विराटनगरमा उपचार हुन नसकेपछि गोलीकाण्डका घाइतेलाई लगियो काठमाडौं
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको गोलीकाण्डमा गम्भीर घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत १८ वर्षीय अमित यादवलाई बिहीबार साँझ काठमाडौं लगिएको हो। चिकित्सकका अनुसार देवानगन्ज–३ घर भएका यादवको बायाँ हात र कोखामा गोली लागेको थियो।
शल्यक्रियामार्फत शरीरभित्रको गोली निकालिए पनि उनको अवस्था गम्भीर रहेकाले नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो। स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि र अवस्था जटिल बन्दै गएपछि परिवारको सहमतिमा थप उपचारका लागि काठमाडौं पठाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। चिकित्सकका अनुसार विराटनगरमा उपचार सम्भव नभएपछि यादवको बायाँ हात जोगाउन सम्भव नभएको निष्कर्षमा पुगिएको छ। परिवारका सदस्यले उनको उपचार अब काठमाडौंस्थित ट्रमा सेन्टरमा हुने बताएका छन्। उनलाई काठमाडौं लैजान स्वास्थ्यमन्त्री निशा मेहताले आवश्यक समन्वय गरेको जनाइएको छ।
यसैबीच, विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई पनि काठमाडौं लैजाने तयारी गरिएको थियो। तर, उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेकाले तत्काल सार्न उपयुक्त नभएको चिकित्सकको निष्कर्षपछि हाल विराटनगरमै उपचार जारी राखिएको छ। आवश्यक स्वास्थ्य उपकरण र चिकित्सकको निगरानीको व्यवस्था भएपछि मात्रै उनलाई काठमाडौं पठाइने डीएसपी मिश्रले बताए। मेहताको बायाँ तिघ्रामा गोली लाग्दा नसामा गम्भीर क्षति पुगेको चिकित्सकले बताएका छन्। नसाको शल्यक्रिया सम्पन्न भए पनि उनी भेन्टिलेटरमै उपचाररत छन्। थप विशेषज्ञ उपचार आवश्यक देखिएकाले काठमाडौं रिफर गर्न अस्पतालले सुझाव दिएको छ।
दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि अवस्था नियन्त्रणमा लिन आइतबार राति सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा १० जना युवा घाइते भएका थिए। घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनालगत्तै मृत्यु भएको थियो भने देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार उपचारकै क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको छ। गोली लागेर उपचाररत आठ जना घाइतेमध्ये अमित यादवलाई काठमाडौं पठाइएको हो। बाँकी सात जनाको विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !