राजनीतिक खिचातानीले छनोट भएर पनि 'एसियन गेम्स' गुमाउँदै पब्जी खेलाडी
काठमाडौं : नेपालमा खेलाडीको लागि सेवा सुविधा छैन, न पूर्वाधार नै गतिलो छ। भविष्यको सुनिश्चितता के हो? खेलाडीले महसुस गर्न पाउने अवस्था छैन। यही अगतिलो व्यवस्था र दयनीय अवस्थाको अर्को सीमा बनेको छ, खेलकुदमा हुने राजनीति। यो राजनीतिको सिकार बारम्बार खेलाडी नै बन्ने गर्छन्। नाम चलेका संघदेखि उदयीमान मानिएका संघहरूमा राजनीतिको गज झन् झाँगिँदै छ। यही मैलाउँदो राजनीतिको सिकार यसपटक ई-स्पोट्र्सका (पब्जी)का खेलाडी भए।
नेपालबाट २०औं एसियन गेम्स खेल्न छनोट चरण पार गरेर पनि यी खेलाडीले एसियन गेम्स खेल्न नपाउने डर छ। जुन १९ बाट २१ सम्म भियतनाममा भएको छनोट चरण पार गर्दै नेपालले एसियन गेम्समा स्थान बनायो। नेपालका केही खेलहरूको नाम, तालिका सुनिश्चित भइसक्दा छनोट चरण पार गरेर पनि ठूलो स्तरमा खेल्न नपाउने आशंकामा ५ खेलाडी छन्। समिर कोस्टेल्लो(जेयो),रोहित तामाङ(जोर्डी), दिपेश गुरुङ(डेल्टा एक्स), सौरभ तामाङ (टीएमजी ८) र सोनु कार्की (बाइ बाइ)।
यी पाँच खेलाडी जसले सोचेका थिए, देशको लागि खेल्छौं। ‘कति देशहरू छनोट हुन नसकेर रोए। हामी छनोट भएर पनि खेल्न नपाउने अवस्था छ।’ २०औं एसियन गेम्स खेल्न छनोट चरण पार गरेका पब्जी मध्येपनि ‘डेल्टा एक्स’खेलका खेलाडी दिपेश गुरुङले भने।
नेपालमा हालः सबैभन्दा बढी देखिएको समस्या एकै खेलका २ संघ। एउटा नेपाल सरकारको मातहतमा रहेको राखेपको मान्यता प्राप्त र अर्को ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय महासंघहरूको मान्यता प्राप्त संघ। ई-स्पोर्ट्समा पनि ओलम्पिक कमिटी (एनओसी) को मातहतमा रहेको एउटा संघ र राष्ट्रिय प्रतियोगिता गराउने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मातहतमा रहेको अर्को संघ।
अन्तर्राष्ट्रिय महासंघले चिन्ने गरेको नेपाल ई-स्पोर्ट्स् एसोसियसन (नेसा) र राखेपको मातहतमा रहेको ई-स्पोर्ट्स एसोसियसन अफ नेपाल (इशान)। एकको काममा अर्काको असहमति र असमझदारी। दुवैको राजनितीक ‘सिंग जुहारी’ प्रतिष्ठा र को ठूलो भन्ने लडाइँ। यो लडाइँका कारण हरेक ठूलो प्रतियोगिता आउँदै गर्दा एक न एक खेल प्रभावित हुन्छ। यो नेपाली खेलकुदको कहानी नै भइसक्यो। ‘जेयो’ समिर भन्छन्, ‘बाहिरकाले खेलाडीलाई संरक्षण गर्छन्, हाम्रो अवस्था यस्तो छ।’
किन पठाइएन पब्जीका खेलाडीको नाम?
