कप्तानगन्ज गोलीकाण्ड फरेन्सिक परीक्षणमा केन्द्रित
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डको अनुसन्धान अब फरेन्सिक परीक्षणमा केन्द्रित भएको छ। घाइतेहरूको शरीरबाट शल्यक्रियामार्फत निकालिएको गोली र गोलीका अंशलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाअन्तर्गत फरेन्सिक ब्यालेस्टिक्स परीक्षण शाखामा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरेन्सिक परीक्षणबाट गोलीको क्यालिबर, प्रहार भएको हतियारबाट, गोलीको दिशा, दूरी तथा घटनासँग हतियारको सम्बन्ध वैज्ञानिक रूपमा यकिन हुनेछ। परीक्षण प्रतिवेदनले गोली सुरक्षाकर्मीकै हतियारबाट चलेको हो वा होइन भन्ने विषयमा पनि स्पष्ट आधार दिने अनुसन्धान अधिकारीहरूको भनाइ छ।
दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि अवस्था नियन्त्रणमा लिन गत आइतबार राति सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो भने उपचाररत देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ। जयप्रकाशको मृत्युसँगै गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
घटनामा गोली लागेर १० जना स्थानीय युवा घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए। घाइतेहरुको न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार जारी छ। नोबेल र विराटमा उपचाररत दुई जनालाई काठमाडौं पठाउने तयारी गरिएको छ।
उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरिएका देवानगन्ज–३ का १८ वर्षीय अमित यादवको कोखाबाट पूरै गोली निकालिएको छ। उनी बायाँ हात र कोखामा गोली लागेर गम्भीर घाइते भएका थिए। शल्यक्रियापछि उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। उनलाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने अवस्था आएको हो। न्युरो अस्पतालमा उपचाररत देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहताको पेटबाट र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको पिठ्युँबाट शल्यक्रियाका क्रममा गोलीको अंशजस्तो धातु निकालिएको अस्पतालले जनाएको छ। मिथिलेश आईसीयूमा उपचाररत छन् भने अमलेशको अवस्था सामान्य छ।
विराट नर्सिङ होममा उपचाररत देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेको छ। एक्स–रेमा शरीरभित्र धातुजस्तो वस्तु देखिए पनि अवस्था गम्भीर रहेकाले त्यसलाई निकाल्नका लागि थप शल्यक्रिया हुन बाँकी रहेको चिकित्सकहरूले बताएका छन्।
देवानगन्ज–४ का हरेराम यादव, देवानगन्ज–३ का सुनील मेहता र देवानगन्ज–४ का अमितकुमार यादवको शल्यक्रिया सम्पन्न भए पनि उनीहरूको शरीरमा गोली वा त्यसका अवशेष भेटिएको छैन। देवानगन्ज–४ का २६ वर्षीय सुनील मेहताको कुहिनामा गोली लागेको छ। उनको शल्यक्रिया भने हुन बाँकी छ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले हालसम्म तीन जनाको शरीरबाट गोली तथा गोलीका अंश संकलन गरिएको जानकारी दिए। उनका अनुसार कानुनी प्रक्रिया पूरा गरेर गोली र त्यसका अंशलाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। घटनापछि गोली कसले चलायो भन्ने विषयमा स्थानीय तहमा विभिन्न आशंका र आरोपहरू उठिरहेका छन्। केही स्थानीयले सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिले पनि गोली चलाएको हुन सक्ने दाबी गरिरहेका छन्।
तर, सुरक्षा स्रोतका अनुसार हालसम्म शरीरबाट निकालिएको गोलीको प्रारम्भिक अध्ययनले त्यसको स्वरूप सशस्त्र प्रहरीले प्रयोग गर्ने एसएलआर हतियारसँग मेल खाने देखिएको छ। यद्यपि, यसको अन्तिम पुष्टि भने फरेन्सिक ब्यालेस्टिक्स परीक्षणपछि मात्रै हुने सुरक्षा अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार वैज्ञानिक परीक्षणबाट प्राप्त प्रतिवेदनले घटनाको अनुसन्धानलाई थप मजबुत बनाउँछ। अदालतमा महत्वपूर्ण भौतिक प्रमाणका रूपमा समेत प्रतिवेदन प्रयोग हुने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !