ज्ञानको उज्यालो छर्ने गुरु

ज्ञानको उज्यालो छर्ने गुरु

गुरुले प्रदान गरेको ज्ञानरूपी ज्योतिको सम्मान गर्दै उहाँहरूको उपदेशलाई आफ्नै आचरणमा उतार्न सक्नु नै साँचो श्रद्घा हो। यसैमा हाम्रो जीवनको सार्थकता र गुरुपूर्णिमाको वास्तविक महत्व लुकेको हुन्छ।

वैदिक शास्त्रअनुसार गरिने उपनयन संस्कारमा गायत्री मन्त्र दान गर्ने गुरुको महत्त्व वर्तमानमा केही ओझेलमा परेको देखिए पनि, गायत्री मन्त्रको शक्ति बुझ्ने हो भने त्यस्ता गुरुको भूमिका अत्यन्त अहम् हुन्छ। गायत्री मन्त्रको नियमित जपले मानसिक शान्ति दिन्छ, एकाग्रता र आत्मविश्वास जगाउँछ। यसले सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै तनाव र भयबाट मुक्ति दिलाउँछ। पहिले ब्रह्मचर्य आ श्रममा उपनयन संस्कारपछि गुरुकुलमा 
रहेर पुराण र शास्त्रहरूको अध्ययन गरिन्थ्यो।

छात्र जीवनको सुरुवात त्यही समयबाट हुन्थ्यो। गुरुकुल शिक्षा प्रणालीमा गुरुको जति महत्त्व थियो, आज त्यो स्तरको सम्मान विरलै पाइन्छ। न त त्यस बेलाको जस्तो अनुशासन र अध्ययनप्रतिको तपस्या नै आज बाँकी छ। परिवर्तित समयले ल्याएका मूल्य र मान्यताका कारण पुरानो पद्धति असान्दर्भिक जस्तो देखिए तापनि, गुरुकुलको त्यो अनुशासन र आदर्श वर्तमान शिक्षा प्रणालीका लागि पनि उत्तिकै मार्गदर्शक हुन सक्छ।

यस वर्ष गुरुपूर्णिमा साउन १३ गते परेको छ। यस तिथिलाई ‘व्यास जयन्ती’ भनेर पनि मनाउने परम्परा छ। नारायणस्वरूप वेदव्यास मूल गुरु अथवा विश्वगुरु हुनुहुन्छ। उहाँको जन्मजयन्तीमा गुरुलाई नमन गर्दै श्रद्धाका साथ गुरुभक्ति प्रकट गर्ने परम्परा रहिआएको छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ। अर्थात्, गुरु नै त्यस्तो आदर्शवान् र ज्ञानले पूर्ण व्यक्ति हो, जसले अन्धकाररूपी अज्ञानताका साँघुरा गल्लीहरूबाट डोहोर्‍याएर उज्यालो वा चेतनाको फराकिलो सडकमा पुर्‍याउन सफल हुन्छ। त्यसैले गुरुपूजा गर्नु भनेको विद्या, विनय र अन्तज्र्ञानले युक्त व्यक्तिको आदर र सम्मान गर्नु हो; अनि उहाँका शिक्षा, उपदेश, मार्गदर्शन र गुणग्राही वचनको पालना गर्नु हो।

गुरुको अर्थ अत्यन्त विस्तृत छ। जन्म दिएर संसार देखाउने र चिनाउने बाबु–आमा, गायत्री मन्त्र दान गर्ने गुरु अनि शिक्षादीक्षा दिने शिक्षकहरू सबैलाई ‘गुरु’कै संज्ञा दिइन्छ। पहिलो गुरुका रूपमा बाबु–आमाको भूमिका सर्वाधिक महत्तपूर्ण हुन्छ। बाल्यावस्थाको अर्धचेतन मनमा गहिरो छाप छोड्न र चेतनाको विकास तथा विस्तार गर्न अभिभावक नै प्रथम पथप्रदर्शक हुन्। उनीहरूकै सही मर्म, दर्शन र दृष्टिकोणले जीवनमा सकारात्मक ऊर्जा प्रवाह गरेको हुन्छ।

वर्तमान सन्दर्भमा गुरु पूर्णिमाका दिन विद्यार्थीहरूले सम्झने, श्रद्धा र सम्मान गर्ने पात्र प्रायः विद्यालयका शिक्षक, प्राचार्य वा प्राध्यापकहरू नै हुन्। शिशु अवस्थामा अक्षरारम्भ गराउनेदेखि लिएर विषयगत ज्ञान दिँदै अनुसन्धान तहसम्मको शिक्षा विद्यालय र विश्वविद्यालयमै हुने हुँदा, त्यस्ता शिक्षकहरूको महत्त्व विद्यार्थीका लागि सर्वोपरि हुन्छ। उनीहरूको भविष्य तिनै शिक्षकहरूको शिक्षादीक्षा र मार्गदर्शनले कोरिएको हुन्छ।

विद्यार्थीको बुद्धिलाई तिखार्ने, प्रतिभालाई उजिल्याउने र दृष्टिलाई फराकिलो पार्ने काम शिक्षककै हो। तसर्थ, गुरु वा शिक्षकप्रति श्रद्धा र सम्मान प्रकट गर्नु आत्मोन्नति हो भने अनादर गर्नु आफूले आफैंलाई होच्याउनु हो। गुरु पूर्णिमा यो शाश्वत सत्यलाई आत्मसात् गर्ने दिन हो। वास्तवमा हाम्रो संस्कृतिमा गुरुलाई सर्वोच्च स्थानमा राखिएको छ। ‘गुरुगीता’मा गुरु नै ब्रह्मा, विष्णु र महेश्वर हुन् भनी यसरी वन्दना गरिएको छ :
गुरुब्रम्हा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।।

गुरुको स्थान जति उच्च छ, त्यति नै गुरुप्रति शिष्यको व्यवहार उदार, सहृदयी र स्नेही हुन आवश्यक छ। गुरु–शिष्यबीच हार्दिक सन्निकटता कायम हुनुपर्दछ। यस सम्बन्धमा इतिहासको एउटा घटना अविस्मरणीय छ। एकपटक स्वामी दयानन्द सरस्वतीका एक चेलाले धनको लोभमा परी, गुरु मस्त निद्रामा सुतेका बखत सिसा पिँधेर खुवाएछन्। त्यसको असरले मरणासन्न अवस्थामा पुगेर ब्युँझिएपछि दयानन्दले ती अविवेकी शिष्यलाई बोलाए।
अन्य शिष्यले थाहा पाएर उसमाथि भौतिक आक्रमण नगरून् भनी उनले आफ्नो सिरानीमुनि भएको सबै रुपैयाँ दिएर उक्त चेलालाई तुरुन्त भाग्न अह्राए। आफैंले रोपेको बिरुवा विष नै निस्किए पनि उखेल्नु हुन्न भन्ने दयानन्दको हृदयगत भावना यहाँ झल्किन्छ। कुनै पनि शिष्य, पुत्र वा पौत्रले बैगुनी मनसाय लिएर अशोभनीय काम गरे पनि, बैगुनीलाई गुणले जित्नुपर्ने महान् उदारता यहाँ दर्शाइएको छ।

गुरु पूर्णिमाको दिन महर्षि व्यासको पूजा तथा स्मरण गरिने परम्परा रहिआएको छ। व्यासलाई गुरुका पनि गुरुको शास्त्रीय मान्यता दिइएको छ। महाभारत युद्धलाई दरबारको बैठकमा नै बसेर देख्न सक्ने क्षमता (दिव्य दृष्टि) सञ्जयलाई प्रदान गरी अन्धा धृतराष्ट्रको इच्छा पूरा गरिदिएका हुँदा, उनलाई अलौकिक शक्तिका रूपमा परिभाषित गरिन्छ।

