सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा गत आइतबार नहुनुपर्ने घटना भयो। त्यसले हिंसात्मक रूप लिँदै मधेसका अन्य जिल्ला र देशका विभिन्न भूभागमा तनावको खतरा बढाएको छ। अब पनि यसको समयमा सही सम्बोधन नहुने हो भने अवस्था अनियन्त्रित हुन सक्छ। र, हिंसा बढेर थप जनधनको क्षति हुने पक्का छ। ढिलो गरी भए पनि सरकारले आगो सरी सल्किन लागेको धार्मिक र जातीय द्वन्द्वलाई हल गर्ने प्रयास गरेको छ। यसमा पर्याप्त सुझबुझ र बुद्धिमत्ता प्रयोग गरी समाजलाई शान्ति र सद्भावको बाटोमा हिँडाउनु हामी सबैको पहिलो र साझा कर्तव्य हुन आएको छ।
हाम्रो मुलुकको शक्ति र सम्पत्ति भनेकै विविधतामा एकता हो। जहाँ सबै जातजाति, भाषाभाषी, विभिन्न धार्मिक सम्प्रदाय एकापसमा हाँसीखुसी, हातेमालो गरेर यो सम्पत्तिलाई बचाइराखेको गौरवपूर्ण इतिहास छ। वर्तमान छ र भविष्यमा पनि रहनेछ। यही अन्तर्य कमजोर हुनु वा भताभुंग हुनु भनेको अनिष्ट निम्त्याउनु हो। सबै जातजाति, भाषाभाषी, सम्प्रदायको एकमुष्ट नाम नेपाली हो। सबै अट्ने र ओत लाग्ने घरको नाम नेपाल हो। त्यही कारण तराई मधेसमा हुने हिंसाको आँसु हिमाल र पहाडमा समेत बग्छ। पहाडी र हिमाली क्षेत्रमा उत्पन्न तनावको पिरलो तराई मधेसले खेप्छ। आज कुनै निश्चित भूमागमा देखिएको हिन्दु, मुस्लिम समुदायबीचको हिंसात्मक द्वन्द्व यही कारण चाँडै हल हुनुपर्छ। समाधन खोजिनुपर्छ। यसमा विलम्ब भए नेपाल र नेपालीको विश्वभर इतिहासदेखि कायम रहेको परिचयमा आँच आउन सक्छ। यो बाटोतिर मुलुकलाई हिँडाउन कदापि दिनुहुँदैन।
हामीले बुझ्नुपर्छ, मन्दिर वा मस्जिद केवल भौतिक संरचनामात्र होइनन्, हाम्रा आस्थाका धरोहर हुन्। नेपालीपनको साझा आत्मा हुन्। यी सबै मान्ने हामी नेपाली एकै घरका अंशियार होऔं। आज एउटा दुःखद् घटनाको सही सम्बोधन र समाधन नखोजेर घर मास्नतिर लाग्नु बुद्धिमत्ता हुने छैन। हामीलाई सबै नागरिकको जीउधनको सुरक्षा चाहिएको छ, सार्वजनिक सम्पत्तिको संरक्षण, संविधान र कानुनको सही पालना हुनु परेको छ। यो काम आपसी अविश्वास, आशंका, हिंसा, तुस बोकेर सम्भव हुँदैन। धर्मले विभाजन होइन, सहअस्तित्वलाई स्वीकार गर्छ। मानवतालाई जोगाउँछ। हिन्दु वा मुस्लिम जुन कुनै समाज वा सम्प्रदायले परापूर्वकालदेखि बचाउँदै आएको मानवता पनि यही हो। यही मानवता बाँचिरहँदा नै राष्ट्रिय एकता बाँच्ने हो। सिंगो नेपाल रहने हो।
