अनलाइन ठगी गरेको आरोपमा चार बंगलादेशीसहित पाँचजना पक्राउ
काठमाडौं : आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपालीसहित पाँचजना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुकमार्फत आकर्षक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशित गर्दै ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (Direct Hire) रोजगारी प्राप्त गर्न सकिने’भन्दै सर्वसाधारणलाई झुक्याइएको थियो।
उक्त विज्ञापनमा विश्वास गरी मोबाइल एप डाउनलोड तथा प्रयोग गरेका सेवाग्राहीको बैंक खाताबाट रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।
प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा घटनामा संलग्न एक नेपाली र चार बंगलादेशी नागरिकलाई पक्राउ गरिएको हो। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश जान लागेको अवस्थामा गत असार २६ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले अनलाइन ठगीसँगै BINANCE मार्फत Crypto तथा USDT को अवैध कारोबारसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वर बस्ने सुभाषकुमार मण्डल तथा बंगलादेशका एमडी जुबाएर अहमेद, एमडी नुर आलम ,एमडी नासिम मिया र एमडी रानी कमलका रहेका छन्।
प्रहरीले उनीहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !