उच्च शिक्षा सुधारको प्रस्थानविन्दु

अग्रमत

उच्च शिक्षा सुधारको प्रस्थानविन्दु
सुन्नुहोस्

प्रमाणपत्रको संख्याले होइन, तयार भएका नागरिकको चेतना, क्षमता र नैतिकताले यसको सफलता मापन हुन्छ ।

नेपालमा उच्च शिक्षा सुधारको बहस नयाँ होइन। विश्वविद्यालयको अवस्था बिग्रियो भन्ने चिन्ता पनि नयाँ होइन। समय—समयमा उपकुलपति नियुक्तिको मापदण्ड, राजनीतिक हस्तक्षेप, अपर्याप्त बजेट, कमजोर भौतिक पूर्वाधार, विद्यार्थी पलायन र शैक्षिक पात्रोको अनिश्चिततामाथि बहस भइरहन्छ। विश्वविद्यालय सुधारका नाममा आयोग बन्छन्, प्रतिवेदन तयार हुन्छन्, कार्यदल गठन गरिन्छन् र पदाधिकारी परिवर्तन गरिन्छन्। तर विश्वविद्यालयको वास्तविक जीवन जहाँ धडकनुपर्ने हो, सुधारको बहस त्यहाँ विरलै पुग्छ। गम्भीर प्रश्न यही हो कि उच्च शिक्षा सुधारको वास्तविक सुरुवात कहाँबाट हुनुपर्छ ? 

यो प्रश्न जति पेचिलो देखिन्छ, यसको उत्तर त्यति नै सोझो र स्पष्ट छ। उच्च शिक्षा सुधारको प्रारम्भ विश्वविद्यालयका विभागहरूबाटै हुनुपर्छ। विश्वविद्यालयको प्रारम्भविन्दु र वि श्रामविन्दु दुवै विभागहरू नै हुन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयले नीति बनाउन सक्छ, बजेट बाँड्न सक्छ र प्रशासनिक निर्णय गर्न सक्छ। तर ज्ञान उत्पादन गर्ने, विद्यार्थीलाई प्रश्न गर्न सिकाउने, अनुसन्धानको संस्कार बसाल्ने र समाजका लागि आवश्यक जनशक्ति निर्माण गर्ने प्राथमिक जिम्मेवारी विभागकै हो। जर्मन शिक्षाशास्त्री विल्हेल्म भोन हम्बोल्टले परिकल्पना गरेको आधुनिक विश्वविद्यालयमा शिक्षण र अनुसन्धानलाई एकअर्काबाट अलग गर्न नसकिने बौद्धिक कर्मका रूपमा हेरिएको छ। 

विद्यार्थीलाई पहिले नै तयार पारिएको ज्ञान हस्तान्तरण गर्नु मात्र विश्वविद्यालयको दायित्व होइन। नयाँ प्रश्न उठाउनु, स्थापित ज्ञानलाई परीक्षण गर्नु र अनुसन्धानमार्फत नयाँ ज्ञान सिर्जना गर्नु यसको आधारभूत काम हो। यस अर्थमा विभाग विश्वविद्यालयको कुनै सामान्य प्रशासनिक शाखा होइन। त्यो शिक्षण, अनुसन्धान, बहस र ज्ञान निर्माणको संगमस्थल हो।

विद्यार्थीले कुन समाजका लागि, कस्तो ज्ञान र किन आर्जन गरिरहेको छ भन्ने प्रश्नको उत्तार विभागको प्राज्ञिक वातावरणले दिनुपर्छ। ज्ञानको सिर्जना, रूपान्तरण र पुस्तान्तरणको प्राथमिक थलो विभाग नै हो।

विभाग केवल कक्षा सञ्चालन गर्ने, परीक्षाको रुटिन टाँस्ने, उत्तरपुस्तिका जाँच्ने वा शोधप्रबन्धको मौखिक परीक्षा गराउने प्राविधिक एकाइ होइन। त्यहाँ शिक्षण र प्रशिक्षणमात्र दिइँदैन। 

उत्पादित जनशक्तिको विचार, लक्ष्य, योजना, क्षमता र सम्भावनाबारे दृष्टि निर्माण गरिन्छ। विद्यार्थीले कुन समाजका लागि, कस्तो ज्ञान र किन आर्जन गरिरहेको छ भन्ने प्रश्नको उत्तर विभागको प्राज्ञिक वातावरणले दिनुपर्छ। ज्ञानको सिर्जना, रूपान्तरण र पुस्तान्तरणको प्राथमिक थलो विभाग नै हो। तर मूल प्रश्न के हो भने, के नेपालका विश्वविद्यालयका विभागमा यस प्रकारको गम्भीर प्राज्ञिक अभ्यास भइरहेको छ ?

