सुरुङ मार्गको उज्यालो

सुरुङ मार्गको उज्यालो

दक्षिण एसियामै पहिलोपटक सुरुङ मार्ग नेपालमै बनेको थियो, त्यो पनि राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा । मकवानपुरको चुरियामाईमा करिब ६ सय मिटर लामो सुरुङ मार्ग बनेको सवा सय वर्षपछि मात्र नेपालले आधुनिक प्रविधिको मोटरेबल सुरुङ मार्ग पाएको छ । देशको राजधानी काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा सुरुङ मार्गको निर्माण पूरा भएसँगै मुलुकको यातायात क्षेत्रले एउटा महत्त्वपूर्ण घुम्ती पार गरेको छ । यससँगै सिंगो मुलुकले सुरुङ युगको उज्यालोमा प्रवेश गरेको अनुभूति गरेको छ ।

घण्टौंको जाम, उकालो र घुम्ती अनि बर्खायाममा हुने पहिरोको जोखिम लगायतका सास्तीबाट नागढुंगा सुरुङ मार्गले मुक्ति दिनेछ । ३५ मिनेटको सडक यात्रालाई जम्मा पाँच मिनेटमा झारेर यो सुरुङ मार्गले दूरी र समयमात्रै घटाउँदैन; लामो र अप्ठेरो यात्रा गर्दा यातायातका साधनमा हुने खर्च, इन्धन खपत र कार्बन उत्सर्जनलाई पनि स्वात्तै घटाउँछ । करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो मार्गमा गुड्ने साधनले औसत सय रुपैयाँमात्र शुल्क तिर्दा पनि लगानी उठ्न ३०औं वर्ष लाग्ने देखिन्छ ।

यद्यपि, देशको अर्थतन्त्रमा यो बाटोले पुर्‍याउने योगदान र यातायातका साधनमा हुने खर्च कटौतीको हिसाब छुट्टै छ । तसर्थ, सुरुङ प्रयोक्ताबाट उठ्ने शुल्कको नजरबाट मात्रै यसलाई हेरिनु हुन्न । राज्यले गर्ने यस्ता लगानीले अदृश्य तवरले अर्थोपार्जन र उत्पादकत्वमा ठूलो योगदान पुर्‍याइरहेका हुन्छन् । राष्ट्रिय गौरवका आयोजना जुन प्राथमिकताका साथ निर्माण हुनुपर्ने थियो, त्यसो हुन नसके पनि ढिलै सही, यो सुरुङ मार्ग पूरा भएको छ । यसले देशमा पूर्वाधार विकासले गति लिने आशाको सञ्चार गराएको छ । हुन त मुलुकमा यसअघि सुरुङ मार्ग नबनेका होइनन्, तर ती सबैजसो जलविद्युत् आयोजनामा केन्द्रित थिए । मेलम्चीको पानी पनि आखिर २६ किलोमिटर सुरुङ हुँदै राजधानी आएको हो ।

तर, सर्वसाधारण आफैंले प्रत्यक्ष उपयोग गर्न पाउने गरी बनेको हुँदा नागढुंगा सुरुङ मार्ग विशेष छ । काठमाडौंलाई तराई–मधेससँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक)मा मात्रै ११ किलोमिटर सुरुङ हुनेछ, जसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने विश्वास गर्न सकिन्छ । त्यहाँ कतिपय सुरुङ बनिसकेका छन् भने समग्र द्रुतमार्गको काम अलि सुस्त छ, जसले अब तीव्रता पाउनुपर्छ । उता, बुटवलबाट पोखरा जाने सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङ मार्ग पनि निर्माणको चरणमा छ । यसले पूर्वाधार विकासमा अर्को इँटा थप्नेछ ।

सरकारले देशैभरि अन्य सुरुङ मार्गको अध्ययन गरिरहेको छ र केही निर्माणको प्रक्रियामा पनि छन् । नागढुंगा सुरुङ मार्गको योजना साढे दुई दशक पुरानो भए पनि यसको निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी नेतृत्वदायी अग्रसरता लिए, त्यसैगरी अन्य योजनामा पनि नेतृत्वले आँट र तदारुकता देखाउनुपर्छ । योजना बन्नु र सपना देख्नुभन्दा त्यसको सफल कार्यान्वयन गर्नु बढी महत्त्वपूर्ण हुन्छ । सरकार आफैंले सम्पूर्ण स्रोत जुटाउन नसके पनि जापानी ऋण सहयोगमा नागढुंगा सुरुङ मार्ग निर्माण सम्पन्न भयो । नेपालजस्तो जटिल भूगोल भएको पहाडी मुलुकमा अन्यत्र पनि यही मोडेलमा सुरुङ मार्ग बनाउन सकिन्छ र बनाउनुपर्छ ।

काठमाडौंकै टोखा–छहरे, थानकोट–चित्लाङ वा गोदावरी–मानेचौरलगायत अध्ययनका चरणमा रहेका थुप्रै मार्गको प्रक्रिया अबिलम्ब अघि बढाउनुपर्छ । तर, त्यसअघि नागढुंगा सुरुङ मार्गका बाँकी काम सम्पन्न गर्नु र स्थानीयका जायज माग सम्बोधन गर्नु सरकारको दायित्व हो । निर्माण पूरा भएको यो मार्गको सफल र सुरक्षित सञ्चालनमा सरकारले रत्तिभर कमजोरी गर्नु हुँदैन । सुरुङ मार्ग जति सजिलो बाटो हो, यसको सञ्चालन र सुरक्षा व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण हुन्छ । यसको सफल सञ्चालन गरेर मात्रै आगामी दिनमा अन्य ठूला योजना निर्माणका लागि प्रेरणा र आत्मविश्वास सिर्जना गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.