सुनसरी घटना : ओमप्रकाशको शव अस्पतालमै, माग पूरा नभएसम्म नबुझ्ने परिवारको अडान

सुनसरी घटना : ओमप्रकाशको शव अस्पतालमै, माग पूरा नभएसम्म नबुझ्ने परिवारको अडान
सुन्नुहोस्

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका २५ वर्षीय ओमप्रकाश मेहताको शव अस्पतालमै रहेको छ। शवलाई तीन दिनदेखि विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको हो। 

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार पीडित परिवारले आफ्ना माग सम्बोधन नभएसम्म नबुझ्ने अडान कायम राखेकाले हालसम्म शवको पोस्टमार्टमसमेत हुन सकेको छैन। देवानगन्ज गाउँपालिका-४ का बासिन्दा रहेका ओमप्रकाशको बायाँ काखीमा गोली लागेको अस्पतालले जनाएको छ। गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल ल्याइए पनि चिकित्सकले राति करिब १०:४० बजे मृत घोषणा गरेका थिए। उनी अविवाहित थिए।

परिवारले ओमप्रकाशलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग राख्दै ती माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएको छ। देवानगन्ज-४ का वडाध्यक्ष सुशीलकुमार मेहताका अनुसार बुधबारदेखि गाउँको अवस्था विस्तारै सामान्य बन्दै गए पनि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिप्रति स्थानीयमा विश्वासको वातावरण बन्न सकेको छैन। प्रभावकारी र निष्पक्ष अनुसन्धानबाट पीडितले न्याय पाउनेमा स्थानीयले आशंका व्यक्त गरिरहेको उनले बताए। 

वडाध्यक्ष मेहताले घरेलु हातहतियार बोकेर समाजमा खुलेआम त्रास फैलाउने गतिविधि रोक्न सरकारसँग माग गरेका छन्। उनका अनुसार मृतकको परिवारले घरमै प्लास्टिकको बोरा उत्पादन गर्ने सानो फ्याक्ट्री सञ्चालन गर्दै आएको थियो। जसबाट परिवारको गुजारा चल्थ्यो। आर्थिक अवस्था मध्यम रहेको परिवारको करिब १० कट्ठा जग्गा रहेको उनले बताए। घरमा बुवा, आमा र भाइ रहेको वडाध्यक्ष मेहताको भनाइ छ। उनका अनुसार दिदीको विवाह भइसकेको छ भने विवाहित भाइ मनोज मेहता रोजगारीका लागि मलेसियामा थिए। घटनाको जानकारी पाएपछि उनी मंगलबार नेपाल फर्किएको जानकारी उनले दिए। 

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले पीडित परिवारसँग निरन्तर वार्ता भइरहेको बताए। उनका अनुसार सहमति भएपछि पोस्टमार्टम प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाउने तयारी छ। परिवारले आफ्ना माग पूरा नभएसम्म शव ग्रहण नगर्ने अडान राखेकाले कानुनी प्रक्रिया अघि बढ्न नसकेको उनले स्पष्ट पारे। 

यता गृह मन्त्रालयले गठन गरेको भूपेन्द्र थापाको संयोजकत्वमा रहेको उच्चस्तरीय छानबिन समितिले बुधबार मृतकका आफन्तसँग भेट गरी घटनाको पृष्ठभूमि, घटनाक्रम तथा त्यसबेला सुरक्षा निकायले खेलेको भूमिकाका बारेमा जानकारी लिएको छ। समितिले परिवारका गुनासा, माग र सुझावसमेत संकलन गरेको छ। समितिले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै विराटनगरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ। प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा तथा अन्य सरोकारवाला पक्षसँग पनि छलफल गरी घटनासम्बन्धी तथ्य र प्रमाण संकलन गर्ने काम जारी राखेको छ। 

आइतबार राति दुई समुदायबीच भएको झडपमा मानवीय क्षति भएपछि गृह मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन उक्त उच्चस्तरीय समिति गठन गरेको हो। समितिलाई घटनासँग सम्बन्धित तथ्य, प्रमाण र सरोकारवालाबाट प्राप्त विवरणका आधारमा विस्तृत प्रतिवेदन तयार गरी एक साताभित्र गृह मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ। सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिने तथा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आवश्यक सबै कदम चालिने प्रतिबद्धता जनाएको छ।

गत आइतबार राति कप्तानगन्जमा भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ओमप्रकाशको मृत्यु भएको थियो। सोही घटनामा गोली लागेर अन्य नौ जना युवा घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा दुई पक्षबीच झडप, आक्रमण, आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन् । राजमार्गमा सवारीसाधन सञ्चालनसमेत प्रभावित बनेको छ। सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० वटा स्थानीय तहमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.