सद्भाव खोज्दै ‘अशान्त’ मधेस

सद्भाव खोज्दै ‘अशान्त’ मधेस

जनकपुरधाम/सिरहा/वीरगन्ज : सुनसरीको देवानगन्जमा आइतबार राति दुई समूहबीच झडप भयो। २५ वर्षीय ओमप्रकाश मेहताको मृत्युपछि प्रदर्शनले हिंसात्मक रूप लियो। कोशीबाट सुरु भएको हिंसात्मक गतिविधिले मधेस प्रदेशमा प्रवेश पायो। त्यसैकारण मधेस फेरि अशान्त बनेको छ।

बिहीबार बिहानैदेखि प्रदेशको राजधानी जनकपुरधामसहित आठवटै जिल्लामा धार्मिक संगठनहरूले बजार बन्द गराउँदै प्रदर्शन गर्न थालेपछि अवस्था आक्रामक र उग्र बन्न पुग्यो। प्रदर्शनका क्रममा सिरहाको गोलबजार नगरपालिकामा भएको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन्।

प्रहरीको गोलीबाट औरही गाउँपालिका–२ का १६ वर्षीय गणेश यादवको मृत्यु भएको छ भने सोही ठाउँका सुभाष ठाकुर गम्भीर घाइते भएका छन्। ठाकुरलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान पठाइएको छ।

सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै हाम्रो देशको पहिचान र परम्परा हो। यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गर्दछु। 
रामचन्द्र पौडेल,राष्ट्रपति

प्रत्येक नागरिकको जनधनको सुरक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्णरूपमा सचेत छ। 
वालेन्द्र शाह, प्रधानमन्त्री

प्रदर्शनकारीहरूले लहान र गोलबजारमा उग्र प्रदर्शन गरे। त्यस क्रममा प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले गोलबजारको एबी मललगायत केही पसल तथा स्थानीयका घरमा आगजनी गरेका थिए। घाइते र तोडफोडको विवरण पूर्ण रूपमा प्राप्त हुन सकेको छैन। अवस्थालाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले सिरहामा कफ्र्यु आदेश जारी गरेको छ। जनकपुरमा पनि बिहानैदेखि टायर बालेर प्रदर्शन र झडप हुँदाहुँदै नगर क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ। 

वीरगन्जमा सम्भावित झडपलाई मध्यनजर गर्दै वीरगन्ज महानगर क्षेत्रभित्र साँझ पाँच बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। तर, निषेधाज्ञा जारी भएपछि पनि प्रदर्शनकारीहरूले नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन्। प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय पर्साअगाडि नाराबाजी गर्दै सुनसरी र सिरहा घटनाको विरोध गरेका थिए।

घाइते रामलाई अस्पताल लगिदिने पनि कोही भएनन्
जनकपुरमा प्रदर्शनका क्रममा भोगेन्द्रकुमार राम सख्त घाइते भए। तर, उनलाई उपचारका लागि अस्पताल लगिदिने समेत कोही भएनन्। जनकपुरधाम उपमहानगरपालिका–२० का राम प्रदर्शनमा सहभागी भइरहेका बेला प्रहरीले लखेट्दै निर्घात कुटपिट गरेको थियो। 

कुटपिटबाट टाउको फुटेर रक्ताम्मे भएका उनी अस्पताल लगिदिनका लागि सहयोग मागिरहेका थिए। तर पनि सहयोग पाउन सकेनन्। एक्लै अस्पताल हिँड्दै गए। प्रदर्शनकै क्रममा घाइते भएका जनकपुरधाम उपमहानगरपालिका–७ का १२ वर्षीय आनन्द दासलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। दासको टाउकोमा चोट लागेर 
गम्भीर घाइते भएका छन्।

मधेस केन्द्रित दलका नेताहरूको आरोपः गृहमन्त्रीको भूमिका शंकास्पद
मधेस केन्द्रित दलहरूले देवानगन्ज घटनाको पाँचौं दिनमा मधेसमा हिंसा फैलिँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह मौन रहने र गृहमन्त्री सुधन गुरुङको गतिविधि शंकास्पद देखिएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका संयोजक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष जयकान्त राउत, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माद्वारा संयुक्त रूपमा हस्ताक्षरित अपिलमा देवानगन्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न आह्वान गरिएको छ।

घटनामा कुनै बाह्य तत्त्व, रोहिंग्या वा अन्य कुनै संगठित समूहको संलग्नता रहे, नरहेको विषय तथ्यका आधारमा स्पष्ट गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न मधेस केन्द्रित दलहरूले माग गरेका छन्। साथै सबै घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले दमनमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीहरूलाई अनुसन्धान अवधिसम्म निलम्बन गरी सुरक्षा व्यवस्थामा भएको सम्भावित कमजोरी तथा बल प्रयोगको औचित्यमाथि निष्पक्ष छानबिन गर्नसमेत मधेस केन्द्रित दलहरूले माग गरेका छन्।

संयमता अपनाउन मधेस प्रदेश सरकारको अपिल
मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशवासीसँग अपिल गर्दै सामाजिक सद्भाव तथा शान्ति कायम गर्न आग्रह गरेका छन्।

‘हालैका केही घटनाहरूले हाम्रा बस्तीहरूमा छाएको अन्योल र चिन्ताले सबैको हृदय अति नै व्यथित भएको छ। घाम र छायाँजस्तै आउने जाने क्षणिक असमझदारीका कारण वर्षौंदेखिको अटुट विश्वास र भाइचारामा आँच आउन दिनु हुँदैन,’ अपिलमा कर्णले भनेका छन्, ‘जब अशान्तिको बादल मडारिन्छ, तब विवेक र धैर्य नै हाम्रो सबैभन्दा ठुलो शक्ति बन्छ।’ प्रदेश प्रमुख कर्णले संवेदनशील घडीमा क्षणिक आवेग र अफवाहलाई पन्छाएर एकापसमा भाइचाराको हात बढाउन अनुरोध गरेका छन्। ‘आत्मीयता र आपसी संवाद नै जुनसुकै जटिल परिस्थितिको सबैभन्दा उत्तम निकास हो,’ उनले अपिल गरेका छन्।

त्यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशको विद्यमान शान्ति सुरक्षा अवस्थाको समीक्षा गरेको छ।

बैठकले मधेसका जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाहरूको गम्भीर समीक्षा गर्दै नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

साथै, प्रदेश सरकार सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीहरूको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी व्यवस्थापन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवद्वारा जारी प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.