सहमतिपछि पनि कप्तानगञ्जका दुई मृतकको उठेन शव, स्थानीय विरोधले अन्त्येष्टि अनिश्चित
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाको शव सरकारसँग सहमति भइसकेपछि पनि परिवारले बुझ्न अस्वीकार गरेको छ । परिवारले अस्वीकार गरेपछि अस्पतालबाट शव उठ्न सकेको छैन । स्थानीयस्तरमा चर्किएको असन्तुष्टि र विरोधका कारण शुक्रबार गर्ने भनिएको अन्त्येष्टि अन्योलमा परेको छ । सरकार र पीडित पक्षबीच बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा सहमति भएको थियो ।
सहमतिपछि शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गर्ने उल्लेख गरिए पनि शव बुझ्न परिवार तयार नभएपछि पोस्टमार्टम प्रक्रिया नै अघि बढ्न सकेको छैन । विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएका दुवै शव अझै त्यहीँ छन् । गत आइतबार राति कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
घटनामा गोली लागेर घाइते भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो । गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको भने उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । सरकार र मृतक पक्षबीच भएको सहमतिमा दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, दोषीमाथि कानुनी कारबाही गरिने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गरिने उल्लेख छ ।
सम्झौतापत्रमा मृतक ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् । तर, सहमतिपछि पनि स्थानीय बासिन्दा र जनप्रतिनिधिले मृतकका परिवारलाई दबाबमा पारेर सम्झौता गराइएको आरोप लगाएका छन् । प्रहरी स्रोतका अनुसार यही विरोधका कारण शव बुझ्न विराटनगर आएका परिवारका सदस्य र आफन्त पुनः देवानगञ्ज फर्किएका हुन् । त्यसपछि पोस्टमार्टम र अन्त्येष्टिको सम्पूर्ण प्रक्रिया रोकिएको छ ।
घटनापछि स्थानीय तहसँग समन्वय नगरेको भन्दै देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले पनि गृहमन्त्रीप्रति सार्वजनिक असन्तुष्टि जनाएका छन् । संकटका बेला स्थानीय सरकारलाई बेवास्ता गरेर बैठक तथा छलफल गरिएको उनको आरोप छ । अन्ततः सबै पक्षको आग्रहपछि मात्रै आफू सरकार र पीडित पक्षबीचको छलफलमा सहभागी भएको उनले बताए ।
अध्यक्ष मेहताको असन्तुष्टिलाई अन्य जनप्रतिनिधि, स्थानीय तथा मृतकका आफन्तले समेत समर्थन गरेपछि शव बुझ्ने प्रक्रिया प्रभावित बनेको बताइएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले भने परिवारले शव बुझ्न अस्वीकार गरेको विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताए । उनका अनुसार सरकार र पीडित पक्षबीच सहमति भइसकेकाले शुक्रबार नै शव बुझेर अन्त्येष्टि गर्ने तयारी भएकाले त्यसअनुसार सुरक्षा व्यवस्था समेत मिलाइएको छ ।
कप्तानगञ्ज गोलीकाण्डमा सशस्त्र प्रहरीको गोली लागेर १० जना घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको उपचार जारी छ । घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । गोलीकाण्डपछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए । हिंसा नियन्त्रणका लागि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरे पनि जिल्लाका विभिन्न क्षेत्रमा तनाव फैलिएको थियो । बुधबारदेखि सुनसरीको अवस्था केही सामान्य बन्दै गए पनि घटनाको प्रभाव मधेश प्रदेशसम्म पुगेको छ । सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक किशोरको समेत मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !