वैदेशिक रोजगारीको लोभमा नेपाली बेचिँदै, भारतदेखि कम्बोडियासम्म स्क्याम र शोषणको जालो
काठमाडौं : आकर्षक तलब र सहज कामको प्रलोभनमा परेर विदेश पुग्ने नेपालीहरू मानव बेचबिखन, अनलाइन स्क्याम, जबर्जस्ती श्रम तथा मानसिक र शारीरिक शोषणको सिकार बन्ने क्रम बढ्दो छ।
पछिल्लो पटक भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार भएपछि वैदेशिक रोजगारीका नाममा फैलिएको अन्तरदेशीय ठगी सञ्जाल पुनः उजागर भएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएका ती ४ सय ५३ जना नेपालीलाई उद्धार गरी यही शनिबार नेपाल फर्काइएको छ। उनीहरूलाई आर्थिक प्रलोभन देखाएर भारत पुर्याइएको र पछि शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती नेटवर्किङ व्यवसायमा लगाइएको थियो।
उद्धार गरिएकामध्ये १ सय १५ जना महिला र ३ सय ३८ जना पुरुष छन्। उनीहरूलाई विभिन्न भाडाका घरमा थुनेर अवैध गतिविधिमा संलग्न हुन बाध्य पारिएको थियो। उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा नेपाली दूतावासले शुक्रबार राति उनीहरूको उद्धार गरेको हो।
‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याई बन्धक बनाउने घटना यो पहिलो भने होइन। केही समयअघि भारतकै कश्मीरमा बन्धक बनाइएका ३५ जना नेपाली मजदुरको पनि उद्धार गरिएको थियो। आकर्षक तलब र सहज कामको आश्वासन दिएर नेपालीहरूलाई भारतका विभिन्न सहरमा पुर्याउने र अवैध नेटवर्किङ व्यवसायमा लगाउने गिरोह सक्रिय रहेको उनले बताए। यसरी नेपालीलाई ठगी गरी भारत पुर्याउने समूहमा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ।
जोशीका अनुसार रोजगारीको खोजीमा रहेका युवाहरू सामाजिक सञ्जालमा आउने विज्ञापनकै भरमा भारत पुग्ने गरेका छन्। त्यहाँ पुगेपछि तालिम र सीप विकासका नाममा उनीहरूबाट रकम असुल्ने तथा नेपालमा रहेका आफन्त एवं साथीभाइसँग पैसा माग्न दबाब दिने गरिन्छ। यस्ता समूहको चंगुलमा परेका नेपालीहरूले आफ्नै चिनजानका अरू व्यक्तिलाई समेत त्यहाँ बोलाउने गरेका छन्। उनीहरूलाई अनलाइन ठगीमा समेत संलग्न गराइन्छ। आर्थिक तथा मानसिक शोषणका साथै न्यूनतम मानवीय सुविधासमेत नदिई उनीहरूलाई गैरकानुनी काम गर्न बाध्य बनाइन्छ। जोशीका अनुसार यसअघि कम्बोडियामा पनि सयौं नेपालीलाई अनलाइन स्क्याममा फसाइएको घटना सार्वजनिक भइसकेको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता राजन लिम्बूका अनुसार भारतको कुशीनगरबाट उद्धार गरिएका नेपालीको घटनामा अहिले १९ जनामाथि अनुसन्धान भइरहेको छ। ‘घटनाको अनुसन्धान रूपन्देही प्रहरीले गरिरहेको छ। अहिलेसम्म ब्युरोमा औपचारिक जानकारी आइसकेको छैन,’ उनले भने, ‘पीडितहरूले मानव बेचबिखनसम्बन्धी उजुरी दिएपछि ब्युरोले थप अनुसन्धान सुरु गर्नेछ।’
वैदेशिक रोजगारीमा गएर फसेका, हिंसामा परेका, पारि श्रमिक नपाएका वा अन्य प्रकारका शोषणमा परेका नेपालीहरूको उद्धार ब्युरोले गर्दै आएको छ। सम्बन्धित देशमा रहेका विभिन्न संघसंस्था तथा सरकारी निकायहरूसँग समन्वय गरेर उद्धारकार्य गरिने जानकारी उनले दिए।
आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि २०८३ वैशाखसम्म नेपाल, भारत तथा अन्य विभिन्न देशबाट कुल १ हजार २ सय ६२ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ८ सय ४८ महिला, २ सय १३ बालिका, १ सय ८२ पुरुष र १९ बालक छन्। नेपालका विभिन्न मसाज सेन्टर तथा खाजाघरमा कामको बहानामा यौन शोषणमा लगाइएका १ सय ९९ बालिकाको उद्धार गरिएको थियो भने भारतमा बेचिएका १४ बालिकालाई समेत उद्धार गरिएको छ। यस्तै, कामको खोजीमा कुवेत पुगेका ४ सय ४६ महिला र भारतबाट मात्रै १ सय ९ महिलालाई उद्धार गरिएको तथ्यांक छ।
प्रवक्ता लिम्बूका अनुसार खाडी मुलुकमा घरेलु कामदारका रूपमा नेपाली महिला जान कानुनी रूपमा प्रतिबन्ध भए पनि भारतको बाटो हुँदै जानेहरूको संख्या उल्लेख्य छ। यौनशोषण, आर्थिक हिंसा, घरेलु हिंसा तथा कुटपिटमा परेको भन्दै ब्युरोमा आउने उजुरीहरू पनि लगातार बढिरहेका छन्। कतिपय अवस्थामा पीडित स्वयंले फोन वा इमेलमार्फत जानकारी गराउँछन् भने कतिपय घटनामा आफन्तले उजुरी दिने गरेका छन्। ‘धेरैजसो घटनामा नजिकका आफन्त, चिनेजानेका व्यक्ति वा छिमेकी नै संलग्न भएको देखिन्छ,’ लिम्बूले भने, ‘अधिकांश आरोपीहरू पीडितकै विश्वासपात्र व्यक्तिहरू हुने गरेका छन्।’
खाडीमा हिंसा भोग्ने महिलाको संख्या उल्लेख्य
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो दुई वर्षमा विभिन्न देशबाट उद्धार गरिएका १ हजार २ सय ६२ जनामध्ये ८ सय ४८ महिला र २ सय १३ बालिका छन्।
उजुरीका आधारमा विशेषगरी भारत, कुवेत, दुबई, ओमान र बहराइनबाट नेपालीहरूको उद्धार गरिएको छ। कुवेतबाट ४ सय ४६ महिला र ३ पुरुष गरी ४ सय ४९ जना, भारतबाट २ सय २४ जना, ओमानबाट एक सय जना, इराकबाट ४४ जना, दुबईबाट २७ जना, कम्बोडियाबाट २२ जना र म्यानमारबाट १७ जनाको उद्धार गरिएको छ।
विभिन्न देशमा गैरकानुनी रूपमा बसेका, कागजातविहीन भएका वा विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा म्यानमार र कम्बोडियाबाट मात्रै ४ सय ८९ नेपालीलाई नेपाल फर्काइएको छ। म्यानमारबाट ११ महिला र १ सय ४२ पुरुष तथा कम्बोडियाबाट १७ महिला र ३ सय १९ पुरुष फर्काइएका छन्।
अमेरिकाबाट पनि डिपोर्ट भई नेपाल फर्किने नेपालीको संख्या उल्लेख्य छ। चालु आर्थिक वर्षमा मात्रै ५ सय ६२ नेपाली डिपोर्ट भएर फर्किएका छन्। जनवरी २०२५ यता अमेरिकाले ७ सय ४३ नेपालीलाई डिपोर्ट गरेको छ, जसमध्ये ७ सय ७ पुरुष र ३६ महिला रहेका छन्।
प्रतिक्रिया दिनुहोस !