देवानगन्ज घटनाको सन्दर्भमा सरकारले त्यहाँको वस्तुस्थिति र मर्म बुझ्न ढिलाइ गरेको पक्कै हो। त्यसमाथि दुई सम्प्रदायबीचको विवादमा गोली चलाउनुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो। यसको परिणति बुझेरै प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै संवेदनशील घडीमा देश रहेकोले विश्वासको वातावरण कायम राख्न सरकार गम्भीर रहेको जनाएका छन्। सरकारले बुझ्नुपर्छ, यो जटिल अवस्था एउटा पक्ष मात्रको पहलबाट पार लगाउन सकिँदैन। सुरक्षा संयन्त्रहरूले सुनसरीमात्र नभई धनुषा, सिरहासहित क्षेत्रमा हुन सक्ने गम्भीर हिंसात्मक अवस्थाको आकलनमा सरकार पहिले चनाखो हुनुपथ्र्यो। प्रदेश सरकार, स्थानीय सरकारसँग समन्वय गरी समस्याको हल खोज्नुपथ्र्यो। त्यतिमात्र होइन, प्रतिपक्षी दलहरूसँग पर्याप्त संवाद र परामर्श हुनुपथ्र्यो। शान्ति केवल बल प्रयोगबाट स्थापित हुने होइन। न्याय, निष्पक्षता र विभिन्न संवादले शान्तिका द्वार खुलाउने हो। मेरो गोरुको बाह्रैटक्का शैलीले बढ्न खोज्दा हुन सक्ने सम्भावित दुर्घटना भोलिका लागि पक्कै पाठ हुनेछ।
मुलुकको आजको संवेदनशील अवस्थामा सबै दलले हिंसा अन्तका लागि दलीय प्रतिस्पर्धा त्यागेर सही कदम चाल्न जरुरी छ। एकअर्कामा आरोप प्रत्यारोपले द्वन्द्वलाई झन् बढावा दिनेछ। त्यसको हाँगाबिँगा समाजको तल्लो तहसम्म पुग्नेछ। र, समाजमा ध्रुवीकरण बढाउनेछ। यो रोक्न साझा जिम्मेवारी र अठोटका साथ राष्ट्रिय सहमतिका लागि पहल गर्नुपर्छ। विवादका अन्य विषयलाई थाती राखेर राष्ट्रिय एकताको साझा दियो निभ्न नदिन एकजुट हु्नैपर्छ। यसका लागि जनसहभागिताको आवश्यकता पर्छ। हिंसा प्रभावित क्षेत्रमा सरकारमात्र होइन, सबै राजनीतिक दल, तिनका नेता, कार्यकर्ता, जनप्रतिनिधि पुग्नुपर्छ। धार्मिक सम्प्रदाय, समाज, तिनका नेतृत्वमाझ पुगेर समाधान खोज्नुपर्छ। स्थानीय तहसम्मको जनविश्वास, संवाद र सहभागिताबाटै अविश्वास, असहमति र द्वन्द्वको हल निस्किनेछ।
हिंसा र अशान्ति मच्चिरहेको बेला सञ्चारका विभिन्न माध्यमहरू थप संयम, जिम्मेवार र आधिकारिक हुनु अनिवार्य छ। सामाजिक सञ्जालको मर्यादित, जिम्मेवार र रचनात्मक प्रयोग हुनुपर्छ। विभिन्न स्वार्थ बोकेर गलत तस्बिर, भिडियो वा सन्देश पोस्ट गर्नु अपराध हो। यसले मिल्न लागेको समाज फुटाउन मलजल गर्छ। बल्दो आगोमा घिउ थप्छ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको सुदृढ लोकतान्त्रिक व्यवस्थालाई मूलमन्त्र बनाउँदै आएको अन्नपूर्ण मिडिया नेटवर्क आफ्नो जिम्मेवारीप्रति सदैव सजग छ। अहिलेको कठिन अवस्थामा हिंसा रोकी सामाजिक एकता र मर्यादा कायम गर्न सञ्चार माध्यम बढी चनाखो हुनुपर्नेछ। सामाजिक सञ्जाल अनुशासित र मर्यादित हुनुपर्ने र प्रयोगकर्तासमेत सजक र सतर्क रहनुपर्नेछ।
अन्तमा, हिंसा र अशान्तिको कालो बादललाई विवेक, संवाद र कानुनको परिपालनाले मात्र हटाउन सक्छ। क्षणिक आवेग, अफवाह वा बल प्रयोगले होइन। आपसी विश्वास, परस्पर सम्बन्ध र भाइचाराले अहिलेको अप्ठेरो अवस्थालाई सम्बोधन पक्कै गर्नेछ।
बालकृष्ण बस्नेत
प्रधान सम्पादक
प्रतिक्रिया दिनुहोस !