सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
काठमाडौं : सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दियाको बाँसगढी नगरपालिका-५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको छ।
उक्त सहयोग बैंकको बढैयाताल शाखा मार्फत गरिएको छ। २०४५ सालमा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब १ हजार २०० विद्यार्थी अध्ययनरत रहेका छन्। जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन्। विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण विद्यार्थीहरूको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्नो सहयोग उपलब्ध गराएको छ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक गुणस्तरका ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला र JAWS सफ्टवेयर कम्प्युटर लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ। आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ।
प्रतिक्रिया दिनुहोस !