धार्मिक झडप रोक्ने पहिलो जिम्मेवारी : समाज र स्थानीय सरकारको

धार्मिक झडप रोक्ने पहिलो जिम्मेवारी : समाज र स्थानीय सरकारको
सुन्नुहोस्

नेपालको धार्मिक सहअस्तित्व केवल संविधान, कानुन वा राष्ट्रिय भाषणबाट बनेको होइन । यसको वास्तविक आधार गाउँ, टोल, बजार, विद्यालय, धार्मिकस्थल, पारिवारिक सम्बन्ध र दैनिक सामाजिक सहकार्य हो । हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई तथा अन्य समुदायका नागरिकले एउटै बजारमा व्यापार गर्छन्, एउटै विद्यालयमा पढ्छन्, एकअर्काका सामाजिक दुःख–सुखमा सहभागी हुन्छन् र सार्वजनिक स्रोतहरू साझा गर्छन् । त्यसैले धार्मिक सद्भाव राष्ट्रिय अवधारणा भए पनि यसको संरक्षण सबैभन्दा पहिले स्थानीय समाजमै हुन्छ ।

सुनसरीबाट सुरु भएको पछिल्लो साम्प्रदायिक तनावले कम्तीमा तीन जनाको ज्यान गएको, धेरै व्यक्ति घाइते भएको र विभिन्न स्थानमा कफ्र्यु लगाउनु पर्ने अवस्था सिर्जना गर्‍यो । प्रारम्भिक विवरणअनुसार धार्मिक कार्यक्रममा बजाइएको ठूलो आवाजको संगीत र धार्मिक झण्डासम्बन्धी विवादले तनाव सुरु गरेको थियो । तर झण्डा, संगीत वा धार्मिक कार्यक्रम आफैमा व्यापक हिंसाको पर्याप्त कारण होइनन् । यस्ता विषय सामान्य संवाद, स्थानीय सहमति र प्रशासनिक समन्वयबाट समाधान गर्न सकिन्थ्यो । सानो विवादले ठूलो साम्प्रदायिक रूप लिनु समाजभित्र पहिल्यै अविश्वास, भय वा कमजोर संवाद रहेको संकेत हो ।

धार्मिक झडपको सामाजिक पक्ष बुझ्न पहिलो प्रश्न गर्नुपर्छ-छिमेकी अचानक शत्रु कसरी बन्छ ?

सामान्य अवस्थामा मानिसले अर्को व्यक्तिलाई उसको व्यक्तिगत व्यवहार, चरित्र र सम्बन्धका आधारमा चिन्छ । तर साम्प्रदायिक तनाव बढेपछि व्यक्तिको पहिचान हराउँछ र ऊ केवल एउटा धार्मिक समुदायको प्रतिनिधि मानिन्छ । एक व्यक्तिले गरेको गल्ती सम्पूर्ण समुदायमाथि आरोपित हुन्छ । सामान्य विवादलाई ‘हाम्रो धर्ममाथिको आक्रमण’ वा ‘हाम्रो समुदायलाई दबाउने योजना’ का रूपमा प्रस्तुत गरिन्छ । यही क्षणबाट सामाजिक सम्बन्ध कमजोर हुन्छ र समूहगत प्रतिशोधको मनोविज्ञान सुरु हुन्छ ।

यस प्रक्रियामा अफवाहको भूमिका अत्यन्त खतरनाक हुन्छ । घटनास्थल नदेखेका व्यक्तिले सामाजिक सञ्जालमा आएको भिडियो, आवाज वा भावनात्मक सन्देशलाई सत्य मान्न सक्छन् । पुरानो वा अर्कै स्थानको दृश्यलाई वर्तमान घटनासँग जोडेर प्रचार गर्न सकिन्छ । यसपछि तथ्यभन्दा समुदायगत विश्वास शक्तिशाली हुन्छ । पछिल्लो घटनाबारे आएका विवरणहरूले पनि अफवाह, उत्तेजक सामग्री र स्थानीय विवादको तीव्र विस्तारबारे गम्भीर प्रश्न उठाएका छन् ।

यस्तो अवस्थामा समाजका अगुवा, शिक्षक, धार्मिक गुरु, व्यापारी, युवा समूह, महिला समूह, विद्यालय र नागरिक संस्थाको भूमिका महत्वपूर्ण हुन्छ । धार्मिक गुरुहरूले केवल आफ्नो समुदायलाई शान्त रहन आग्रह गरेर जिम्मेवारी पूरा भएको मान्नु हुँदैन । उनीहरूले अर्को समुदायप्रति सम्मान, साझा नागरिकता र हिंसाको स्पष्ट अस्वीकार सार्वजनिक रूपमा व्यक्त गर्नुपर्छ । विद्यालयले धार्मिक विविधता, नागरिक जिम्मेवारी, संवाद र गलत सूचना पहिचानसम्बन्धी शिक्षा दिनुपर्छ । स्थानीय सञ्चारमाध्यमले अपुष्ट दाबी प्रसारण गर्नुभन्दा तथ्य जाँचलाई प्राथमिकता दिनुपर्छ ।

तर सामाजिक सद्भाव संरक्षणको संस्थागत नेतृत्व स्थानीय सरकारले लिनुपर्छ । नेपालको संविधानले स्थानीय तहलाई सरकारको संवैधानिकस्तरका रूपमा स्थापित गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नागरिक सहभागिता, उत्तरदायित्व, समन्वय र गुणस्तरीय स्थानीय सेवा प्रवाहलाई स्थानीय शासनको आधार मानेको छ । त्यसैले नगरपालिका वा गाउँपालिकाले धार्मिक तनावलाई जिल्ला प्रशासन वा प्रहरीको मात्र विषय सम्झन मिल्दैन।

स्थानीय सरकार घटनास्थलको सबैभन्दा नजिक रहेको राजनीतिक र प्रशासनिक संस्था हो । उसले कुन टोलमा तनाव बढिरहेको छ, कुन धार्मिक कार्यक्रम हुँदैछ, कुन समूहबीच पुरानो विवाद छ, कसले उत्तेजक भाषण गरिरहेको छ र सामाजिक सञ्जालमा कस्तो सूचना फैलिरहेको छ भन्ने कुरा अन्य सरकारभन्दा पहिले थाहा पाउन सक्छ । स्थानीय प्रतिनिधि, विशेषतः वडा अध्यक्ष र वडा सदस्यहरू, नागरिकसँग प्रत्यक्ष सम्पर्कमा हुने भएकाले प्रारम्भिक चेतावनीको पहिलो स्रोत बन्न सक्छन् ।

यसका लागि प्रत्येक स्थानीय तहले स्थायी सामाजिक सद्भाव तथा प्रारम्भिक चेतावनी संयन्त्र स्थापना गर्नुपर्छ । यसमा स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन, धार्मिक गुरु, शिक्षक, महिला प्रतिनिधि, युवा, दलित तथा अल्पसंख्यक समुदाय, व्यापारी र सञ्चारकर्मी सहभागी हुनुपर्छ । यो समिति झडप भएपछि मात्र बैठक बस्ने संरचना होइन; यसले नियमित रूपमा संवेदनशीलता मूल्यांकन, संवाद र पूर्वतयारी गर्नुपर्छ ।

धार्मिक पर्व, जुलुस वा सार्वजनिक कार्यक्रमअघि स्थानीय सरकारले आयोजक समुदायहरूसँग बैठक गर्नुपर्छ । कार्यक्रमको समय, मार्ग, ध्वनि, सुरक्षा, धार्मिकस्थलको संवेदनशीलता र सम्भावित अवरोधबारे लिखित सहमति आवश्यक हुन्छ । एउटा समुदायको धार्मिक स्वतन्त्रता अर्को समुदायलाई उत्तेजित गर्ने शक्ति प्रदर्शनमा परिणत हुन दिनु हुँदैन । निषेध मात्र समाधान होइन; पूर्व सहमति र समान नियम बढी प्रभावकारी हुन्छ ।

स्थानीय तहले अफवाह नियन्त्रणका लागि आधिकारिक द्रुत सूचना प्रणाली पनि बनाउनु पर्छ । कुनै संवेदनशील घटना भएपछि मेयर, अध्यक्ष, वडा कार्यालय, प्रहरी र स्थानीय धार्मिक नेतृत्वबाट एउटै प्रमाणित सूचना तत्काल सार्वजनिक हुनुपर्छ । लामो समयसम्म राज्य मौन हुँदा अफवाहले खाली ठाउँ भरिदिन्छ । घटना सानो हुँदा सूचना व्यवस्थापन गर्न नसक्नु पछि ठूलो सुरक्षा चुनौती बन्न सक्छ ।

स्थानीय सरकारसँग औपचारिक प्रहरी नियन्त्रण पूर्ण रूपमा नहुन सक्छ, तर नगर प्रहरी, वडा संयन्त्र, सामुदायिक प्रहरी र जिल्ला प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी हुन्छ । स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनी संरचनाले स्थानीय तहहरूलाई समुदायसँग प्रत्यक्ष रूपमा विपद् तथा संकट व्यवस्थापनका विभिन्न चरणमा काम गर्ने भूमिका दिएको छ । साम्प्रदायिक तनाव पनि सामाजिक संकट भएकाले जोखिम पहिचान, पूर्व तयारी, तत्काल प्रतिक्रिया र पुनस्र्थापनाको समान दृष्टिकोण अपनाउन सकिन्छ ।

हिंसापछि स्थानीय सरकारको भूमिका राहत वितरणमा मात्र सीमित हुनु हुँदैन । पीडितको धार्मिक पहिचान नहेरी उपचार, क्षतिपूर्ति र पुनस्र्थापना सुनिश्चित गर्नुपर्छ । क्षतिग्रस्त घर, पसल वा धार्मिकस्थलको अभिलेख पारदर्शी रूपमा तयार गर्नुपर्छ । पीडित समुदायलाई अलग राख्ने होइन, साझा सामाजिक संवादमा पुनः जोड्ने कार्यक्रम आवश्यक हुन्छ । विद्यालय, बजार र सार्वजनिक सेवा छिटो सामान्य अवस्थामा फर्काउनु सामाजिक विश्वास पुनर्निर्माणको महत्वपूर्ण भाग हो ।

स्थानीय जनप्रतिनिधिले आफ्नो दलगत पहिचानभन्दा माथि उठ्नु पर्छ । संकटका बेला कुनै मेयर, अध्यक्ष वा वडा अध्यक्षले आफ्नो धार्मिक वा राजनीतिक समुदायको मात्र भाषा बोल्यो भने स्थानीय सरकारमाथिको विश्वास समाप्त हुन्छ । जनप्रतिनिधिको पहिलो परिचय कुनै दल, धर्म वा जातिको प्रतिनिधि मात्र होइन; सम्पूर्ण स्थानीय नागरिकको सरकार हो ।

राजनीतिक दलका स्थानीय समितिहरूको पनि विशेष जिम्मेवारी हुन्छ । केन्द्रका नेताले शान्तिको अपिल गरे पनि स्थानीय कार्यकर्ताले उत्तेजक नारा, अफवाह वा समूह परिचालन गरे भने दलले तत्काल अनुशासनात्मक कदम चाल्नु पर्छ । दलहरूले धार्मिक तनावलाई आफ्ना समर्थक संगठित गर्ने अवसरका रूपमा हेर्नु हुँदैन । स्थानीय निर्वाचनमा धार्मिक ध्रुवीकरणबाट अल्पकालीन लाभ हुन सक्छ, तर त्यसले नगर वा गाउँको सामाजिक संरचना दीर्घकालीन रूपमा नष्ट गर्न सक्छ ।

समाधानका लागि राष्ट्रिय अनुसन्धान आवश्यक छ, तर सामाजिक शान्ति काठमाडौंको निर्णयबाट मात्र पुनः स्थापित हुँदैन । त्यो वडा, टोल, विद्यालय, बजार र धार्मिकस्थलबाट पुनर्निर्माण गर्नुपर्छ । स्थानीय सरकारले सुरक्षा निकाय बोलाउने अन्तिम संयन्त्र मात्र होइन, संवाद सुरु गर्ने पहिलो संस्था बन्नु पर्छ । धार्मिक सद्भावको रक्षा केवल ‘शान्त रहनुहोस्’ भन्ने अपिलले हुँदैन । त्यसका लागि नियमित संवाद, समान नियम, प्रारम्भिक चेतावनी, सत्य सूचना, निष्पक्ष स्थानीय नेतृत्व र पीडितप्रति समान व्यवहार आवश्यक हुन्छ ।

धार्मिक झडपमा पहिलो ढुंगा कसले प्रहार गर्‍यो भन्ने प्रश्न महत्वपूर्ण छ । तर समाजका लागि अझ महत्वपूर्ण प्रश्न हो-छिमेकीलाई एकअर्काविरुद्ध उभिने अवस्था किन बन्यो र त्यसलाई स्थानीय संस्थाले समयमै किन रोक्न सकेन ?  नेपालको सामाजिक एकता राष्ट्रिय सरकारको नीतिले मात्र होइन, स्थानीय सरकारको दैनिक व्यवहारले सुरक्षित हुन्छ । स्थानीय तहले आफ्नो संवैधानिक हैसियतअनुसार सामाजिक सद्भावलाई विकास, शिक्षा र पूर्वाधार जत्तिकै महत्वपूर्ण सार्वजनिक जिम्मेवारी मान्न थाले मात्र यस्ता घटनालाई दोहोरिनबाट रोक्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.