ट्रकबाट एक हजार ३३ किलो गाँजा बरामद, चालक पक्राउ
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा मिनी ट्रकमा राखी धानको भुसमुनि लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ । संयुक्त सुरक्षा टोलीले मिनी ट्रकबाट एक हजार ३३ किलो गाँजा बरामद गर्दै चालकलाई पक्राउ गरेको हो ।
उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा गाँजा रहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म चुनीबारीका डीएसपी विकाशकुमार भुजेल नेतृत्वको संयुक्त टोली परिचालन गरिएको थियो । संयुक्त टोलीले शुक्रबार दिउँसो करिब २ः३० बजेतिर गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार ट्रक रोकेर खानतलासी गर्दा पछाडिको भागमा धानको भुसका बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएका ३१ वटा पोका फेला परेका थिए । पोका खोलेर हेर्दा तयारी गाँजा भेटिएको र तौल गर्दा एक हजार ३३ किलो रहेको पुष्टि भएको उनले बताए ।
घटनापछि प्रहरीले मिनी ट्रक नियन्त्रणमा लिएको छ भने चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ का अन्दाजी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ । बरामद गाँजा, ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गाँजा धनकुटाबाट ल्याएर भारततर्फ तस्करी गर्ने योजना रहेको हुन सक्ने आशंका गरिएको छ । पछिल्ला दिनहरूमा तराईका केही क्षेत्रमा साम्प्रदायिक तनावका कारण सुरक्षा निकाय परिचालन बढेका बेला त्यसैको मौका छोपेर गाँजा भारत कटाउन खोजिएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि, यसको यथार्थ अनुसन्धानपछि मात्रै खुल्ने जानकारी एसपी कटवालले दिए ।
प्रतिक्रिया दिनुहोस !