बजारमा १० दिनदेखि ग्यास अभाव
नेपाल आयल निगमको गोदाममा पर्याप्त मौज्दात रहेको सरकारी दाबी एकातिर छ भने अर्कातिर भान्छामा ग्यास रित्तिएर सर्वसाधारणको चुलो चिसो हुने क्रम रोकिएको छैन। भण्डार भरिभराउ छ भनिरहँदा पनि उपभोक्ता रित्तो सिलिन्डर बोकेर डिपोडिपो चहार्न बाध्य हुनुले आपूर्ति शृंखलामा रहस्यमय ‘अभाव’ सिर्जना गरिएको भन्न अप्ठ्यारो छैन।
काठमाडौं : नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौज्दात रहेको दाबी गरिरहेकै बेला बजारमा १० दिनदेखि ग्यास अभाव देखिएको छ।
निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो सञ्चालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्, जसले आपूर्ति व्यवस्थापनमा उद्योगीसँगको सम्भावित मिलेमतोबारे प्रश्न उठाएको छ।
नेपाल ग्यास कम्पनीको डिपो सञ्चालन गर्नुभएका ललितपुर बोलढोकाका सञ्चालकले १० दिनदेखि उद्योगले ग्यास नदिएको बताएका छन्। बजारमा ग्यास अभाव सिर्जना गराउँदा उद्योगीलाई आपूर्ति सीमित राखेर माग धेरै देखाउन सकियो भने, वितरणमा प्राथमिकता, नगद प्रवाहको व्यवस्थापन, वा सरकारसँग मूल्य समायोजन वा अन्य सुविधा माग्न दबाब बढाउन सक्ने अवस्था आउन सक्ने उपभोक्तावादीहरूले बताएका छन्। यो आयल निगमका कर्मचारी र उद्योगीको मिलेमतोबिना सम्भव नहुने पनि जानकारहरूले बताएका छन्।
आयल निगमका कर्मचारीलाई पनि अभाव हुँदा बजार अनुगमन भत्तालगायत सुविधा हुने र ग्यास अभाव हुँदा उद्योगीले कर्मचारीसँग आफ्नो उद्योगलाई ग्यास माग्न आर्थिक चलखेल गर्न सक्ने देखिएको उपभोक्ताले आरोप लगाएका छन्। उपभोक्तावादी माधव तिमल्सिनाले आयल निगमको असक्षमताका कारण बारम्बार ग्यासको अभाव हुने गरेको बताएका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका महासचिव अमित अग्रवालले भने पूरा सिलिन्डर भर्नुपर्दा समस्या भएको बताएका छन्। उनले भने, ‘अहिले जसरी भारतबाट दैनिक ५० हजार मेट्रिक टन ग्यास नियमित आएजसरी १ महिनामा आउने हो भने सबै उपभोक्ताले नियमित ग्यास पाउँछन्।’
सरकारले भारी सिलिन्डर बजार पठाउन थालेको दुई साता नबित्दै काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा १० दिनदेखि उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको हो। यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि नेपाल आयल निगमले २०८२ फागुन अन्तिमतिरबाट आधा मात्र भरिएको (७.१ किलो) सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो।
अहिले बजारमा ग्यास नपाएपछि सर्वसाधारणहरू डिलर र सप्लायरकहाँ पुगेर खाली सिलिन्डर लाइनमा राख्न बाध्य भएको उपभोक्ताले बताएका छन्। एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नुपरेको गुनासो उपभोक्ताबाट आउन थालेको छ।
काठमाडौंको कोटेश्वर घर बताउने कञ्चन मैनालीले आफूले १० दिनदेखि ग्यास नपाएको बताएकी छन्। एउटा मात्र सिलिन्डर ग्यास हुनेका लागि भने समस्या देखिएको उनको भनाइ छ।
ग्यासको अभाव हुनुमा भारतमा व्यावसायिक र घरायसी प्रयोजनका लागि भन्दै फरक मूल्य तोकेसँगै नेपाल सरकारले पनि ग्यासको अभाव सिर्जना गरी उपभोक्ता र व्यापारीलाई फरक मूल्यमा ग्यास बेच्न सक्ने अनुमान र आशंका पनि उपभोक्तावादीले उठाएका छन्।
एकातिर ग्यास डिपोहरूमा उपभोक्ताको थामिनसक्नु भिड छ भने अर्कातिर आयल निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको दाबी बारम्बार गर्दै आइरहेको छ। निगमले दाबी गरे पनि ग्यास पसलमा सर्वसाधारणको लाइन भने घटेको छैन। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो, अन्य डिलर र विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत् छ।
आयल निगमले हिजो शनिबार टेकुस्थित कार्यालयबाट ग्यास बेच्ने व्यवस्था गरे पनि उपभोक्ताको लामो लाइन रहेको थियो। आयल निगमले आफ्नो हटलाइन नम्बर ०१५९७१९०२ मा ग्यास नपाए सम्पर्क गर्नु भने पनि सम्पर्क हुँदैन। आयल निगमले आयात, ढुवानी, भण्डारण, वितरण, मूल्य निर्धारण, गुणस्तर नियन्त्रण, मौज्दात व्यवस्थापनको काम गर्दै आइरहेको छ।
निगमले सुरु गर्यो टेकुबाट ग्यास बिक्री
बजारमा अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास बिक्री बितरण सुरु गरेको छ। १४.२ केजीको ग्यास सिलिन्डरको बिक्री वितरणको सुरुवात गरेसँगै ग्यासको अभाव देखिएपछि निगमले शनिबारदेखि निगमको टेकुस्थित कार्यालयबाट ग्यास बिक्री सुरु गरेको हो।
काठमाडौं उपत्यकामा बजारीकरण गर्ने केही ग्यास उद्योगहरूको उच्च मागलाई मध्यनजर गर्दै नेपाल ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिन्डरहरू बिक्री वितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ।
निगमले बिक्री सुरु गरेसँगै उपभोक्ताहरू ग्यास लिन टेकु पुगेका छन्। त्यस्तै निगमले ग्यास अभाव भन्ने उपभोक्ताबाट गुनासो आइरहेकाले सम्पूर्ण ग्यास उद्योगीहरूले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन निगमले निर्देशनसमेत दिएको छ। दैनिक रूपमा मागअनुसारको ग्यासको आपूर्ति भइरहेका निगमले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !