सुरुङ मार्गको उज्यालो
दक्षिण एसियामै पहिलोपटक सुरुङ मार्ग नेपालमै बनेको थियो, त्यो पनि राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा । मकवानपुरको चुरियामाईमा करिब ६ सय मिटर लामो सुरुङ मार्ग बनेको सवा सय वर्षपछि मात्र नेपालले आधुनिक प्रविधिको मोटरेबल सुरुङ मार्ग पाएको छ । देशको राजधानी काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा सुरुङ मार्गको निर्माण पूरा भएसँगै मुलुकको यातायात क्षेत्रले एउटा महत्त्वपूर्ण घुम्ती पार गरेको छ । यससँगै सिंगो मुलुकले सुरुङ युगको उज्यालोमा प्रवेश गरेको अनुभूति गरेको छ ।
घण्टौंको जाम, उकालो र घुम्ती अनि बर्खायाममा हुने पहिरोको जोखिम लगायतका सास्तीबाट नागढुंगा सुरुङ मार्गले मुक्ति दिनेछ । ३५ मिनेटको सडक यात्रालाई जम्मा पाँच मिनेटमा झारेर यो सुरुङ मार्गले दूरी र समयमात्रै घटाउँदैन; लामो र अप्ठेरो यात्रा गर्दा यातायातका साधनमा हुने खर्च, इन्धन खपत र कार्बन उत्सर्जनलाई पनि स्वात्तै घटाउँछ । करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो मार्गमा गुड्ने साधनले औसत सय रुपैयाँमात्र शुल्क तिर्दा पनि लगानी उठ्न ३०औं वर्ष लाग्ने देखिन्छ ।
यद्यपि, देशको अर्थतन्त्रमा यो बाटोले पुर्याउने योगदान र यातायातका साधनमा हुने खर्च कटौतीको हिसाब छुट्टै छ । तसर्थ, सुरुङ प्रयोक्ताबाट उठ्ने शुल्कको नजरबाट मात्रै यसलाई हेरिनु हुन्न । राज्यले गर्ने यस्ता लगानीले अदृश्य तवरले अर्थोपार्जन र उत्पादकत्वमा ठूलो योगदान पुर्याइरहेका हुन्छन् । राष्ट्रिय गौरवका आयोजना जुन प्राथमिकताका साथ निर्माण हुनुपर्ने थियो, त्यसो हुन नसके पनि ढिलै सही, यो सुरुङ मार्ग पूरा भएको छ । यसले देशमा पूर्वाधार विकासले गति लिने आशाको सञ्चार गराएको छ । हुन त मुलुकमा यसअघि सुरुङ मार्ग नबनेका होइनन्, तर ती सबैजसो जलविद्युत् आयोजनामा केन्द्रित थिए । मेलम्चीको पानी पनि आखिर २६ किलोमिटर सुरुङ हुँदै राजधानी आएको हो ।
तर, सर्वसाधारण आफैंले प्रत्यक्ष उपयोग गर्न पाउने गरी बनेको हुँदा नागढुंगा सुरुङ मार्ग विशेष छ । काठमाडौंलाई तराई–मधेससँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक)मा मात्रै ११ किलोमिटर सुरुङ हुनेछ, जसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने विश्वास गर्न सकिन्छ । त्यहाँ कतिपय सुरुङ बनिसकेका छन् भने समग्र द्रुतमार्गको काम अलि सुस्त छ, जसले अब तीव्रता पाउनुपर्छ । उता, बुटवलबाट पोखरा जाने सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङ मार्ग पनि निर्माणको चरणमा छ । यसले पूर्वाधार विकासमा अर्को इँटा थप्नेछ ।
सरकारले देशैभरि अन्य सुरुङ मार्गको अध्ययन गरिरहेको छ र केही निर्माणको प्रक्रियामा पनि छन् । नागढुंगा सुरुङ मार्गको योजना साढे दुई दशक पुरानो भए पनि यसको निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी नेतृत्वदायी अग्रसरता लिए, त्यसैगरी अन्य योजनामा पनि नेतृत्वले आँट र तदारुकता देखाउनुपर्छ । योजना बन्नु र सपना देख्नुभन्दा त्यसको सफल कार्यान्वयन गर्नु बढी महत्त्वपूर्ण हुन्छ । सरकार आफैंले सम्पूर्ण स्रोत जुटाउन नसके पनि जापानी ऋण सहयोगमा नागढुंगा सुरुङ मार्ग निर्माण सम्पन्न भयो । नेपालजस्तो जटिल भूगोल भएको पहाडी मुलुकमा अन्यत्र पनि यही मोडेलमा सुरुङ मार्ग बनाउन सकिन्छ र बनाउनुपर्छ ।
काठमाडौंकै टोखा–छहरे, थानकोट–चित्लाङ वा गोदावरी–मानेचौरलगायत अध्ययनका चरणमा रहेका थुप्रै मार्गको प्रक्रिया अबिलम्ब अघि बढाउनुपर्छ । तर, त्यसअघि नागढुंगा सुरुङ मार्गका बाँकी काम सम्पन्न गर्नु र स्थानीयका जायज माग सम्बोधन गर्नु सरकारको दायित्व हो । निर्माण पूरा भएको यो मार्गको सफल र सुरक्षित सञ्चालनमा सरकारले रत्तिभर कमजोरी गर्नु हुँदैन । सुरुङ मार्ग जति सजिलो बाटो हो, यसको सञ्चालन र सुरक्षा व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण हुन्छ । यसको सफल सञ्चालन गरेर मात्रै आगामी दिनमा अन्य ठूला योजना निर्माणका लागि प्रेरणा र आत्मविश्वास सिर्जना गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !