कठिन बन्दै विश्वकप यात्रा
नेदरल्यान्ड्स शृंखलामा भोगेको नमिठो हारले नेपालको विश्वकप छनोट यात्रा दबाबमा
काठमाडौं : नेपाली क्रिकेटका लागि केही वर्षअघिसम्म विश्वकप खेल्नु सपना थियो।अहिले त्यो सपनालाई साकार पार्ने बाटो देखिएको छ, तर यात्रा भने सहज छैन।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–२ को पछिल्लो यात्रा हेर्दा नेपालले सम्भावनाको ढोका खुलै राखेको छ, तर त्यसलाई विश्वकप छनोटसम्म पुर्याउन अब गल्ती गर्ने ठाउँ झन् साँघुरिएको छ।
लिग–२ को पछिल्लो चरणमा नेपालले उतारचढावपूर्ण प्रदर्शन गरिरहेको छ।एकातिर घरेलु मैदानमा बलियो टोली स्कटल्यान्डलाई हराएर आत्मविश्वास बढाएको नेपालले अर्कोतिर निर्णायक खेलमा अपेक्षाकृत कमजोर प्रदर्शन गर्दा अंकतालिकामा आफूलाई सुरक्षित स्थानमा राख्न सकेको छैन।नेदरल्यान्ड्स शृंखलामा भोगेको नमिठो हारले नेपालको विश्वकप छनोट यात्रामा थप दबाब सिर्जना गरेको छ।नेपाल अहिले शीर्ष चारभन्दा बाहिर पुगेको छ।सन् २०२७ को विश्वकप छनोटमा पुग्न बाँकी खेलमा नतिजा आफ्नो पक्षमा पार्नु मात्रै होइन, गणितीय रुपमा अरु टोलीको प्रदर्शनमा पनि भर पर्नुपर्ने अवस्था छ।यही कारण नेपालको लिग–२ यात्रा नेपाली क्रिकेटको आगामी दिशा निर्धारण गर्ने निर्णायक परीक्षासमेत बनेको छ।
अंकको गणितभन्दा ठूलो मानसिक दबाब
स्कटल्यान्डविरुद्धको महत्वपूर्ण जितले नेपाललाई पाँचौं स्थानसम्म उकासेको थियो।त्यसअघि अमेरिका र स्कटल्यान्डसँगको जितले टोलीमा नयाँ ऊर्जा थपेको थियो।तर, पुरानै समस्या फेरि दोहोरियो।नेपालले राम्रो लयलाई निरन्तरता दिन सकेको सकेन।ठूला टोलीलाई हराउने क्षमता देखाउने नेपालले अपेक्षाकृत दबाब कम भएका खेलमा अंक गुमाउने प्रवृत्ति दोहो¥याउँदै आएको छ।यही अस्थिरता अब नेपालको विश्वकप यात्राको सबैभन्दा ठूलो चुनौती बनेको छ।
‘बिग म्याच’ खेल्ने क्षमता छ, निरन्तरता छैन
नेपाली क्रिकेटको पछिल्लो प्रदर्शनलाई विश्लेषण गर्दा एउटा विरोधाभास स्पष्ट देखिन्छ।नेपालसँग ठूला टोलीलाई पराजित गर्ने क्षमता छ।घरेलु मैदानमा स्कटल्यान्डविरुद्धको जित त्यसको पछिल्लो उदाहरण हो।उक्त खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो।बलिङमा ललित राजवंशी र सन्दीप लामिछाने प्रभावशाली देखिएका थिए भने ब्याटिङमा कप्तान रोहित पौडेलले अविजित ७४ रन बनाएर टोलीलाई जित दिलाएका थिए।
तर, यही टोली अर्को खेलमा आफ्नो क्षमता र स्तरअनुसार प्रदर्शन गर्न सक्दैन र महत्वपूर्ण अंक गुमाउन पुग्छ।विश्वकप छनोटको दौडमा यही अस्थिरता घातक बनिरहेको छ।किनभने लिग–२ मा एउटा हारले केवल दुई अंक गुमाउँदैन, प्रतिस्पर्धी टोलीलाई आफूभन्दा अगाडि बढ्ने अवसर पनि दिन्छ।शीर्ष चारको दौडमा रहेका टोलीहरूबीच अंकको अन्तर धेरै ठूलो नहुँदा एउटा जितले टोलीलाई माथि उकास्न सक्छ भने एउटा हारले तत्कालै दबाबमा धकेल्न पनि सक्छ। नेपालले अब यही वास्तविकतालाई बुझ्नुपर्नेछ।
ब्याटिङमा अझै ठूलो प्रश्न
नेपालको पछिल्लो कमजोरीमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष ब्याटिङ हो।ओपनिङदेखि मध्यक्रमसम्म स्थिरता कायम गर्न नसक्दा टोलीले प्रतिस्पर्धात्मक स्कोर बनाउन संघर्ष गरेको छैन।कुशल भुर्तेल र आसिफ शेखजस्ता खेलाडीबाट नेपालले सुरुवातमा तीव्र रन अपेक्षा गरेको छ।तर, उनीहरूको प्रदर्शनमा निरन्तरता नहुँदा मध्यक्रममाथि अतिरिक्त दबाब पर्ने गरेको छ।कप्तान रोहित पौडेलले पटक–पटक व्यक्तिगत प्रदर्शनबाट टोलीलाई संकटबाट निकाल्ने प्रयास गरेका छन्।तर, कप्तानमाथि मात्र निर्भर हुने अवस्था दीर्घकालीन समाधान होइन।इशान पाण्डेजस्ता युवा खेलाडीले अवसर पाउँदा प्रभाव देखाएका छन्।स्कटल्यान्डविरुद्धको जितमा पाण्डे र रोहितबीचको शतकीय साझेदारी नेपालको जितको आधार बनेको थियो।तर, पछिल्लो शृंखलामा कुनै पनि खेलाडीले ठूलो पालि खेल्न सकेनन्।केही खेलाडीले लामो समयमा क्रिजमा बिताए पनि अपेक्षाकृत रन भने बनाउन सकेनन्।लिग–२ को बाँकी खेलमा नेपालले लक्ष्य निर्धारणदेखि रन पछ्याउने रणनीतिसम्म स्पष्ट योजना बनाउनुपर्नेछ।सुरुवात राम्रो भयो भने त्यसलाई ठूलो स्कोरमा बदल्ने क्षमता र सुरुवात कमजोर भयो भने पालि सम्हाल्ने मध्यक्रम दुवै पक्षमा सुधार आवश्यक छ।
बलिङ बलियो आधार
नेपालको सबैभन्दा सकारात्मक पक्ष भनेको बलिङ हो।सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी, दीपेन्द्रसिंह ऐरीलगायत खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्।तर, नेदरल्यान्ड्सको शृंखलमा करण केसीबाहेक अरु बलर चल्न सकेनन्।५० ओभरको खेलमा बलिङ र ब्याटिङबीच सन्तुलन अनिवार्य हुन्छ।नेपालले बलिङबाट विपक्षीलाई दबाबमा राखे पनि ब्याटिङमा कमजोर हुँदा त्यो मेहनत खेर जाने गरेको छ।त्यसैले बाँकी खेलमा नेपालले बलिङलाई आफ्नो प्रमुख हतियारका रूपमा कायम राख्दै ब्याटिङमा स्थिरता ल्याउनुपर्नेछ।विशेषगरी डेथ ओभरमा रन नियन्त्रण र नयाँ बलबाट विकेट निकाल्ने रणनीतिमा थप सुधार आवश्यक छ।
अबको चुनौती : अंक मात्र होइन, आत्मविश्वास पनि
नेपालका लागि बाँकी खेलमा अंक महत्वपूर्ण छ, तर त्योभन्दा पनि महत्वपूर्ण आत्मविश्वास हो।लिग–२ को पछिल्लो चरणमा नेपालले लगातार जित निकाल्न नसक्दा टोलीमा मनोवैज्ञानिक दबाब बढेको छ।हरेक खेलअघि ‘अब हार्न हुँदैन’ भन्ने मानसिकता बोकेर मैदानमा उत्रनुपर्ने अवस्था खेलाडीका लागि सहज हुँदैन।तर, यही दबाबलाई सकारात्मक ऊर्जामा बदल्न सक्ने हो भने नेपाल अझै दौडबाट बाहिरिसकेको छैन।दबाबको समयमा पनि खेल्न सक्ने नेपालको पुरानो छवि अब देखाउनुपर्ने आवश्यकता छ ।
एकदिवसीय मान्यता : अर्को ठूलो चिन्ता
नेपालको प्राथमिक लक्ष्य विश्वकप छनोटमा पुग्नु हो।तर, यससँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान बलियो बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ।नेपालले पछिल्ला वर्षमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ पहिचान बनाएको छ।यही मान्यता नेपाली क्रिकेटको विकास, खेलाडीको अवसर र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि महत्वपूर्ण आधार पनि बनेको छ।तर, लिग–२ मा कमजोर प्रदर्शनले नेपाललाई विश्वकप छनोटको दौडबाट मात्र टाढा लैजाँदैन, समग्र एकदिवसीय संरचनामा पनि असर पार्न सक्छ।त्यसैले अब नेपालको लक्ष्य तत्कालीन नतिजाभन्दा ठूलो हुनुपर्छ, एकदिवसीय क्रिकेटमा आफ्नो प्रतिस्पर्धात्मक हैसियत कायम राख्ने।यही कारण लिग–२ का बाँकी खेललाई नेपालले विश्वकप छनोटको अभियान मात्र नभई एकदिवसीय क्रिकेटको भविष्यका रूपमा पनि लिनुपर्नेछ।
प्रशिक्षक र टिम व्यवस्थापनको परीक्षा
नेपालको प्रदर्शनमा खेलाडी मात्र जिम्मेवार छैनन्।टिम व्यवस्थापनको रणनीति पनि उत्तिकै महत्वपूर्ण हुन्छ।प्रतिद्वन्द्वीअनुसार टोली चयन, पिचअनुसार प्लेइङ–११, ब्याटिङ अर्डर, बलिङ परिवर्तन र खेलको अवस्थाअनुसार रणनीति बनाउने विषयमा नेपालले थप परिपक्वता देखाउनुपर्नेछ।विशेषगरी ५० ओभरको क्रिकेटमा भावनाभन्दा योजनाले जित दिलाउँछ।टीट्वेन्टी क्रिकेटको आक्रामक मानसिकता र एकदिवसीय क्रिकेटमा धैर्यताको सन्तुलन कायम गर्न नसक्दा नेपालले केही खेल गुमाउनु परेको छ।त्यसैले प्रशिक्षक र कप्तानको मुख्य जिम्मेवारी खेलाडीलाई दबाबबाट मुक्त राख्दै हरेक खेलका लागि छुट्टाछुट्टै रणनीति तयार गर्नु हुनेछ।
प्रतिक्रिया दिनुहोस !