अस्पतालमा डाक्टरको हडताल : खोसियो बिरामीको मौलिक हक
डाक्टरको हडतालले उपचार नपाई फर्किँदै बिरामी
सरकारले २०८३ जेठ २५ गते राजपत्रमा सूचना प्रकाशित गरी अस्पताललगायत २५ वटा सेवामा हडताल गर्न नपाइने आदेश जारी गरिसकेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले राजपत्रमार्फत त्यस्तो आदेश जारी गरेको हो । तर, मुलुकभरका चिकित्सकहरूले सरकारी आदेशको ठाडो उल्लंघन गर्दै अस्पतालमा हडताल गरिरहेका छन्। चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सकहरूले हडताल गर्दा देशभर हजारौं बिरामी सेवाबाट प्रभावित भएका छन् ।
काठमाडौं/वीरगन्ज : मुलुककै ठूलो वीर अस्पतालको बहिरंग (ओपीडी) विभागमा उपचार गर्न पुगेका बिरामीमध्ये ३ सय ६० जना भाग्यमानी ठहरिए। टोकन प्राप्त बिरामीले उपचार पाए, बाँकी बिरामी फर्किन बाध्य भए।
उपचारको आसमा अस्पताल पुगेका बिरामीहरू टोकन नपाउँदा रिसाउँदै फर्किए। वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, ‘टोकन लिइसकेका बिरामीको इमर्जेन्सी र डाक्टरलाई अनुरोध गरेर उपचार प्रबन्ध मिलाइयो। टिकट काउन्टर बन्द हुँदा ओपीडी बन्द भयो। उपचार गर्न नपाएका बिरामी फर्किए।’ वीर अस्पतालको ओपीडीमा दैनिक ३ हजार ५ सयदेखि ४ हजारको संख्यामा बिरामीहरू जँचाउन जान्छन्। चिकित्सकहरूको आन्दोलनका कारण शल्यक्रिया सेवा पनि प्रभावित भयो। सामान्य अवस्थामा दैनिक १०–१२ वटा शल्यक्रिया हुन्थ्यो। मंगलबार ३–४ वटा मात्र शल्यक्रिया भएको डा. बुढाथोकीले जानकारी दिए।
‘आन्दोलनको घोषणा समयमै पाएको भए अस्पताल आएका बिरामी उपचार नपाई फर्केर जानु पर्दैनथ्यो। अस्पताल आएर उपचार नपाई फर्कनुपर्दा सेवाग्राही रिसाए। त्यसले गर्दा बिरामी र चिकित्सकबीच द्वन्द्वको अवस्था सिर्जना भयो। जुनसुकै निकाय भए पनि आवेगमा आउनुभएन,’ डा. बुढाथोकी भन्छन्, ‘सेवा प्रदायक (स्वास्थ्यकर्मी) ले पनि सुरक्षाको प्रत्याभूति हुने र बिरामीले पनि उपचार पाउने व्यवस्था हुनुपर्यो।’
वीर अस्पतालमा केहीले ओपीडीमा उपचार पाए पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पुगेका बिरामीले टोकनसमेत पाएनन्। अस्पतालका प्रवक्ता कालीप्रसाद रोस्याराका अनुसार, चिकित्सकको आन्दोलनका कारण उपचार सेवा प्रभावित बन्यो। ‘दूरदराजबाट बिरामीहरू उपचारको आसमा आएका हुन्छन्। सबैले समयमा आन्दोलनको सूचना पाएका हुँदैनन्। बिरामीले नै दुःख पाउँछन्,’ रोस्यारा भन्छन्, ‘पुराना बिरामी र इमर्जेन्सीमा आएका बिरामीले सेवा पाए। तर, नयाँ बिरामीले सेवा पाउन सकेनन्।’
अस्पतालको ओपीडीमा दैनिक २ हजारको हाराहारीमा नयाँ बिरामी उपचार गर्न आउँछन्। चिकित्सकको आन्दोलनका कारण पुराना र नयाँ बिरामीले ईएचएस सेवा पनि लिन पाएनन्। गत शनिबार नारायणी अस्पताल वीरगन्जका चिकित्सक डा. प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको थियो। उक्त घटनाको विरोधमा मुलुकभरका चिकित्सक एवं स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। जसका कारण काठमाडौं उपत्यकासहित मुलुकभरका अस्पतालमा बहिरंग एवं शल्यक्रियालगायतका सेवाहरू प्रभावित भएका छन्। उपचार गराउन आएका बिरामी सेवाबाट वञ्चित भएका हुन्।
हृदयघातका बिरामीको मृत्यु हुँदा हातपात
साउन ९ गते शनिबार बिहान वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा हृदयघातका बिरामी वीरगन्ज–२५ का अन्दाजी ४५ वर्षीय राजकुमार पटेल भर्ना भए।
आकस्मिक कक्षमा भर्ना भएलगत्तै त्यहाँ कार्यरत मेडिकल अफिसर डा. प्रमोद रामसहितका स्वास्थ्यकर्मीले पटेलको उपचार सुरु गरे। सुरुमा पटेलको मुटुको ईसीजी गरियो। ईसीजी रिपोर्टमा समस्या देखिएपछि चिकित्सकले औषधि चलाउन सुरु गरे। तैपनि उनको छातीभित्रको दुखाइ कम भएन। त्यसपछि चिकित्सकले १० बजेतिर कृत्रिम श्वास दिन मेसिन लगाए। चिकित्सकहरू सीपीआर (छाती थिच्ने) प्रयासमा लागे। सीपीआर गर्ने क्रममै पटेलको मुटुमा सामान्य चाल देखिन थाल्यो। तर, त्यसको केही बेरमै अर्थात् १० बजेर ४० मिनेटतिर अचानक पटेलको मुटुको चाल बन्द हुनपुग्यो।
उपचारका क्रममा पटेलको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सक टोलीले त्यसबारेमा अस्पतालमा रहेका कुरुवाहरूलाई जानकारी गराए। उक्त जानकारी पाएलगत्तै मृतक पटेलका आफन्तमध्येका केही व्यक्तिले फोन गरेर गाउँबाट मान्छेहरू बोलाए। त्यसपछि सुरु भयो अस्पतालको आकस्मिक कक्षमा तोडफोड र चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूमाथि कुटपिट। उपचारमा लापरबाही गरिएकै कारण पटेलको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्त र गाउँलेहरूको समूहले आकस्मिक कक्षभित्रै तोडफोड गरे। उपचारमा खटिएका मेडिकल अफिसर डा. प्रमोद रामलाई मरणासन्न हुने गरी कुटे।
निमित्त मेसु डा. चित्तरञ्जन साहले भने, ‘मरणासन्न हुने गरी कुटपिट गरियो, उहाँको टाउको फुटेर रगत निस्कियो। एमआरआई रिपोर्टमा मस्तिष्कभित्र भित्री चोट लागेको देखियो। श्वास फेर्न पनि गाह्रो भइरहेको थियो।’
कुटपिटबाट गम्भीर घाइते डा. रामको वीरगन्जमा तीन दिनसम्म उपचार गरिएको थियो। उनको थप उपचारका लागि सोमबार काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ। घटना भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अस्पतालमा पुग्यो। भीड उत्तेजित बन्दै जान थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो।
तीन दिनदेखि बिरामीको बिजोग
अस्पताल तोडफोड र चिकित्सक कुटिएको विरोधमा वीरगन्जका चिकित्सकहरू हडतालमा उत्रिएका कारण यहाँका सरकारी र निजी अस्पतालमा तीन दिनदेखि आकस्मिकसहितका सबै उपचार सेवा प्रायः ठप्प छ।
उपचारका लागि नारायणी अस्पताल आएका बिरामीहरू तीन दिनदेखि अलपत्र छन्। चिकित्सकले आकस्मिक उपचार सेवासमेत बन्द गरेपछि बिरामीहरूको झनै बिजोग भएको छ। मंगलबार बिहान नारायणी अस्पतालमा ‘डाक्टरहरूको हडताल’ लेखिएको ब्यानर झुन्ड्याइएको देखेपछि वीरगन्ज–२२ मनियारीका वृद्ध वकिल राउतले भने, ‘पाखुरा दुखेर हैरान छु, इलाज गर्न आएको त डाक्टर साबहरू नै हडतालमा छन् भन्ने सुनें। प्राइभेट अस्पतालमा पनि हडताल छ भन्छन्। अब के गर्नु ? घर फर्किन्छु।’
अस्पतालकै बहिरंग विभाग (ओपीडी) अगाडि मंगलबार भेटिएका बाराको रजवटियाका शम्भु कुम्हालको पनि पीडा उस्तै थियो। उनले भने, ‘वृद्धा आमालाई उपचारका लागि लिएर आएको थिएँ। यहाँ त डाक्टरहरू सबै हडतालमा पो रहेछन्। प्राइभेट हस्पिटलमा पनि डाक्टर छैनन्। अब म के गरुँ ? यी बिरामी आमालाई लिएर म कहाँ जाऊँ ?’ चिकित्सकमाथि हातपात गरिनु निन्दनीय भए पनि आफ्नो न्यायका लागि चिकित्सकहरूले उपचार नै ठप्प पारेर आन्दोलनमा उत्रिनु जायज नभएको उनले बताए।
अस्पतालमै मंगलबार डाक्टरलाई कुरेर बसेको अवस्थामा भेटिएकी पर्साको बलुवा गाउँकी वृद्धा नयनकुमारी देवीले भनिन्, ‘घरबाटै बिहान टेम्पो चढेर हस्पिटलमा आएँ। तर, यहाँ आउँदा कोही डाक्टर भेटिएनन्। हडतालमा छन् भन्ने सुनेँ। ढाड र कम्मर दुखेर सही नसक्नु छ। डाक्टरहरूको हडताल कहिले खुल्छ ठेगान पनि छैन। अब इलाज कहाँ गएर गराऊँ मैले ? अब दबाई दुकान (औषधि पसल) मा गएर दर्द कम हुने दबाई (औषधि) किन्छु, त्यही खान्छु। हस्पिटल खुलेपछि फेरि आउँछु।’
पत्नीलाई सुत्केरी व्यथा लागेपछि लिएर मंगलबार बिहान नारायणी अस्पतालमा पुगेका पर्साको हरपुरका गुल्टन यादव अस्पतालमा डाक्टरको हडतालले एकछिन त अक्क न बक्क बने। उनले भने, ‘वीरगन्जका सबै हस्पिटलमा डाक्टरको हडताल रहेछ भन्ने खबर यहाँ आएपछि मात्रै थाहा पाएँ। अब श्रीमतीलाई लिएर भारत रक्सौलको डंकन हस्पिटलमा जाँदैछु।’
नारायणी अस्पतालले पहिले भर्ना भई उपचाररत बिरामीहरूलाई मंगलबार दिउँसोदेखि डिस्चार्ज गरेर घर पठाउनसमेत थालेको छ। नारायणी अस्पतालका स्वास्थ्यकर्मी अजय यादवले भने, ‘डाक्टर नै आउँदैनन्। हामीले आफ्नो रिस्कमा बिरामीलाई कहिलेसम्म वार्डमा राख्ने ? कहीँ तलमाथि भयो भने हामीले पनि कुटाइ खानुपर्छ। त्यसैले वार्डका बिरामीलाई डिस्चार्ज गरेर घर पठाइरहेका छौं।’
नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले आकस्मिक कक्षमा तोडफोड गर्ने र चिकित्सक डा. प्रमोद राममाथि सांघातिक आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गरेपछि मात्रै आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याउने, अन्यथा बन्द नै राखिराख्ने अडान चिकित्सकहरूको रहेको बताए।
उनले भने, ‘पहिले डाक्टरलाई मरणासन्न हुने गरी कुट्नेहरूलाई प्रहरीले पक्राउ गरोस्। अनि मात्रै इमर्जेन्सी सेवा खोल्छौं भन्ने डाक्टरहरूको अडान छ। त्यसपछि मात्रै अन्य मागहरूका बारेमा सरकारसँग वार्तामा बस्ने र माग सम्बोधन भएपछि मात्रै अन्य सेवाहरू सुरु गर्ने कुरा डाक्टर साबहरूले भनिरहनुभएको छ।’
नारायणी अस्पतालको जस्तै वीरगन्जका निजी अस्पतालहरूमा पनि सोमबारदेखि नै आकस्मिकसहितका उपचार सेवा प्रभावित छन्। आकस्मिक विभागमा समेत चिकित्सक नहुँदा अस्पतालले नयाँ बिरामी भर्ना लिन मानेका छैनन्। अस्पतालका विभिन्न वार्डमा पहिलेदेखि भर्ना भएका बिरामीहरूको उपचार पनि चिकित्सक नआएका कारण स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र अनमीको भरमा भइरहेको छ।
यता वीरगन्ज हेल्थ केयर हस्पिटलकी प्रशासन प्रमुख भूमिका अधिकारीले पनि सोमबारदेखि आकस्मिक र ओपीडी सेवा बन्द रहेको बताइन्। पहिलेदेखि भर्ना भएका बिरामीहरूको मात्रै उपचार गरिरहेको उनले बताइन्। उनले भनिन्, ‘इमर्जेन्सी विभागमा पनि डाक्टरहरू हुनुहुन्न। ओपीडी पनि बन्द छ। त्यसका कारण हामीले नयाँ बिरामी भर्ना गरेका छैनौं। तर, पहिलेदेखि वार्डमा भर्ना भएका बिरामीहरूको उपचारमा कुनै कमी हुन दिएका छैनौं। सरकारले आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन तत्कालै गरेर बिरामीको उपचारमा संवेदनशील बन्नुपर्छ।’
चिकित्सकले दिए सामूहिक राजीनामा
उपचार सेवा ठप्प पारेर हडतालमा उत्रिएका वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले मंगलबार सामूहिक राजीनामा दिएपछि समस्या थप बल्झिएको छ। अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, अस्पतालका ७१ जना चिकित्सकले मंगलबार निमित्त प्रमुख मेसु साहलाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाइएको वार्तामै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र नेपाल प्रहरीका उपरीक्षक सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकहरूसँग दुव्र्यवहार गरेपछि थप आक्रोशित बनेका चिकित्सकहरूले सामूहिक राजीनामा दिएको निमित्त प्रमुख मेसु साहले बताए।
सोमबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) ले पनि राजीनामा दिनुपर्ने अडान राखेका थिए। चिकित्सकहरूको उक्त अडान सुनेपछि प्रजिअ दाहालले आक्रोश पोख्दै गालीगलौज गरेपछि वार्तामा सहभागी चिकित्सकहरू वार्ता छाडेर निस्किन थालेका थिए। त्यसपछि रिसाएका प्रजिअ दाहालले ‘यी डाक्टरहरूलाई थुन्नुस् एसपी साब’ भन्दै प्रहरी उपरीक्षक पाठकलाई आदेश दिएको वार्तामा सहभागी नारायणी अस्पतालका डा. उदयनारायण सिंहले सुनाए।
दाहालकै आदेशमा प्रहरी उपरीक्षक पाठकले प्रहरीको सहयोगमा चिकित्सकहरूलाई धक्कामुक्की गर्दै प्रजिअको कार्यकक्षभित्र धकेलेर लगेको सिंहले बताए। त्यसक्रममा चिकित्सक र प्रहरीबिच फेरि धकेलाधकेल भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपश्चात् चिकित्सकहरू वार्ता छाडेर जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएका थिए।
चिकित्सकसहित ५ स्वास्थ्यकर्मीलाई निलम्बन गरिएपछि विवाद झन् चर्किएको थियो। नारायणी अस्पतालमा तोडफोड र कुटपिटको घटना भएकै दिन गत शनिबार साँझ स्थानीय प्रशासन, मृतक पक्ष र अस्पताल प्रशासनबीच बैठक बसेको थियो। उक्त बैठकले शनिबार बिहान आकस्मिक कक्षमा मृत्यु भएका पटेलको उपचारमा संलग्न चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहितको उक्त बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गर्दै शनिबार बिहान आकस्मिक कक्षमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। छानबिन समितिलाई घटनाको छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन पनि दिइएको थियो। त्यस्तै छानबिन समितिको प्रतिवेदन नआउञ्जेल अर्थात् एक हप्ताका लागि आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम (कुटपिटबाट घाइते), डा. रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।
निर्णय सार्वजनिक भएपछि नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको निर्णयप्रति आपत्ति जनाएका थिए। बिरामीको उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूको निलम्बन तत्काल फिर्ता लिन संघले माग गर्दै अध्यक्ष रिजालले अस्पतालमा तोडफोड गर्ने र चिकित्सकमाथि कुटपिट गर्नेहरूलाई तत्काल कारबाही नगरिए तथा स्वास्थ्यकर्मीहरूको निलम्बन फिर्ता नलिए संघ आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।
वैकल्पिक उपाय खोजेको खोइ ?
अत्यावश्यकीय सेवाअन्तर्गत रहेको स्वास्थ्य सेवा बन्द गर्ने कार्य नेपालको संविधानको धारा ३५ द्वारा प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक तथा उपभोक्ताको हकसम्बन्धी सर्वमान्य सिद्धान्त र प्रचलित कानुनविपरीत हो। तर, सेवाग्राहीबाट चिकित्सकमाथि भएको कुटपिटको घटनालाई लिएर मुलुकभरका चिकित्सक एवं स्वास्थ्यकर्मी यसअघि पनि आन्दोलनमा उत्रेका थिए।
स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौं मानिसको जीवन जोखिममा पर्न सक्ने अधिकारकर्मीहरू बताउँछन्। वरिष्ठ अधिवक्ता बानियाँ चिकित्सकहरूले विगतमा गरेको यस्तै बन्द हडतालविरुद्ध चलेको मुद्दामा अस्पतालमा बन्द हडताल गर्न नपाइने र तत्काल सेवा दिनुपर्ने सर्वोच्च अदालतबाट फैसला भइसकेको बताउँछन्।
‘केही हुनेबित्तिकै बन्द हडताल गर्ने, अनुचित मागहरू राख्ने, बन्द हडताल खुलाउने नाममा सरकार जस्तोसुकै सम्झौता गर्ने, कानुनभन्दा त्यस्ता सम्झौताले काम गर्ने गलत प्रवृत्ति बढिरहेका छन्,’ वरिष्ठ अधिवक्ता बानियाँ भन्छन्, ‘यो सुशासनमाथिको गम्भीर उपहास हो।’
डा. बुढाथोकी पनि वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिन्छन्। राष्ट्रिय मानव अधिकार आयोगले पनि विज्ञप्ति जारी गरी चिकित्सकहरूलाई संवेदनशील भई सेवा सुचारु गर्न, आफ्ना विरोध र विमतिहरू राख्दा आमनागरिकको स्वास्थ्यमा असर नपर्ने प्रकृतिका अन्य वैकल्पिक उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ। सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरिएको हो।
संवादमार्फत समाधान गर्न अपिल
प्रमुख राजनीतिक दलहरूले वीरगन्जको नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सक कुटपिट घटनापछि उत्पन्न विवाद संवाद र सहमतिमार्फत समाधान गर्न अपिल गरेका छन्।
मंगलबार वीरगन्जस्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले तीन दिनदेखि वीरगन्जका अस्पतालहरूमा डाक्टरहरूको हडतालका कारण बिरामीको उपचार सेवा नै प्रभावित भएकोप्रति चिन्ता व्यक्त गर्दै संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।
तोडफोड र कुटपिटमा संलग्न आरोपमा ३ पक्राउ
यसैबीच नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सक कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक पटेलका गाउँका तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक भने गरेको छैन। घटनाको अनुसन्धानका क्रममा मंगलबारसम्म तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।’
डाक्टरमाथि आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गरेपछि मात्रै आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याउने, अन्यथा बन्द नै राखिराख्ने अडान चिकित्सकहरूको छ। त्यसपछि मात्रै अन्य मागहरूका बारेमा सरकारसँग वार्तामा बस्ने र माग सम्बोधन भएपछि मात्रै अन्य सेवाहरू सुरु गर्ने कुरा डाक्टर साबहरूले भनिरहनुभएको छ।
डा. चित्तरञ्जन साह, निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, नारायणी अस्पताल, वीरगन्जदूरदराजबाट बिरामीहरू उपचारको आसमा आएका हुन्छन्। सबैले समयमा आन्दोलनको सूचना पाएका हुँदैनन्। चिकित्सकको आन्दोलनका कारण ओपीडीमा आएका नयाँ बिरामीले सेवा पाउन सकेनन्।
कालीप्रसाद रोस्यारा सूचना अधिकारी, त्रिवि शिक्षण अस्पताल, महाराजगन्जउपचारका क्रममा डाक्टरबाट गल्ती हुन सक्छ। त्यस्तो गल्ती भएको महसुस भएमा सेवाग्राहीले कानुनी उपचार खोज्नु बुद्धिमानी हो। डाक्टरमाथि नै हातपात गर्नुले स्वास्थ्यकर्मीलाई पेसागत असुरक्षा महसुस हुन्छ।
डा. प्रकाश बुढाथोकी - प्रवक्ता, वीर अस्पताल
बिरामीको उपचार हक खोइ ?
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा स्वास्थ्यकर्मीहरूको सेवालाई अत्यावश्यक सेवा भनिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले अस्पतालमा स्थलगत अनुगमन गरेको छ। अनुगमनपछि आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारको उपभोगमा पर्न गएको असरप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
‘स्वास्थ्य सेवामा अहोरात्र खटिने चिकित्सकहरूमाथि कुटपिट र अस्पतालमा तोडफोड हुनु निन्दनीय कार्य हो। यस प्रकारका कार्यबाट अराजकताले प्रश्रय पाउनुका साथै कानुनको शासनमाथि समेत चुनौती खडा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै घटनालाई लिएर चिकित्सकहरूद्वारा अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द गरिँदा बिरामीहरू उपचारबाट वञ्चित भएको पाइएको छ।’
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता ज्योति बानियाँ चिकित्सकउपर मात्रै होइन, कोही कसैउपर हातपात, जबर्जस्ती कुटपिट वा कुनै दुष्कर्म गर्न नपाइने बताउँछन्। वरिष्ठ अधिवक्ता बानियाँ भन्छन्, ‘कसैले यस्ता कर्म गरे तत्काल फौजदारी मुद्दा चल्नुपर्छ।’
अस्पताल वा चिकित्सकले लापरबाही वा कुनै गलत काम गरे फौजदारी संहिताको इलाज गर्नेको महलबमोजिमका मुद्दा वा उपभोक्ता अदालत वा जिल्ला अदालतमा क्षतिपूर्ति मुद्दा दायर गर्न सकिने बानियाँ बताउँछन्। ‘धेरै बिरामी उपभोक्तालाई यस्ता कानुनी उपचार छ भन्ने जानकारी नभएर पनि वीरगन्जमा जस्तै घटनाहरू निरन्तर घटिरहेका छन्,’ उनले भने।
वीर अस्पतालका प्रवक्ता डा. बुढाथोकी चिकित्सकबाट लापरबाही वा हेलचेक्याइँ गरिएको पाइएमा कानुनी उपचार खोज्न सल्लाह दिन्छन्। ‘उपचारका क्रममा डाक्टरबाट त्रुटि भएको महसुस भएमा कानुनी उपचार खोज्नु बुद्धिमानी हो। डाक्टरमाथि नै हातपात गर्नुले स्वास्थ्यकर्मीलाई पेसागत असुरक्षा महसुस हुन्छ,’ डा. बुढाथोकी भन्छन्, ‘पेसागत असुरक्षा महसुस गर्दै डाक्टरहरू विदेश पलायन भए भने त्यसको प्रत्यक्ष असर बिरामीलाई नै पर्ने हुन्छ।’
आयोगले वीरगन्जका डाक्टरमाथि भएको कुटपिटको घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र अत्यावश्यक सेवा सुचारु गर्न आग्रह गरेको छ। त्यस्तै घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले सरकारलाई निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस !