कप्तानगन्ज गोलीकाण्डका दुवैको शव परिवारलाई हस्तान्तरण

कप्तानगन्ज गोलीकाण्डका दुवैको शव परिवारलाई हस्तान्तरण
सुन्नुहोस्

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाको शव पोस्टमार्टमपछि शुक्रबार परिवारलाई हस्तान्तरण गरिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव जिम्मा लगाएपछि परिवारले बुझेर अन्त्येष्टिका लागि लगेका छन्। 

दुई पक्षबीच भएको विवाद उग्र बनेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गत आइतबार राति गोली चलाएको थियो। गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भएको थियो। त्यस्तै, गोली लागेर घाइते भएका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार मृत्यु भएको थियो। 

दुवैको शवलाई न्युरो अस्पतालको शवगृहमा राखिएको थियो। सरकार र पीडित परिवारबीच बिहीबार राति सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। पोस्टमार्टम सकिएपछि कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको उनले बताए।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगन्ज गाउँपालिकाको कार्यालयमा सरकार र पीडित पक्षबीच भएको वार्ताबाट बिहीबार राति सहमति जुटेको हो। सहमतिमा दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गरिने तथा प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने उल्लेख गरिएको छ।

यस्तै, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ। सहमतिपत्रमा मृतक ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता, जयप्रकाश मेहताका तर्फबाट नरेश मेहता तथा सरकारका तर्फबाट गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका छन्। 

सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना उपचाररत छन्। घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। 

गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट र आक्रमणका घटना भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। यो समाचार तयार पार्दासम्म कर्फ्यु कायमै छ। पछिल्ला दिनमा अवस्था क्रमशः सामान्य बन्दै गएको भए पनि घटनाको प्रभाव मधेश प्रदेशसम्म फैलिएको थियो। सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर बिहीबार एक किशोरको समेत मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.