जलनमा राज्यले लगाउनुपर्ने मलम

जलनमा राज्यले लगाउनुपर्ने मलम

नागरिकले आफ्नै शरीरमा आगो लगाउनु केवल एउटा देहको अवसान होइन; यो त राज्यको चरम विफलता र समाजको निष्ठुरताले सल्काएको चिता हो। जब बाँच्ने सम्पूर्ण आशाहरू खरानी हुन्छन् र चारैतिर अन्धकारमात्र देखिन्छ, तब मानिस मृत्युको यस्तो भयानक बाटो रोज्न विवश हुन्छ।

काठमाडौंमा मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। उनको निधन भयो। भोलिपल्टै सर्लाहीमा आत्मदाहको हृदयविदारक घटना भयो। काठमाडौंको बुद्धनगर र धनगढीमा पनि यस्तै नियति दोहोरियो। लगातारका घटनाले गम्भीर प्रश्न खडा गरेका छन्, हाम्रो समाज कता जाँदैछ ? हाम्रो राज्य के गर्दैछ ? नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका थिए भने त्यसअघिको वर्ष यो संख्या ६ हजार ८ सय ६६ थियो। यसको अर्थ, नेपालमा हरेक दिन औसत १९ जनाले आफ्नै जीवनलीला समाप्त पारिरहेका छन्। आत्मदाह र आत्महत्याका यी कुनै पनि घटना नितान्त व्यक्तिगत मामिला होइनन्।

फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खाइमका अनुसार, मानिसले व्यक्तिगत वा आन्तरिक कारणले मात्र आत्महत्या गर्दैन; समाजको संरचना र व्यक्ति–समाजबीचको सम्बन्धले नै उसलाई यस्तो कठोर निर्णय लिन बाध्य पार्छ। पछिल्ला आत्मदाहका घटनालाई पनि केवल व्यक्तिगत निराशाका रूपमा मात्रै लिइयो र यसको सामाजिक–आर्थिक जरो खोतलिएन भने यस्ता वियोगान्तक शृंखला झनै बढ्दै जानेछन्। पछिल्लोपटक नयाँ सरकार गठन भएपछि पनि नागरिकमा आशाको सञ्चार गर्न पूर्णतः असफल भएको यथार्थ घामजत्तिकै छर्लंग छ।

बरु, राज्यसत्ताप्रति त्राहीमाम र अविश्वासको वातावरण निर्माण भएको छ। देशमै भविष्य खोजिरहेका युवाहरूले गरिखाने वातावरण नपाएको महसुस गर्नु नै वर्तमानको सबैभन्दा ठूलो वियोग हो; गणेशहरू त प्रतिनिधिपात्र मात्र हुन्। युवाहरूको मनमा सल्किएको निराशाको आगो निभाउन सरकारले विश्वासको पानी सिञ्चन गर्न सकेको छैन। अर्कोतर्फ, सामाजिक सञ्जाललगायतका मिडियाले आत्मदाहको आगोलाई डढेलो झैं फैलाउने काम गरिरहेका छन्।

यदि संवेदनशीलता अपनाइएको हुन्थ्यो भने गणेश प्रकरणले देशैभरि यति छिटो आगो सल्काउने थिएन। राज्य पनि यस्ता घटना नदोहोरिऊन् भनेर दीर्घकालीन समाधान खोज्नुको साटो आमनिराशाको आगोलाई राहतरूपी खरानीले ढाकछोप गर्नमै तल्लीन छ। नेपालमा मानसिक स्वास्थ्य कहिल्यै प्राथमिकताको विषय बन्न सकेको छैन। समाजमा विद्यमान विभेद, न्यायको अभाव र रोजगारीको शून्यता नै यी घटनाका मूल कारक हुन्। अब राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्दै भरोसाको बत्ती बाल्नुपर्छ, ता कि नागरिकको मनमा लागेको निराशाको आगो निभ्न सकोस्। व्यक्तिले आफ्नै शरीरमा लगाएको आगो केवल हाडछाला जलेको खरानी होइन, यो त आशा नदेखिएको देशमा विद्रोहको राँको हो।

त्यसैले, राज्यले तत्काल आफ्नो चरित्र बदल्नुपर्छ। यसका साथै, आम नागरिकलाई राज्यले गम्भीर अपिल गर्नुपर्छ कि निराशाको यो कठिन घडीमा हार नमानौं। ज्यान फालेर होइन, बाँचेरै र संघर्ष गरेरै यो परिस्थितिलाई बदल्न सकिन्छ। समाजका हरेक सदस्यले एकअर्काको कुरा सुनौं, आडभरोसा बनौं। एक नागरिकको पीडामा सिंगो समाजले मल्हम लगाउने संस्कार बसालौं। बाँचौं र बदल्नका लागि संघर्ष गरौं; किनकि आत्महत्या अन्त्य हो, समाधान होइन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.