विपद्को ऐनामा राज्यको अनुहार

विपद्को ऐनामा राज्यको अनुहार
सुन्नुहोस्

वैशाखदेखि साउन १५ सम्मको छोटो अवधि।तर, समयको यो सानो खण्डले नेपाली समाजको छातीमा छाडेर गएको घाउ आलो र असाध्यै गहिरो छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक हेर्दा लाग्छ, हामी हरेक दिन मृत्युको पर्खाइमा बाँचिरहेका छौं।जम्मा तीन महिनामा १ सय ९३ जनाको ज्यान जानु र ११ सयभन्दा बढी नागरिक घाइते हुनु केवल अंकगणितको योगफल होइन, यी निभाइएका १ सय ९३ वटा सपना हुन्, असहाय बनेर भत्किएका घरपरिवार हुन्।

तथ्यांकको पत्र पल्टाउँदा सबैभन्दा विरक्तलाग्दो र उदेकलाग्दो यथार्थ सर्पदंशमा देखिन्छ।५३ जनाले सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनु हाम्रो ग्रामीण स्वास्थ्य प्रणालीको दयनीय र अनुत्तरदायी चित्र हो।समयमै ‘एन्टिस्नेक भेनम’ नपाएर वा प्राथमिक उपचारको अभावमा नागरिकले ज्यान गुमाउनुलाई प्राकृतिक विपद् मात्र भनेर राज्य पन्छिन मिल्दैन, यो त राज्यको संरचनागत असफलता हो ।

चट्याङ, लेक लाग्ने समस्या र आगलागीबाट ज्यान गुमाउनेको संख्याले पनि हाम्रो पूर्वतयारी, जनचेतना र प्रतिकार्यको स्तरलाई नै गिज्याइरहेको छ।यता, पहिरो र बाढीले ३४ जनाको ज्यान लियो, ५ हजारभन्दा बढी परिवारको बास खोस्यो।विकासका नाममा पहाडका छाती चिरेर खनिएका सडक, जहाँ न कुनै दिगो वातारणीय अध्ययन छ, न त ‘बायोइन्जिनियरिङ’ (जैविक इन्जिनियरिङ) को वैज्ञानिक प्रयोग नै गरिएको छ, तिनै सडक आज मृत्युको धराप बनेका छन्।

हामीले निर्माण गरेका पूर्वाधार वातावरणमैत्री नहुँदा र नीति तथा व्यावहारबीचको गहिरो खाडल नपुरिँदा, हरेक वर्षातमा डाँडाकाँडा पहिरो बनेर बस्तीमाथि खस्छन्।डोजर आतंकले निम्त्याएको यो मानवनिर्मित विपद्लाई हामी कति दिनसम्म ‘प्राकृतिक प्रकोप’ को लेपन लगाइरहने ?  एउटा जिम्मेवार विकास पत्रकारिताको आँखाबाट विश्लेषण गर्दा, हाम्रा पूर्वाधार निर्माणका नीति र अभ्यासलाई तत्काल नसुधार्ने हो भने यस्ता नियति हामीले हरेक साल भोग्नुपर्नेछ ।

हावाहुरी र जनावरको आक्रमणले लिएका ज्यानहरूले पनि विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका र वन संरक्षण नीतिको कमजोरीलाई उजागर गरेका छन्।विपद् बाजा बजाएर आउँदैन, तर विपद्को जोखिम पक्कै घटाउन सकिन्छ।जबसम्म राज्यको संयन्त्र विपद्पछिको हेलिकप्टर उडान र राहत बाँड्ने कर्मकान्डमा मात्र सीमित रहन्छ, तबसम्म आँसुको यो शृंखला रोकिने छैन।अब राज्यले समग्र विकासको परम्परागत ढाँचालाई बदल्नैपर्छ।सडक खन्दा माटो र प्रकृतिको संरक्षण गर्ने दिगो इन्जिनियरिङलाई कडाइका साथ अनिवार्य गरिनुपर्छ।गाउँगाउँका स्वास्थ्य चौकीमा सर्पदंशको उपचार र स्रोतसाधनको पूर्ण प्रत्याभूति हुनुपर्छ।

नागरिकको ज्यान बचाउनु राज्यको पहिलो दायित्व हो।हरेक वर्ष मनसुन सकिएपछि तथ्यांक जोडेर मृतकको सूची लामो बनाउने नियतिबाट अब देशलाई मुक्त गर्नैपर्छ।आँसु र शोकमा डुबेका ती ५ हजार विस्थापित परिवारको छानो फर्काउने र मृत्युको यो कहालीलाग्दो आँकडालाई शून्यमा झार्ने संकल्प नै आजको राष्ट्रिय प्राथमिकता बन्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.