बडी बिल्डर्सहरुको किन कम उमेरमा भइरहेको छ मृत्यु ?

बडी बिल्डर्सहरुको किन कम उमेरमा भइरहेको छ मृत्यु ?

ब्राजिल : यस महिनाको सुरुआतमा मेलसन अराउजोले जिममा खिचिएको आफ्नो एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनी यस्ता तस्बिरहरू नियमित रूपमा पोस्ट गर्ने गर्थे । उक्त तस्बिरमा उनले आफ्नो आकर्षक शरीर प्रदर्शन गरेका थिए, जसले उनलाई एक व्यावसायिक बडीबिल्डर तथा हजारौं फलोअर भएका फिटनेस इन्फ्लुएन्सरका रूपमा परिचित बनाएको थियो ।

रातो बनियान लगाएका अराउजोका मांसल हातहरू कुनै सुपरहिरोका हात जस्तै देखिन्थे । तर, त्यसको केही घण्टापछि नै ब्राजिलको उत्तरपूर्वी राज्य बाहियास्थित आफ्नै घरमा स्वास्थ्य अचानक बिग्रिएपछि ३५ वर्षीय अराउजोको मृत्यु भयो । यद्यपि, उनको मृत्युको वास्तविक कारण अझै स्पष्ट भइसकेको छैन । तर, उनी अचानक मृत्यु भएका धेरै बडीबिल्डरहरूमध्ये एक हुन् ।

मे महिनाको अन्त्यतिर ब्राजिलका चर्चित युवा बडीबिल्डर गाब्रिएल ग्यानलीको २२ वर्षको उमेरमै अचानक हृदयघात (मुटुको धड्कन बन्द) का कारण मृत्यु भएको थियो । सन् २०२५ मा प्रकाशित एक अध्ययनले प्रतिस्पर्धात्मक बडीबिल्डिङसँग सम्बन्धित स्वास्थ्य जोखिमबारे महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको थियो । यस अध्ययनमा अनुसन्धानकर्ताहरूले सन् २००५ देखि २०२० सम्म बडीबिल्डिङको अन्तर्राष्ट्रिय शासकीय निकायद्वारा आयोजित प्रतियोगितामा सहभागी भएका करिब २० हजार शौकिया (एमेच्योर) र व्यावसायिक (प्रोफेसनल) बडीबिल्डरहरूको अध्ययन गरेका थिए ।

‘युरोपियन हार्ट जर्नल’ मा प्रकाशित उक्त अध्ययनले व्यावसायिक बडीबिल्डरहरूमा अचानक हुने मुटुको मृत्यु (सडेन कार्डियाक डेथ) को जोखिम शौकिया प्रतिस्पर्धीहरूको तुलनामा पाँच गुणाभन्दा बढी रहेको देखाएको छ । अचानक हुने मुटुको मृत्यु सामान्यतया युवा र स्वस्थ देखिने मानिसहरूमा निकै दुर्लभ हुन्छ । यस्तो मृत्यु प्रायः पहिलेदेखि रहेको मुटुसम्बन्धी रोगसँग सम्बन्धित हुने गर्छ ।

अध्ययनमा १२१ जनाको मृत्यु अभिलेख गरिएको थियो, जसमध्ये ४६ जनाको मृत्यु अचानक मुटुको धड्कन बन्द भएका कारण भएको वर्गीकरण गरिएको थियो । मृतकहरूको औसत उमेर ४५ वर्ष थियो । तर प्रतियोगितामा सक्रिय रूपमा सहभागी भइरहेका खेलाडीहरूको औसत उमेर भने केवल ३४.७ वर्ष रहेको थियो । इटालीको पडोभा विश्वविद्यालयका डा. मार्को भेचियाटो, जो अध्ययनका मुख्य लेखक हुन्, उनका अनुसार बडीबिल्डरहरूको मृत्युका पछाडि धेरै कारण हुन सक्छन् ।

तीमध्ये प्रमुख कारणहरूमा :
प्रदर्शन क्षमता बढाउने औषधिहरूको अत्यधिक प्रयोग ।
प्रतियोगिताअघि छोटो समयमा तीव्र रूपमा तौल घटाउने अभ्यास ।
तथा अत्यधिक कडा शक्ति प्रशिक्षण समावेश छन् ।
यसैबीच, डेनमार्कका अनुसन्धानकर्ताहरूले सन् २०२५ मा ‘सर्कुलेशन’ जर्नलमा प्रकाशित अर्को अध्ययन मा एनाबोलिक स्टेरोइड प्रयोग गर्ने १,१८९ पुरुष को ११ वर्षसम्म अध्ययन गरेका थिए । उनीहरूको तुलना सामान्य जनसंख्याका करिब ६० हजार पुरुषसँग गरिएको थियो ।

यस अध्ययनले स्टेरोइड प्रयोग गर्नेहरूमा :
कार्डियोमायोपाथी (मुटुको मांसपेशी कमजोर हुने रोग) हुने सम्भावना करिब नौ गुणा बढी ।
हृदयाघात (हार्ट अट्याक) को जोखिम तीन गुणा बढी । 
हार्ट फेलियर हुने जोखिम पनि तीन गुणाभन्दा बढी रहेको देखाएको छ ।

यसका अतिरिक्त, एनाबोलिक स्टेरोइडले पुरुषहरूमा :
शुक्रकीट (स्पर्म) को संख्या घटाउने ।
इरेक्टाइल डिस्फङ्सन (यौन दुर्बलता) गराउने । 
रक्तचाप बढाउने । 
धमनीमा बोसो (प्लाक) जम्ने प्रक्रिया तीव्र बनाउने । 
तथा मुटुको संरचनामै परिवर्तन ल्याउने जस्ता समस्या पनि निम्त्याउन सक्छ । 

वास्तवमा, युरोपियन हार्ट जर्नल मा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले मृत्यु भएका बडीबिल्डरहरूको पोस्टमार्टम (अटोप्सी) पनि अध्ययन गरेका थिए । धेरैजसो अवस्थामा उनीहरूको मुटु अस्वाभाविक रूपमा ठूलो भएको पाइयो । साथै बायाँ भेन्ट्रिकुलर हाइपरट्रोफी अर्थात् मुटुको मुख्य पम्पिङ कक्षको भित्तो बाक्लिएको देखियो, जसले हार्ट फेलियरको जोखिम बढाउन सक्छ ।

केही घटनामा विषविज्ञान (टक्सिकोलोजी) परीक्षण र सार्वजनिक प्रतिवेदनहरूले ती बडीबिल्डरहरूले एनाबोलिक स्टेरोइडको दुरुपयोग गरेको देखाएका थिए । यस्ता पदार्थहरू सामान्य पोस्टमार्टममा सधैं पत्ता नलाग्न पनि सक्छन् । कम उमेरमै मृत्यु भएका बडीबिल्डरहरूको पोस्टमार्टममा प्रायः असामान्य रूपमा ठूलो मुटु भेटिने गरेको छ ।

यस्ता घटनामध्ये सबैभन्दा चर्चित उदाहरण अमेरिकी बडीबिल्डर डलास म्याककार्भर हुन्, जसको सन् २०१७ मा २६ वर्षको उमेरमा मृत्यु भएको थियो। उनी त्यसबेला बडीबिल्डिङका सबैभन्दा चर्चित खेलाडीमध्ये एक थिए । उनको पोस्टमार्टम प्रतिवेदनले उनको मुटुको तौल ८३३ ग्राम रहेको देखाएको थियो, जुन एक वयस्क पुरुषको सामान्य मुटुको तौलभन्दा दोब्बरभन्दा पनि बढी थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.