 यसको उत्तर त्यति उत्साहजनक छैन। केही विभाग, केही प्राध्यापक र केही अनुसन्धानकर्ताले व्यक्तिगत वा सामूहिक रूपमा प्रशंसनीय काम गरिरहेका छन्। सीमित स्रोत, संस्थागत असहयोग र प्रतिकूल वातावरणका बीच पनि इमानदार प्राज्ञिक कर्ममा लागेका व्यक्तिहरू अवश्य छन्। तिनको योगदानलाई अस्वीकार गर्नु अन्याय हुनेछ। तर समग्र प्रणालीको चरित्र हेर्दा यस्ता अभ्यास अपवादजस्ता देखिन्छन्। जुन काम विश्वविद्यालयको नियमित संस्कृति हुनुपर्ने हो, त्यही काम केही व्यक्तिको असाधारण त्याग र निजी प्रतिबद्धतामा निर्भर छ। उसो भए थप प्रश्न उठ्छः हाम्रा विश्वविद्यालयका विभागहरूमा वास्तवमा के भइरहेको छ ? 

सबैभन्दा पहिले, धेरैको मानसिकता र कार्यशैलीमा ‘प्राध्यापक’ केवल परम्परागत ‘अध्यापक’को सीमाभित्र कैद छ। अध्यापन आफैंमा सानो कर्म होइन। तर विश्वविद्यालयको प्राध्यापक हुनुको अर्थ कक्षामा गएर पाठ्यक्रम सक्नु र परीक्षाका लागि नोट उपलब्ध गराउनुमात्र होइन। प्राध्यापक निरन्तर अध्ययन गर्ने, अनुसन्धान गर्ने, आफ्नै ज्ञानमाथि प्रश्न उठाउने र विद्यार्थीलाई बौद्धिक रूपमा स्वतन्त्र बन्न सहयोग गर्ने व्यक्तित्वको हुनुपर्छ।

ब्राजिलियन शिक्षाशास्त्री पाउलो फ्रेरेले आफ्नो चर्चित पुस्तक ‘पेडागोजी अफ द ओप्रेस्ड’ मा शिक्षाको ‘बैंकिङ अवधारणा’ को बारेमा प्रस्ट पारेका छन्। जसअनुसार शिक्षकले आफूलाई ज्ञानको सर्वज्ञ भण्डार ठान्छ र विद्यार्थीलाई खाली भाँडो सम्झन्छ। 

शिक्षकले बोलिरहने, विद्यार्थीले चुपचाप टिपिरहने र परीक्षामा त्यही कुरा पुनरुत्पादन गर्ने अभ्यासलाई शिक्षा मानिन्छ। हाम्रा धेरै विभाग आज यही जडसूत्रीय बुझाइका शिकार छन्। प्राध्यापकले वर्षौंअघि तयार पारेको पुरानो नोट बोकेर कक्षामा प्रवेश गर्छ। 

बदलिएको समाज, नयाँ अनुसन्धान, प्रविधिले ल्याएको परिवर्तन र ज्ञानका विकसित बहसबारे उसलाई थोरैमात्र चासो हुन्छ। विगतमा कनिकुथि खारेको ज्ञान विद्यार्थीको दिमागमा विसर्जन गर्नु नै आफ्नो जिम्मेवारी हो भन्ने मानसिकताले प्राज्ञिक जगतलाई गाँजेको छ। जहाँ ज्ञानको नवीकरण र नवप्रवर्तन हुनुपर्ने हो, त्यहाँ सूचनाको यान्त्रिक पुनरावृत्ति भइरहेको छ। त्यसैले पाउलो फ्रेरेको कठोर आलोचना हाम्रा लागि मार्गदर्शन, नियति र दैनन्दिनी हुनु पर्नेछ।

जहाँ विद्यार्थीलाई प्रश्न गर्न प्रोत्साहित गर्नुको सट्टा प्रश्नलाई अनुशासनहीनता ठानिन्छ। आलोचना गर्नेलाई जिज्ञासु विद्यार्थी होइन, अप्ठ्यारो पात्रका रूपमा हेरिन्छ। कक्षाकोठामा संवादभन्दा एकोहोरो प्रवचन हावी हुन्छ र विद्यार्थीले पाठ्यक्रमबाहिरको पुस्तक पढ्यो, प्राध्यापकको तर्कमाथि प्रश्न उठायो वा फरक दृष्टिकोण राख्यो भने त्यसलाई प्राज्ञिक उपलब्धि होइन, व्यक्तिगत चुनौतीका रूपमा बुझ्ने प्रवृत्ति छ। समस्याको केन्द्र त्यहीँ छ।

यस्तो वातावरणमा विद्यार्थीले आफ्नो बौद्धिक जिज्ञासा विस्तार गर्न सक्दैन। उसले सुरक्षित उत्तर दिन, स्थापित व्यक्तिको विचार नदोहो¥याई नहुने र शक्ति भएका व्यक्तिलाई असन्तुष्ट नबनाउने जडसूत्र सिक्छ। ज्ञानले उसलाई स्वतन्त्र बनाउनुको सट्टा आज्ञाकारी बन्न अभिप्रेरित गर्द। विश्वविद्यालय आलोचनात्मक नागरिक उत्पादन गर्ने संस्थाभन्दा प्रमाणपत्र वितरण गर्ने कारखानामा रूपान्तरित हुन्छ।

प्राज्ञिक शून्यताको अर्को परिणाम विभागमा देखिने शक्ति संघर्ष हो। विचार र विमर्शका केन्द्र बन्नुपर्ने विभाग व्यक्तिगत अहंकार, प्रतिशोध र शक्ति प्रदर्शनका अखडा बन्ने गरेका छन्। फ्रान्सेली समाजशास्त्री पिएरे बोर्डियोले आफ्नो कृति ‘होमो एकाडेमिकस’ मा प्राज्ञिक क्षेत्रभित्र बौद्धिक प्रतिष्ठा, संस्थागत अधिकार र सामाजिक शक्तिका लागि चल्ने संघर्षको सूक्ष्म विश्लेषण गरेका छन्। नेपाली विश्वविद्यालयका धेरै विभाग बोर्डियोले चित्रण गरेजस्तै शक्ति संघर्षका जीवन्त तर विद्रुप प्रयोगशाला बनेका छन्।

कसले विभागीय नेतृत्व पाउने, कसको नाम कुन समितिमा पर्ने, कसले शोध निर्देशन गर्ने, कसलाई विदेश भ्रमण वा परियोजनाको अवसर प्राप्त हुने र कसको प्रभाव नियुक्ति वा बढुवामा चल्ने भन्ने विषयले प्राज्ञिक प्राथमिकतालाई विस्थापित गरेका छन्। विभागको बैठकमा पाठ्यक्रमको गुणस्तर, अनुसन्धानको दिशा वा विद्यार्थीको सिकाइबारे कम बहस हुन्छ। व्यक्तिगत प्रगति, रिस, डाहा, भागबन्डा र शक्ति सन्तुलनका विषयमा बढी ऊर्जा खर्च हुन्छ। विचारको मन्थन हुनुपर्ने ठाउँमा ‘डम्फु डबली’ निर्माण गरिएको छ। यसको अर्थ आफ्ना अन्धसमर्थकहरूको सानो घेरा बनाउने, उनीहरूबाट निरन्तर प्रशंसा सुन्ने र आफैंले तय गरेको साँघुरो लयमा सबैलाई नचाउने दुष्प्रयास हो। यस्तो घेरामा तथ्यभन्दा निष्ठा खोजिन्छ, क्षमताभन्दा निकटता हेरिन्छ र आलोचनात्मक चेतनाभन्दा चाटुकारितालाई पुरस्कृत गरिन्छ।

प्राज्ञिक कर्म, कठोर अनुसन्धान र नवीन ज्ञान उत्पादनबाट स्वाभाविक रूपमा आर्जन हुनुपर्ने सम्मान प्राप्त गर्न नसकेपछि कृत्रिम सम्मानको भोक बढ्छ। पद, समिति, पहुँच र गुटको सहारामा आफूलाई महत्वपूर्ण प्रमाणित गर्ने लालसा देखिन्छ। आफूलाई समर्थन गर्ने केही व्यक्तिलाई अवसर र संरक्षण दिने तथा प्रश्न गर्ने वा आलोचनात्मक चेतना भएका धेरैलाई दूरीमा राख्ने व्यवहार नै ‘व्यावसायिकता’ का रूपमा स्थापित हुन थालेको छ। यसले विभागभित्र भय र मौनताको संस्कृति निर्माण गर्छ। कनिष्ठ प्राध्यापक वरिष्ठसँग असहमत हुन डराउँछ। करारमा कार्यरत शिक्षक स्थायी प्राध्यापकको गलत व्यवहार देखेर पनि बोल्न सक्दैन। विद्यार्थी आफ्नो मूल्यांकन प्रभावित हुने डरले प्रश्न दबाउँछ। शोधार्थी आफ्नो अनुसन्धानभन्दा निर्देशकको मनोविज्ञान बुझ्न बाध्य हुन्छ। यसरी विश्वविद्यालयमा सत्य बोल्ने व्यक्तिले जोखिम बेहोर्छ, तर मौन रहने वा शक्तिको प्रशंसा गर्नेले अवसर प्राप्त गर्छ।

दार्शनिक मिसेल फुकोको ‘ज्ञान र शक्ति’सम्बन्धी विचारलाई आधार मान्ने हो भने संस्थागत शक्ति नियन्त्रण गर्ने व्यक्तिले सत्य र ज्ञानको मानकसमेत तय गर्न खोज्छ। हाम्रा विभागहरूमा पनि यसको विकृत अभ्यास देखिन्छ। फरक विचारलाई स्वीकार नगर्ने र असहमतिलाई दबाउन खोज्ने एक प्रकारको ‘स्वयं निर्देशित नैतिक योजना’ ले विभागहरूलाई थिचिरहेको छ। आफूले विश्वास गरेको विचार नै अन्तिम सत्य हो र त्यसमा प्रश्न गर्ने व्यक्ति नैतिक, प्राज्ञिक वा व्यक्तिगत रूपमा शंकास्पद हुन् भन्ने मनोविज्ञान विकसित भएको छ।

तर विश्वविद्यालयको चरित्र नै असहमति हो। सबैले एउटै कुरा बोल्ने ठाउँ विश्वविद्यालय होइन। स्थापित ज्ञानमाथि प्रश्न उठाउनु, नयाँ प्रमाणका आधारमा पुरानो निष्कर्ष संशोधन गर्नु र परस्पर विरोधी विचारबीच तर्कपूर्ण संवाद गराउनु नै विश्वविद्यालयको प्राण हो। असहमति नभएको विभाग शान्त देखिन सक्छ, तर त्यो जीवित हुँदैन। त्यहाँको शान्ति प्राज्ञिक परिपक्वताको होइन, दबाइएको प्रश्न र संस्थागत भयको परिणाम हुन सक्छ।

यी विकृति र विचलनको चित्रण गरिरहँदा विगत करिब १५ वर्षदेखि भारत र नेपालका विभिन्न विश्वविद्यालयमा निरन्तर काम गर्दाका अनुभवको साक्षी म आफैं पनि हुँ। यो आलेख लेख्दा म आफूलाई ‘पानीमाथिको ओभानो’ बनाउन वा अरूलाई मात्र उपदेश दिन खोजिरहेको छैन। म पनि यही प्रणाली र संरचनाको हिस्सा हुँ। त्यसैले यसका कमजोरीबाट म पूर्णतः मुक्त छु भन्नु आत्मप्रवञ्चना हुनेछ।

मैले पनि कतिपय अवस्थामा बोल्नुपर्ने ठाउँमा मौनता रोजेको हुन सक्छु। मैले पनि संस्थागत सुविधाका लागि सम्झौता गरेको, आफ्ना पूर्वधारणालाई सत्य मानेको वा आफ्ना कमजोरीलाई संरचनाको दोषले ढाकेको हुन सक्छु। हामीमध्ये धेरैले आफूले प्राप्त गरेको पद, प्रतिष्ठा र पहुँचलाई प्राज्ञिक क्षमताको निर्विवाद प्रमाण मानेका हुन सक्छौं। त्यसैले यो आलेख अरूमाथिको अभियोगपत्र मात्र होइन। यो आफूसहित सम्पूर्ण प्राज्ञिक समुदायलाई गरिएको निर्मम प्रश्न हो।

जब व्यक्ति आत्मसमीक्षाबाट भाग्छ, उसले अरूलाई दोष दिएर आफूलाई चोख्याउँछ। जब संस्था आत्मसमीक्षाबाट भाग्छ, उसले सुधारका नाममा नयाँ नियम, नयाँ पद र नयाँ संरचना थप्छ। तर पुरानै मानसिकता बोकेका व्यक्तिले नयाँ संरचना सञ्चालन गरे भने परिणाम पनि पुरानै आउँछ। भवन नयाँ हुन सक्छ, कक्षाकोठामा प्रविधि थपिन सक्छ र पाठ्यक्रमको आवरण परिवर्तन हुन सक्छ। तर प्राध्यापकको ज्ञान, व्यवहार र नैतिकतामा परिवर्तन नआए सुधार देखावटी मात्र हुन्छ।

जर्मन दार्शनिक युर्गेन हाबरमासले लोकतान्त्रिक र खुला बहसका लागि ‘सञ्चारकीय क्रिया’ को महत्व औंल्याएका छन्। उनको ‘आदर्श वाक स्थिति’ को अवधारणा हाम्रा विभागमा तत्काल आवश्यक छ। यस्तो वातावरणमा कसले बोल्यो भन्नेभन्दा के बोल्यो भन्ने महत्वपूर्ण हुन्छ। पदीय हैसियत, उमेर, राजनीतिक पहुँच वा संस्थागत शक्तिको दम्भबिना तर्क, तथ्य र प्रमाणका आधारमा विमर्श हुनुपर्छ।

विभागीय बैठक औपचारिक निर्णय अनुमोदन गर्ने कर्मकाण्डमात्र हुनु हुँदैन। त्यो विगतका कामको समीक्षा, असफलताको स्वीकार, आगामी योजनाको निर्माण र फरक धारणा सुन्ने खुला मञ्च बन्नुपर्छ। प्राध्यापकका कामको मूल्यांकन उसले कति वर्ष सेवा ग¥यो भन्ने आधारमा मात्र होइन, उसले के पढ्यो, के पढायो, के अनुसन्धान ग¥यो, कस्तो ज्ञान उत्पादन ग¥यो र विद्यार्थीको बौद्धिक विकासमा कस्तो योगदान दियो भन्ने आधारमा हुनुपर्छ।

अबको बाटो के हो त ? 

सुधारको पहिलो काम विभागभित्र प्राज्ञिक जवाफदेहिताको स्थापना हो। प्रत्येक विभागले आफ्नो पाठ्यक्रम, शिक्षण पद्धति, अनुसन्धान, प्रकाशन, विद्यार्थी उपलब्धि र सामाजिक योगदानको नियमित समीक्षा गर्नुपर्छ। समीक्षा केवल कागजी प्रतिवेदनका लागि नभई कमजोरी पहिचान गरेर सुधार गर्ने प्रयोजनका लागि हुनुपर्छ। बाह्य विज्ञ, पूर्वविद्यार्थी, वर्तमान विद्यार्थी र सम्बन्धित क्षेत्रका प्रतिनिधिको प्रतिक्रिया सुन्ने प्रणाली बनाउनुपर्छ।

दोस्रो, प्राध्यापकले आफूलाई ‘अध्यापक’ को सीमित घेराबाट बाहिर निकाल्नुपर्छ। नियमित अध्ययन, अनुसन्धान र प्रकाशन उसको अतिरिक्त काम होइन, मूल जिम्मेवारी हो। पुरानो नोट र उही व्याख्याले दशकौंसम्म विश्वविद्यालय चलाउन खोज्नु विद्यार्थीको भविष्यमाथिको अन्याय हो। प्राध्यापक आफू पनि विद्यार्थी रहिरहनुपर्छ। जसले सिक्न छोड्छ, उसले प्रभावकारी रूपमा सिकाउन पनि छोड्छ।

तेस्रो, विद्यार्थीलाई प्राध्यापकको अनुयायी होइन, ज्ञान निर्माणको सहयात्री मान्नुपर्छ। उसलाई प्रश्न गर्न, असहमत हुन, प्रमाण खोज्न र स्थापित निष्कर्षलाई परीक्षण गर्न प्रोत्साहित गर्नुपर्छ। विद्यार्थीको आलोचनाले प्राध्यापकको प्रतिष्ठा घटाउँदैन। बरु, त्यसले प्राज्ञिक समुदायलाई जीवन्त बनाउँछ।

पुरानै मानसिकता बोकेका व्यक्तिले नयाँ संरचना सञ्चालन गरे भने परिणाम पनि पुरानै आउँछ। भवन नयाँ हुन सक्छ, कक्षाकोठामा प्रविधि थपिन सक्छ र पाठ्यक्रमको आवरण परिवर्तन हुन सक्छ। तर, प्राध्यापकको ज्ञान, व्यवहार र नैतिकतामा परिवर्तन नआए सुधार देखावटी मात्र हुन्छ।

चौथो, विभागलाई गुटबन्दी, भागबन्डा र ‘डम्फु डबली’को संस्कृतिबाट मुक्त गर्नुपर्छ। अवसर वितरणमा पारदर्शिता, नेतृत्वमा आलोपालो, निर्णयमा सहभागिता र मूल्यांकनमा स्पष्ट मापदण्ड आवश्यक छन्। व्यक्तिको निकटता वा राजनीतिक आबद्धताभन्दा योग्यता, श्रम र प्राज्ञिक निष्ठालाई प्राथमिकता नदिएसम्म विश्वविद्यालयमा प्रतिभा टिक्दैन।

अन्ततः, उच्च शिक्षा सुधार कुनै एक उपकुलपति, मन्त्री, नीति वा आयोगले सम्पन्न गर्ने परियोजना होइन। यो प्रत्येक विभाग र प्रत्येक प्राध्यापकको दैनिक व्यवहारसँग जोडिएको नैतिक तथा प्राज्ञिक अभियान हो। केन्द्रीय प्रशासन सुध्रिनुपर्छ, राजनीतिक हस्तक्षेप रोकिनुपर्छ, पर्याप्त बजेट उपलब्ध हुनुपर्छ र भौतिक पूर्वाधार निर्माण हुनुपर्छ। तर यी सबै आवश्यक सर्त हुन्, पर्याप्त सर्त होइनन्।

नीतिगत तहका अमूर्त गफगाफ, प्रशासनिक पुनर्संरचना वा भौतिक संरचनाको रंगरोगनले मात्र विश्वविद्यालय सुध्रिदैन। विभागभित्र नियमित कक्षा हुँदैन, नयाँ अनुसन्धान हुँदैन, आलोचनात्मक बहस हुँदैन र योग्य व्यक्तिले सम्मान पाउँदैन भने विश्वविद्यालयको मूल चरित्र परिवर्तन हुँदैन। विश्वविद्यालय भवनले होइन, विचारले विश्वविद्यालय बन्छ। पदाधिकारीले होइन, प्राज्ञिक संस्कृतिले यसको प्रतिष्ठा निर्धारण गर्छ। प्रमाणपत्रको संख्याले होइन, तयार भएका नागरिकको चेतना, क्षमता र नैतिकताले यसको सफलता मापन हुन्छ।

जब प्राध्यापकले आफ्नै अहँकारमाथि प्रश्न गर्न थाल्छ, जब विभागले आफ्नै असफलता स्वीकार गर्न सक्छ, जब विद्यार्थीको असहमति दण्डित नभई सम्मानित हुन्छ र जब पदभन्दा ज्ञानको शक्ति ठूलो मानिन्छ, तबमात्र सुधारको वास्तविक यात्रा सुरु हुन्छ। त्यसैले उच्च शिक्षा सुधारको पहिलो ढोका कुनै मन्त्रालय, आयोग वा उपकुलपतिको कार्यालयमा छैन। त्यो ढोका विश्वविद्यालयका विभागमा छ। त्यसको साँचो पनि हामी प्राध्यापकहरूकै हातमा छ। प्रश्न यत्ति हो, हामी त्यो ढोका खोल्न तयार छौं कि अझै केही समय आफ्नै ‘डम्फु डबली’भित्र आत्मप्रशंसाको लयमा रमाइरहन्छौं ? यो निर्मम प्रश्नबाट भाग्ने छुट अब मलगायत प्राज्ञिक क्षेत्रमा क्रियाशील कसैलाई पनि छैन।

(डा. दाहाल काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्मा सहप्राध्यापक छन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.