नारायणी अस्पतालका डाक्टर चार दिनपछि फर्किए काममा, बिरामीहरुले पाउन थाले उपचार
वीरगन्ज : वीरगन्जका अस्पतालहरुमा चार दिनदेखि ठप्प भएको बिरामीको उपचार सेवा सुचारु भएको छ । नारायणी अस्पतालमा आकस्मिक उपचार सेवा बुधबार राति ९ बजेदेखि नै र ओपीडी सेवा बिहीबार बिहानदेखि सुचारु भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए ।
गत शनिबार अस्पतालमा तोडफोड र चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नारायणी अस्पतालसहित यहाँका सबै अस्पतालका चिकित्सकहरु गत आइतबारदेखि आकस्मिकसहितका सबै सेवा ठप्प पार्दै हड्तालमा उत्रिएका थिए ।
बुधबार काठमाडौंमा नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो । यता नारायणी अस्पतालको घटनामा संलग्न व्याक्तिहरुविरुद्ध नेपाल चिकित्सक संघ नारायणी शाखा र अस्पताल प्रशासनले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि आकस्मिक सेवा बुधबार रातिदेखि नै र ओपीडी सेवा बिहीबार बिहानदेखि सुचारु गरिएको अस्पतालका प्रवक्ता डा. सिंहले बताए ।

अस्पतालमा शनिबार भएको घटनाको अनुसन्धान र दोषीमाथि कारबाही गर्ने प्रहरी प्रशासनबाट प्रतिबद्धता आएपछि अस्पतालको सेवा सुचारु गर्ने निर्णय गरिएको र चिकित्सकहरु हडताल स्थगित गरेर काममा फर्किएको उनले बताए । नारायणी अस्पताल तोडफोड र चिकित्सक कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान पनि गरिरहेको छ ।
यस्तै गत सोमबार साँझ जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत चिकित्सकहरुसगँ वार्ता भइरहेका बेला चिकित्सकसगँ दुव्र्यवहार गर्ने पर्साका तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेर पर्सामा प्रहरी उपरीक्षक पवन भट्टराईलाई बुधबार साँझ नै पठाइसकेको छ ।
गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित भीडले अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेको थियो । त्यसको विरोधमा वीरगन्जका अस्पतालहरुमा चिकित्सकहरुले गत आइतबारदेखि र देशभरका अस्पतालका चिकित्सकहरुले गत मंगलबारदेखि उपचार सेवा ठप्प पार्दै हड्ताल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !