो इतिहास

डेढ सय वर्षको इतिहास तोडेर नयाँ नोटमा ट्रम्पको तस्बिर, बन्ने छ यस्तो इतिहास
सुन्नुहोस्

अमेरिका : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट छापिने भएको छ । अमेरिकी कंग्रेस (संसद्) ले वर्तमान कानुनमा संशोधन गरेमा नयाँ नोट छाप्ने बाटो खुल्ने ट्रम्प प्रशासनले जनाएको छ ।

अमेरिकी ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) स्कट बेसेन्टका अनुसार हाल अमेरिकामा बहालवाला वा जीवित व्यक्तिको तस्बिर नोटमा छाप्न नपाइने कानुनी व्यवस्था छ । १५० वर्षभन्दा पुरानो यही नियमलाई बदल्ने प्रयास अहिले भइरहेको हो । यदि यो प्रस्ताव संसद्बाट पारित भएमा, ट्रम्प अमेरिकी मुद्रामा तस्बिर छापिने इतिहासकै पहिलो जीवित व्यक्ति हुनेछन् ।

अमेरिका स्थापनाको २५० औं वर्षगाँठको अवसर

ट्रेजरी सेक्रेटरी बेसेन्टले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस योजनाबारे जानकारी दिएका हुन् । सन् २०२६ मा अमेरिकाले आफ्नो स्थापनाको २५०औं वर्ष पूरा गर्दैछ । उक्त ऐतिहासिक अवसरमा तत्कालीन राष्ट्रपतिको तस्बिर अंकित स्मारक नोट जारी गर्नु स्वाभाविक भएको बेसेन्टको तर्क छ । यद्यपि, यो हाल प्रस्तावको चरणमा मात्रै रहेकाले यसलाई लागू गर्न कंग्रेसको स्वीकृति अनिवार्य हुनेछ ।

‘द वासिङ्टन पोस्ट’ को रिपोर्ट अनुसार ट्रम्प प्रशासनले अमेरिकी मुद्रा छाप्ने निकाय ‘ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ’ लाई नयाँ नोटको डिजाइन तयार पार्न निर्देशन दिइसकेको छ । प्रस्तावित डिजाइनमा ट्रम्पको तस्बिर नोटको बीच भागमा राखिएको छ ।

रिपब्लिकन सांसदद्वारा विधेयक दर्ता
ट्रम्पको तस्बिरसहितको २५० डलरको नोट छाप्ने प्रस्ताव साउथ क्यारोलिनाका रिपब्लिकन सांसद जो विल्सनले संसदमा पेस गरेका थिए । सन् २०२५ फेब्रुअरीमा यो विधेयकलाई ‘हाउस फाइनान्सियल सर्भिसेज कमिटी’ मा पठाइएको थियो । अब यसले कानुनको रूप लिन तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) र माथिल्लो सदन (सनेट) दुवैबाट स्वीकृति पाउनु पर्नेछ ।

यसअघि अमेरिकी ट्रेजरी विभागले नोटहरूमा ट्रम्पको हस्ताक्षर पनि समावेश गरिने घोषणा गरेको थियो । विभागका प्रवक्ताका अनुसार मुद्रा छपाइ गर्ने निकायले यस प्रस्तावबारे प्रारम्भिक अध्ययन र प्राविधिक जाँच गरिरहेको छ ।

ट्रम्प आफैले दिए डिजाइनको सुझाव
२५० डलरको नोटको प्रारम्भिक डिजाइन तयार पारेका बेलायती कलाकार इयान अलेक्जेन्डरले डोनाल्ड ट्रम्प आफैले उक्त डिजाइनको निरीक्षण गरी केही परिमार्जनको सुझाव दिएको दाबी गरेका छन् । अलेक्जेन्डरका अनुसार ट्रम्पले नोटमा अमेरिकी झण्डाको रङ र २५०औं वर्षगाँठको विशेष लोगो समावेश गर्न चाहेका थिए ।

यस प्रस्तावलाई लिएर अमेरिकामा राजनीतिक तथा कानुनी बहस तीव्र हुने देखिएको छ । ट्रम्प समर्थकहरूले यसलाई ऐतिहासिक अवसरको विशेष सम्मान भनिरहेका छन् भने विरोधीहरूले यसलाई स्थापित परम्परा र नियम विपरीतको कदमका रूपमा आलोचना गरेका छन् ।

अमेरिकी मुद्रामा जीवित व्यक्तिको तस्बिर किन छापिँदैन ?
सन् १८६६ देखि अमेरिकी कानुनले नोटमा जीवित व्यक्तिको तस्बिर छाप्न पूर्ण प्रतिबन्ध लगाएको छ । गृहयुद्धपछि बनेको यो नियमको मुख्य उद्देश्य कुनै पनि नेताले सत्तामा रहँदा आफ्नो शक्ति र पदको दुरुपयोग गरेर मुद्रामा आफ्नै तस्बिर राखी व्यक्तिगत प्रचार (व्यक्तिपूजा) नगरुन् भन्ने थियो । यही कारण अमेरिकी डलरमा सामान्यतया पूर्व राष्ट्रपति र ऐतिहासिक व्यक्तिहरुको तस्बिर मात्र हुने गर्छन् ।

१०० वर्षअघि पनि तोडिएको थियो नियम
‘न्यूयोर्क टाइम्स’ का अनुसार अमेरिकी इतिहासको विगत २५० वर्षमा केवल एक पटक मात्र यस्तो अपवाद भएको छ, जहाँ बहालवाला राष्ट्रपतिले सिक्कामा आफ्नो तस्बिर राखेका थिए । सन् १९२६ मा अमेरिकाले आधा डलरको विशेष सिक्का जारी गर्दा तत्कालीन राष्ट्रपति केल्भिन कुलजको तस्बिर राखिएको थियो ।

त्यसबेला १८६६ को कानुनको एउटा कानुनी छिद्रको फाइदा उठाइएको थियो । उक्त कानुनमा जीवित व्यक्तिको तस्बिर सरकारी नोट, बन्ड वा सेक्युरिटीमा छाप्न नपाइने स्पष्ट उल्लेख भए पनि ‘सिक्का’ को बारेमा केही भनिएको थिएन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.