नेपालमा निरन्तर अमेरिकी उच्चस्तरीय भ्रमण

नेपालमा निरन्तर अमेरिकी उच्चस्तरीय भ्रमण
सुन्नुहोस्

काठमाडौं : वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारीका रूपमा रहेकी अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने औपचारिक भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएकी छन् ।

अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति तथा जनसम्पर्कसम्बन्धी उपविदेशमन्त्री रोजर्स मे २७ देखि जुन १० सम्मको भारत, नेपाल, उज्बेकिस्तान र तुर्कमेनिस्तानको क्षेत्रीय भ्रमणका क्रममा जेठ १६ गते काठमाडौं आइपुगेकी थिइन् ।

नेपालमा रहँदा उनले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा सम्मान गर्दै यहाँको आर्थिक समृद्धि, राजनीतिक स्थिरता तथा सार्वभौमिकताको संरक्षणमा अमेरिकाको प्राथमिक चासो रहेको बताएकी छन् । उनले नेपालले आफ्ना राष्ट्रिय प्राथमिकताहरू स्वयं निर्धारण गर्ने अधिकारप्रति अमेरिका प्रतिबद्ध रहेको समेत उल्लेख गरिन् ।

भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले नेपाल सरकारका उच्च अधिकारीहरूसँग बेग्ला–बेग्लै भेटवार्ता गरेकी थिइन् । उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, लगानी, व्यापार तथा विकास साझेदारीका विषयमा छलफल गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत सहायताभन्दा माथि उठाएर अझ व्यावहारिक र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त 
गरेका छन् ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासँगको भेटमा डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, डिजिटल स्वतन्त्रता र नवप्रवर्तनका विषयमा केन्द्रित छलफल भएको थियो । अमेरिकी पक्षले नेपालको डिजिटल पूर्वाधार र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रममा सहकार्य गर्न चासो देखाएको छ ।

रोजर्सको नेपाल भ्रमणको प्रमुख आकर्षण काठमाडौंमा आयोजित ‘नेपाल्स एसेन्ट समिट २०२६’ मा उनको सहभागिता रह्यो । अमेरिकी दूतावास, नेपाल पर्यटन बोर्ड र सेभेन समिट ट्रेक्सको सहकार्यमा आयोजित उक्त सम्मेलनमा १ हजार ४ सयभन्दा बढीको उपस्थिति थियो । सम्मेलनमा पर्वतारोहण, साहसिक पर्यटन, सुरक्षा मापदण्ड र हिमाली पर्यटनको भविष्यबारे सघन छलफल भएको थियो ।

काठमाडौंस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ ६ गते सफलतापूर्वक सगरमाथाको आरोहण गरी विश्वकै सर्वोच्च शिखर चढ्ने पहिलो कार्यरत अमेरिकी कूटनीतिज्ञको कीर्तिमान बनाएलगत्तै उनी काठमाडौं उत्रेकी थिइन् ।  अमेरिकाको स्वतन्त्रताको २५०औं वार्षिकोत्सव ‘फ्रिडम २५०’ को अवसरमा भएको उक्त सफल आरोहणको सम्मानमा आयोजित विशेष समारोह र एसेन्ट समिट दुवैमा उपविदेशमन्त्री रोजर्स प्रमुख अतिथिका रूपमा सहभागी भइन् ।

गएको गत चैत १३ गते वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता काठमाडौंमा अमेरिकी उच्च अधिकारीहरूको लगातार आगमन भइरहेको छ । यसअघि गत वैशाख ७ गते दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र त्यसको एक सातापछि वैशाख १९ गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले नेपालको भ्रमण गरिसकेका छन् ।

अघिल्ला दुई उच्च अधिकारीहरूले प्रधानमन्त्री शाहसँग भेट गर्ने अवसर नपाए पनि उपविदेशमन्त्री रोजर्स रोजर्सको यो भ्रमणले नेपाल–अमेरिका सम्बन्धलाई नयाँ गति दिएको छ । पछिल्ला महिनाहरूमा अमेरिकी उच्च अधिकारीहरूको लगातारको नेपाल भ्रमणले नेपालप्रतिको अमेरिकी चासो निकै बढेको संकेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.