अहिले यी ५ खेलाडीको मनमा उब्जिएको सबैभन्दा ठूलो प्रश्न किन? हामीले खेल्न नपाउने? यसको उत्तरको खोजीमा यी खेलाडी र व्यवस्थापकीय पक्ष कहिले सरकारको ढोका त कहिले ओलम्पिक कमिटीको चौखटमा धाइरहेका छन्। नेपाल सरकारले एसियन गेम्स खेल्ने केही खेललाई विदेशी प्रशिक्षणमा पठाइरहेको छ। तर, पदकको सम्भावना बोकेको र छनोट चरण समेत पार परेको पब्जीका खेलाडी हाल खेल्न पाउने कि नपाउने भन्ने अन्योलमा अड्किरहेका छन्।
किन छनोट चरण पार गरेर पनि यी खेलाडीको नाम पठाइएन भन्ने प्रश्न यी खेलाडीको पनि हो। उत्तर कतैबाट पनि पाएका छैनन्। नेपाल ओलम्पिक कमिटीबाट हालसम्म २१ खेलका खेलाडी दर्ता गराइएको छ। तर, यसमा ई-स्पोर्ट्सको नाम छैन।
‘डेल्टा एक्स’ दीपेश भन्छन्, ‘मैले यो प्रतियोगिता खेल्न पाइन भने खेल्न छोड्छु।’ १९औं एसियन गेम्समा समेतको नेपालको लागि खेलेका दीपेशको नैराश्यता उनको उत्तरमा थियो। २३ वर्षीय दीपेश भन्छन्, ‘मैले १९ वर्षबाट खेल्न थालेको हो। मैले राष्ट्रिय देखि अन्तर्राष्ट्रिय खेल हाल सम्म भएको सबै खेलिसकें। १९ औं एसियन गेम्स पनि खेलिसकें। १९औं एसियन गेम्स खेल्न जाने बेला २ वटा संघको झन्झट थिएन,’ उनले सुनाए। उनले नेसाको मातहत नै रहेर खेले। १९औं एसियन गेम्समा समेत राम्रो सम्भावना देखाएको ई-स्पोर्ट्स हालः भने अन्योलमा छ।
यी खेलाडीको टिम म्यानेजरको रूपमा रहेका होम बहादुर तामाङ भन्छन्, ‘मुख्य कुरा हामी छनोट भएर पनि किन खेल्न नपाउने? भन्ने हो। ‘अहिले हामी हरेक सरोकारवालाको चौखटमा पुगिरहेका छौं। अहिले छनोट भएको खेलाडी खेल्न जान पाओस् भन्ने अहिलेको मुख्य एजेन्डा हो। खेलाडीलाई जान दिनुस्, कि त हामी किन जान नपाउने कारण त चाहियो भन्ने हो।’

शुक्रबार एक पत्रकार सम्मेलन गरेका यी खेलाडीको अनुहारमा निराशा र अन्योलता स्पष्ट झल्किन्थ्यो। यिनै मध्येका एक सोनु कार्की (बाइ बाइ )भन्छन्, ‘देशको लागि केही गरौंला भन्ने थियो। अब यस्तै भयो।’ यो उत्तरमा अब आश मात्रै बाँकी छ है भन्ने आशय थियो।
२० वर्षीय समिरको परिवारमा पनि माहोल त्यस्तै छ, उनको परिवार पनि भन्छ, ‘देशको लागि गर्न खोज्दा देशले नै रोक्छ भने, छोड्दे।’ समीरले शुक्रबार पत्रकार सम्मेलनमा परिवारको उत्तर सुनाए।
अब के हुन्छ?
यी खेलाडी र खेलाडीले खेल्न पाउन् भनेर बोलिरहेका व्यवस्थापक तामाङ भन्छन्, ‘अझै हामीले खेल्न पाउँछौं कि भन्ने आशा बाँकी छ।’ यही आशा लिएर सम्बन्धित सरोकारवालाको उत्तर नपाएपछि सञ्चारमाध्यमको विकल्प रोजेका होम बहादुर तामाङ भन्छन्, ‘मनमा आशा त छ। हरेक दिन हाम्रो लागि महत्वपूर्ण हुन्छ। तर,यो बेला हामी खेल बाहेकको कुरामा ध्यान लगाइरहनुपरेको छ। हामीले हाम्रो उत्कृष्ट दिँदा हामीले खेल्नु पाउनुपर्छ भन्ने हो।’
खेलाडी पनि भन्छन्, ‘नेपालमा त यस्तो भइरहन्छ। अरुलाई पनि लाग्छ। अब पब्जीको पालो परेछ भन्लान् तर आफूले खेल्छु भनेर मेहनत गरेर दिनमा १० घण्टा १२ घण्टा खेलिरहेका हुन्छौं। नेपालभरि यति धेरै टिम छन्। सबैलाई पछि पार्दै हामी ४- जनाले छनोट चरण पनि पार गरेर तयार थियौं,’ दीपेशले भने।
व्यवस्थापक तामाङ भन्छन्, ‘एसियन गेम्समा नियमित तयारी जसरी जान पाएको भए पदकको सम्भावना थियो तर अझै पनि सम्भावना त छ। तर, सम्भावना छ भन्दैमा अब अड्काउन हुँदैन। हरेक उल्झनका कारण हाम्रो सम्भावना कमजोर बन्दै छ।
प्रतिक्रिया दिनुहोस !