वेदव्यास द्वापरयुगमा पराशर महर्षि र मत्स्यगन्धा (पछि योजनगन्धा हुँदै सत्यवती भएकी) को कोखबाट जन्मिएका हुन्। जन्मँदा कालो वर्णको भएकाले ‘कृष्ण’ नाम राखिएको, द्वीपमा (टापु) जन्म भएको हुँदा ‘द्वैपायन’ भनिएको र पछि बद्रीनाथमा गएर धेरै वर्ष बसेका हुँदा उनलाई ‘बादरायण’ भनियो। पछि विद्वान् भएर ब्रह्माजीका मुखबाट उत्पन्न भएका ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदको विशेष अर्थ स्पष्ट बुझाएका हुँदा उनी ‘वेदव्यास’ को नामले प्रतिष्ठित भए। १८ पुराण र ‘महाभारत’का रचयिता यिनै व्यास हुन् भन्ने प्राचीन मान्यता छ।

वेद, उपनिषद् र १८ पुराणका रचयिता व्यासले झट्टै बुझ्न र बुझाउन सकिने सूत्रमा ‘परोपकारः पुण्याय पापाय परपीडनम्’ (परोपकार नै पुण्य हो, अरूलाई पीडा दिनु नै पाप हो) भन्ने महान् सन्देश दिए। तर अन्त्यमा, कालान्तरमा आफ्ना सकारात्मक सन्देश र भविष्यवाणीहरू कसैले सुन्दैनन् र पत्याउँदैनन् भन्ने आन्तरिक पीडालाई उनले महाभारतको स्वर्गारोहण पर्वमा हात माथि उठाएर यसरी पोखेका छन् :
ऊध्र्वबाहुर्वि रौम्येष न च कश्चिच्छृणोति मे।
धर्मार्थश्च कामश्च स किमर्थं न सेव्यते।।

जसको भावार्थ यस्तो छ– धर्मै गरे हुँदि हुन्छ अर्थकाम समुन्नति। बन्दैनौ किन ए मान्छे ! धर्मसेवा दृढव्रती ? आफैं हात उठाएर यो कराउँछु मै पनि, कोही हेर्दैन यो व्यास के–के भन्छ सुनौं भनी।

प्रकाण्ड विद्वान् व्यासले गरेको यो आत्मस्वीकृति अन्य विद्वान् कहलिएका व्यक्तिहरूका लागि गतिलो पाठ हो। अन्त्यमा, महर्षि व्यासप्रति नमन गर्दै गुरुको गुरुत्वलाई उजिल्याउने गुरु पूर्णिमाको यस पावन दिनमा, गुरुको सान्निध्य प्राप्त गरेर उहाँको आशीर्वादबाट सिञ्चित हुन दृढ संकल्पित होऔं।

निष्कर्षमा भन्नुपर्दा, गुरुपूर्णिमा केवल एक दिनको औपचारिकतामात्र होइन, यो त जीवनलाई उज्यालो मार्गमा डोहोर्‍याउने सम्पूर्ण गुरुहरूप्रतिको शाश्वत कृतज्ञता हो। मातापितादेखि अक्षरारम्भ गराउने शिक्षक र जीवनको सत्य बुझाउने सद्गुरुसम्मको भूमिका हाम्रो जीवनमा अत्यन्तै अहम् हुन्छ। महर्षि व्यासले दिएको परोपकार र धर्मको सन्देश आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ। तसर्थ, गुरुले प्रदान गरेको ज्ञानरूपी ज्योतिको सम्मान गर्दै उहाँहरूको उपदेशलाई आफ्नै आचरणमा उतार्न सक्नु नै साँचो श्रद्धा हो। यसैमा हाम्रो जीवनको सार्थकता र गुरु पूर्णिमाको वास्तविक महत्त्व लुकेको हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.