हरिनगरामा प्रहरीको गाडीमाथि ढुंगामुढा
विराटनगर : सुनसरीको हरिनगरामा बुधबार दिउँसो नेपाल प्रहरीको गाडीमाथि ढुंगामुढा भएपछि केहीबेर अवस्था तनावपूर्ण बनेको छ । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको गोलीकाण्डको विरोधमा उत्रिएको समूहले सुरक्षाकर्मी चढेको गाडीलाई निशाना बनाएर आक्रमण गरेको हो ।
ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख,इन्स्पेक्टर प्रकाश पराजुलीले प्रयोग गरिरहेको गाडीको अगाडिको सिसा फुटेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हरिनगराको ना १ झ ८७४ नम्बरको गाडीमा आक्रमण भएको हो ।
ढुंगाले लागेर गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने सिसा परिवर्तन नगरी गाडी सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार कप्तानगन्ज गोलीकाण्डको विरोधका क्रममा दुई समूहबीच तनाव बढ्न सक्ने सूचना पाएपछि इन्स्पेक्टर पराजुलीको नेतृत्वमा टोली हरिनगरा बजार पुगेको थियो ।
बजारमा भेला भएका व्यक्तिलाई सम्झाइबुझाइ गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेका बेला एक्कासि प्रहरीको गाडीमाथि ढुंगामुढा गरिएको खड्काले बताए । आक्रमणमा गाडीमा क्षति पुगे पनि कुनै सुरक्षाकर्मी घाइते भएका छैनन् । डीएसपी खड्काका अनुसार ढुंगामुढा गर्ने समूह घटनालगत्तै फरार भएको छ । आक्रमणमा संलग्नको खोजी तीव्र पारेर घटनाको थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
कप्तानगन्जमा गत आइतबार दुई पक्षबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनामा गोली लागेर नौ जना युवा घाइते भएका थिए भने सुरक्षाकर्मी पनि घाइते भएका थिए । गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानमा दुई समूहबीच दोहोरो झडप, आगजनी, तोडफोड, आक्रमण तथा लुटपाटका घटना भएका छन् । सम्भावित थप हिंसा रोक्न प्रशासनले जिल्लाका १० वटा स्थानीय तहमा कफ्र्यु आदेश जारी गरेको छ । बुधबारदेखि भने अवस्था क्रमशः मत्थर बन्दै गएको प्रहरी प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !