प्रधानमन्त्रीले सक्रियता देखाउँदा पनि सेयर बजार घट्दो लयमा
काठमाडौं : सेयर बजारको निरन्तर घट्दो लय कहिले फर्कन्छ अनुमान लगाउन गाह्रो छ। आशै आशामा रहेका लगानीकतामा भरोसा र आत्मबल बढेको देखिँदैन। सरकार गठनको चौमास बितिसकेको छ। गत चैतको १२ गते २९५० अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ सय ६५ तल झरेको छ। त्यसबेला ५० खर्ब ९ अर्बमा रहेको सेयर बजार पुँजीकरणमा लगभग ४ खर्बले गिरावट आएको छ।
यसैबीचमा बजेट र मौद्रिक नीति आए तर व्यवसायी र उद्योगपतिमाथि सरकारको धरपक्कड बढिरह्यो। व्यावसायी पक्रने र सम्पत्ति छानबिनको डन्डा चलिरह्यो। सेयर बजारले उँधो गतिमात्रै लिएन, पहिरो जान मात्रै बाँकी रह्यो।
लगानीकर्तामा रहेको त्रासमा कमी सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कारबाहीलाई रोकेपछि मात्रै आयो। प्रधानमन्त्रीले आफैंले सक्रियता बढाउँदै सेयर बजार सरोकारवालासँग भेटघाट गर्न पनि सुरु गरे। उनले गभर्नर डा.विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा.गोपालप्रसाद भट्ट, लगानीकर्ता लगायतसँग छलफल पनि गरे। यी सबै उपाय ‘बिरामीलाई सिटामोलको डोजले सीमित समय काम गरे झैंं’ मात्रै भएको छ।
साउनको दोस्रो सातामा नेप्से १ दिन मात्रै बढ्यो भने ४ दिन घट्यो। अघिल्लो साता ५ दिन सेयर कारोबार भएकोमा १ दिन घटेर ४ दिन बढेको थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७३४.६० अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार उच्च अंकले घट्यो। त्यसदिन नेप्से ३३.२८ अंकले घटेर २७०१.२८ विन्दुमा झर्यो। त्यसको भोलिपल्टदेखि पनि निरन्तर ३ दिन नेप्से घट्यो। मंगलबार ४.६४ अंक, बुधबार ७.७९ अंक र बिहीबार १६.२९ अंकले घट्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार भने नेप्से १२.९६ अंकले बढेर नेप्से २६८५.५४ विन्दुमा पुग्यो।
सातामा ४ दिनको कारोबारमा ६२ अंकले घट्ने र एक दिनको कारोबारमा १२.९६ अंकले बढ्ने हुँदा नेप्सेमा ४९.०४ अंकले गिरावट आयो। अघिल्लो सातामा भने नेप्से ५७.०५ अंकले बढेको थियो। यस सातामा शुक्रबार न्यून विन्दु २६५३.२८ मा र सोमबार उच्च विन्दु २७४४.८९ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो।
यस साता सबैभन्दा कम बिहीबार र शुक्रबार ३ सय ३८ वटा कम्पनीको कारोबार भएकोमा सोमबार साताकै सबैभन्दा बढी ३ सय ६० स्क्रिप्टको कारोबार भयो। अघिल्लो साताचाहिँ बढीमा ३ सय ५३ स्क्रिप्टसम्मको मात्रै कारोबार भएको थियो।
यस साता सबैभन्दा कम सेयर कारोबार बिहीबार ३ अर्ब ३८ करोड १३ लाख र सबैभन्दा बढी सोमबार ६ अर्ब ८ करोड ८ लाख रुपैयाँको भयो। साताभरिमा ५ दिनको कारोबारमा २१ अर्ब ६७ करोड ८४ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ४ अर्ब ३३ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको देखाउँछ।
अघिल्लो साता भने २८ अर्ब ३३ करोड १६ लाखको कारोबार हुँदा औसतमा दैनिक ५ अर्ब ६६ लाख ६३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग २३ प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता भने औसत दैनिक सेयर कारोबार करिब ३ प्रतिशतले मात्रै घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४६ खर्ब १५ अर्ब २८ करोड रुपैयाँ छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४६ खर्ब ५९ करोड ६० करोड रुपैयाँ पुगेको थियो। साताभरमा नेप्से ४९.०४ अंकले घट्दा कुल बजार पुँजीकरण ८४ अर्ब ३२ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण ९९ अर्ब ४ करोड रुपैयाँले बढेको थियो।
अघिल्लो साता ४ दिन सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएकोे एभरेस्ट कलरको यस साता पनि ४ दिनै यथावत् हुन पुग्यो। उक्त कम्पनीको शुक्रबार सेयर मूल्य १ हजार ३ सय ९ रुपैयाँ पुगेको छ। यस साता कालिञ्चोक हाइड्रोपावरको भने नेगेटिभ सर्किट लेभलमा कारोबार भयो। त्यसैगरी सोमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १३.३८ प्रतिशत, बुधबार गरिमा समृद्धि योजनाको ६.६० प्रतिशत र बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६८ प्रतिशतले घटेका थिए। अघिल्लो साता बिहीबार कुथेली बुखरी स्थल हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।
सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता बैंकिङ समूहबाहेक अरू सबै १२ वटाको घट्यो। बैंकिङ समूहको ०.१५ प्रतिशतले बढेको थियो। अघिल्लो साता ११ वटाको बढेको थियो भने २ समूहको घटेको थियो। घट्नेमा म्युचुअल फन्ड र नन् लाइफ इन्स्योरेन्स समूह थिए।
यस साता सेन्सेटिभ इन्डेक्स ३.३४ अंक र फ्लोट इन्डेक्स २.८१ अंकले घटे भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.०५ अंकले बढ्यो। अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ५.०९ अंक, फ्लोट इन्डेक्स ३.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ अंकले बढेका थिए।
नेप्सेको सीईओमा आवेदन माग
नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन माग गरिएको छ। साउन १२ गतेको सूचनाअनुसार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा १५ दिनको म्यादभित्र आवेदन दिन सकिने छ।
यस पदमा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा स्नातकोत्तर हासिल गरेका, चार्टर्ड एकाउन्टेन्सी गरेकाले आवेदन दिन सक्नेछन्। साथै १५ वर्षको अनुभव तोकिएमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने छ। उम्मेदवारलाई व्यावसायिक कार्ययोजना पेस गर्न अनिवार्यता गरिएको छ।
नेप्सेका तत्कालीन सीईओ चूडामणि चापागाईंले असार २२ गते राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो। अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय सिईओ छनोट समिति गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस !