देवानगन्ज घटनापछि सीमामा परिचयपत्र अनिवार्य, ‘हाइ अलर्ट’ मा सुरक्षा निकाय

देवानगन्ज घटनापछि सीमामा परिचयपत्र अनिवार्य, ‘हाइ अलर्ट’ मा सुरक्षा निकाय
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनापछि कोशी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाका सबै प्रमुख नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।  सम्भावित घुसपैठ, धार्मिक संगठनको आवरणमा नेपाल प्रवेश गर्ने समूह,हातहतियार तथा लागुऔषधको अवैध ओसारपसार रोक्न सुरक्षा निकायमार्फत सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको हो । 

सुरक्षा निकायका अनुसार अब भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र (आईडी कार्ड) देखाउनुपर्नेछ । वैध परिचयपत्र भएका व्यक्तिलाई मात्रै नेपाल प्रवेश गर्न दिइने व्यवस्था लागू गरिएको छ ।

देवानगन्ज घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति व्यवस्थाका बारेमा समीक्षा गर्न कोशी प्रदेश सरकारले बुधबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सर्वपक्षीय बैठक आयोजना गरेको थियो । बैठकमा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमा क्षेत्रमा सुरक्षा सतर्कता उल्लेखनीय रूपमा बढाइएको जानकारी दिए ।

उनका अनुसार घटनाको आडमा बाह्य तत्वको घुसपैठ,अवैध हातहतियारको कारोबार तथा लागुऔषध तस्करी बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सीमा नाकामा अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरिएको छ । ‘सुनसरीमा मधेश प्रदेशबाट समेत थप प्रहरी खटाइएको छ । कोशी प्रदेशका पहाडी तथा अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी झिकाएर सुनसरीमा परिचालन गरिएको छ,’उनले भने । 

बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले धार्मिक संघ संगठनको नाममा केही समूह भारतबाट नेपाल प्रवेश गर्न सक्ने सूचना प्राप्त भएकाले मोरङका सीमा नाकामा निगरानी थप कडा बनाइएको बताए । उनले आईडी कार्डबिना नेपाल प्रवेश गर्न नदिइने र शंकास्पद गतिविधिमाथि विशेष निगरानी राखिएको स्पष्ट पारे ।‘देवानगन्ज घटनापछि सीमा क्षेत्रमा सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन् । परिचयपत्र नभएका व्यक्तिलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ,’प्रजिअ कटेलले भने । 

गत आइतबार राति सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा गोली लागेर नौ जना घाइते भएका थिए भने सुरक्षाकर्मीसहित घाइतेको संख्या २२ भन्दा बढी पुगेको छ । 

घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन,आगजनी,तोडफोड,आक्रमण,लुटपाट तथा सवारीसाधन सञ्चालनमा अवरोधका घटना भएका छन् । त्यसपछि प्रशासन र सुरक्षा निकायले सुनसरीसहित सीमा क्षेत्र र संवेदनशील स्थानमा सुरक्षा व्यवस्था थप मजबुत बनाएका छन् । 

सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दल,प्रशासन, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिले शान्ति,सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन, अफवाह नफैलाउन तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.