मधेसको नियति : आन्दोलनमा अगाडि, अवसर र विकासमा पछाडि
जनकपुरधाम : मधेस प्रदेशका ८ वटै जिल्लामा विरोध प्रदर्शन, हिंसात्मक क्रियाकलाप र झडपका घटना भइरहेका छन्। शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासनले शुक्रबारसम्म जनकपुर र सिरहामा कर्फ्यु लगाएको थियो। शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ। यहाँका सडकमा सेनाको व्यापक उपस्थिति छ। दुई समुदायबीचको असमझदारीका कारण फैलिएको हिंसा र द्वन्द्वले समाजमा भय, त्रास र डरको माहौल सिर्जना गरेको छ।
विद्यालय जाने बालबालिकाहरू घरभित्रै थुनिन बाध्य छन्। उद्योग–व्यवसाय ठप्प छन् भने विकास–निर्माणका सम्पूर्ण क्रियाकलाप अस्तव्यस्त बनेका छन्। अर्थात् मधेस फेरि अशान्त छ। ‘जेन–जी आन्दोलनले नमेटिने पीडा दिएर गयो। फेरि साम्प्रदायिकताका नाममा लफडा भइरहेको छ,’ मानवअधिकारकर्मी श्याम साह भन्छिन्, ‘यी सबै द्वन्द्वमा सुनियोजित रूपमा मधेस प्रयोग भइरहेको कुरा यहाँका जनताले बुझ्नुपर्छ।’
हिंसात्मक र उग्र प्रदर्शनको क्रममा व्यापारिक प्रतिष्ठान, निजी घर, निजी तथा सरकारी सवारी साधन, पसलहरू र उद्योगमा समेत आगजनी गर्ने काम साम्प्रदायिक द्वन्द्वको नाममा यसपटक पनि भए।
सिरहामा मात्रै आगजनी र तोडफोडले ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिको पूर्णतथ्यांक अहिले संकलन नै भइरहेको प्रहरीले जनाएको छ। हरेक आन्दोलनका नाममा यहाँका व्यापारिक प्रतिष्ठान, उद्योग–कलकारखाना, व्यापारिक भवनमा क्षति पुर्याउँदै गए मधेसमा कसरी व्यापार–व्यवसाय फस्टाउँछ ? भनेर यहाँका व्यवसायी चिन्ता व्यक्त गर्न थालेका छन्।

गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा मधेस प्रदेशमा सरकारी तथा निजी क्षेत्रमा ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको थियो। राष्ट्रिय योजना आयोगद्वारा मन्त्रिपरिषद्मा पेस गरिएको क्षति विवरणअनुसार जेन–जी आन्दोलनको क्रममा जनकपुरधामस्थित मधेस प्रदेशसभाको भवन पूर्णरूपमा जलेर नष्ट भएको थियो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत प्रदेशका २ सय ७ वटा कार्यालयमा आगजनी र तोडफोड भएको थियो।
हिंसात्मक प्रदर्शनको क्रममा प्रदेशका १३ वटा प्रहरी कार्यालय पूर्णरूपले क्षति भएका थिए। ७७ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुर्याइएको थियो। त्यसैगरी एमाले, कांग्रेसलगायत पार्टीका मधेसस्थित प्रादेशिक तथा जिल्ला कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा करोडौंको क्षति भयो।
त्यत्ति मात्रै नभई सो आन्दोलनको बेला भएको प्रदर्शनमा परी ८४ जना प्रहरी र १२ जना सर्वसाधारण घाइते भएका थिए भने १ जनाको त मृत्यु नै भयो। हालै मात्र भएको आन्दोलनको क्षतिलाई पुनर्निर्माणमा समेत बदल्न नपाउँदै फेरि अर्को आन्दोलनको चपेटामा मधेस परेको छ।
जेन–जी आन्दोलनका क्रममा भएको विध्वंस र विनाशको पीडा बिर्सिन नपाउँदै फेरि मधेसमा सल्केको हिंसाको आगोलाई जतिसक्दो छिटो साम्य पार्न राज्यले जुन प्रकारको भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो नगरेको भन्दै यहाँका बुद्धिजीवी, नागरिक समाजका अगुवा र सर्वसाधारणले व्यापक गुनासो गरिरहेका छन्।
राजनीतिक, धार्मिक, व्यापारिक र सांस्कृतिक गरी जुनसुकै द्वन्द्वमा पनि मधेसको भूमिलाई प्रयोग गरिने प्रवृत्तिले मधेसलाई झन्–झन् अधोगतितर्फ लग्दै गएको यहाँका बुद्धिजीवी बताउँछन्। अर्कोतिर, मुलुकको साक्षरता दर ७६ प्रतिशत छ भने मधेस प्रदेशको ६३.५ प्रतिशत मात्रै छ। त्यसमा पनि महिलाहरूको साक्षरता दर ५२ प्रतिशत मात्रै छ।
नेपालमा बहुआयामिक गरिबी १७.४ प्रतिशत जनसंख्यामा छ भने मधेस प्रदेशमा यो दर करिब २४.२ प्रतिशत छ। शिक्षा, स्वास्थ्य, रोजगारी र विकासको क्षेत्रसहित मानव विकास सूचकांकमा समेत देशका अन्य प्रदेशहरूभन्दा मधेस प्रदेश निकै पछाडि परेको छ।
लगानी जोगाउनै धौ–धौ, कसरी हुन्छ विकास ?
युवा उद्यमी नवीन साहले उच्च शिक्षा हासिल गरेपछि ‘मधेसमै केही गर्नुपर्छ’ भन्ने उद्देश्यका साथ व्यापार–व्यवसाय सुरु गरे। उनले १ करोडभन्दा बढी रुपैयाँको लागतमा जनकपुरको जिरो माइल क्षेत्रमा निकै आधुनिक र सांस्कृतिक पहिचान झल्किने रेस्टुरेन्टको भौतिक संरचना तयार पारे। रेस्टुरेन्ट निर्माणमा स्थानीय उत्पादन बाँसको व्यापक प्रयोग गरेर मौलिकता झल्काउने प्रयास पनि गरे। तर, रेस्टुरेन्ट सञ्चालनमा नआउँदै जनकपुरमा साम्प्रदायिक आन्दोलन र हिंसा चर्किएपछि नवीन चिन्तित छन्।
‘मैले स्वपुँजी लगानी गरेर बनाएको रेस्टुरेन्टको छेवैमा प्रहरी चौकी छ भने त्यसको अर्को छेउमा पेट्रोल पम्प छ, यदि हिंसात्मक आन्दोलन चर्केर कतैबाट एउटा आगोको झिल्का मात्रै पुग्यो भने सबै बर्बाद हुन्छ,’ नवीनले भने, ‘यो मेरो मात्रै समस्या होइन। मधेसमा लगानी गर्न खोज्नेहरूको साझा समस्या बनेको छ। हाम्रो पुँजी सुरक्षित छैन।’ मधेसलाई जहिले पनि राजनीतिक रूपमा प्रतिशोध साध्नका लागि विभिन्न तरिकाले प्रयोगशाला बनाइएको उनको आरोप छ। ‘तर, यो सब गरेबापत मधेसले के पायो ? सधैं हेपाइ र अवहेलना मात्रै ? अब पनि हामी सचेत भएनौं भने हाम्रो आगामी पुस्ताको भविष्य झनै बर्बाद हुन्छ।’
मधेसको संवेदनशीलता, यहाँको आवश्यकता र यहाँका मानिससँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरामा राज्यपक्ष संवेदनशील नभएकै कारण पटक–पटक मधेसमा सल्किने गरेको सामाजिक अभियन्ता सुरेश शर्मा बताउँछन्। ‘मधेसलाई हलुका तरिकाले विश्लेषण गर्ने प्रवृत्ति राज्यको छ र अर्कोतर्फ मधेसवासीले पनि जुन मुद्दा वा जुन सवाललाई लिएर आन्दोलनमा भाग लिन्छन्, पछि त्यसैलाई बिर्सिदिने प्रवृत्ति छ, जसले गर्दा मधेसले जहिले पनि क्षति मात्रै बेहोरेको छ,’ शर्मा भन्छन्, ‘जबसम्म मधेसवासीले आफ्नो क्षतिलाई विश्लेषण गर्दैनन्, तबसम्म प्रयोग मात्रै भइरहन्छन्। यसबाट निकास पाउने एउटै माध्यम छ– आफ्नो हितमा सोच्ने र मधेस एकताको सूत्रमा बाँधिने।’
मधेस प्रदेशमा १८ हजार ४१९ वटा लघु तथा साना उद्योग र २५ हजार ८ सय ५१ वटा कम्पनीहरू दर्ता रहेको आर्थिक सर्वेक्षण २०८२//८३ को तथ्यांकले देखाउँछ। औद्योगिक कर्जा प्रवाह ५.४२ प्रतिशतले मात्रै वृद्धि भएको यस प्रदेशमा पर्यटन पूर्वाधारतर्फ १२ वटा तारेहोटल सञ्चालनमा छन्।
कुनै बेला ज्ञानको केन्द्र, हाल पहिचान जोगाउनै हम्मे
कुनै बेला मधेस ज्ञान, संस्कृति र शिक्षाको महत्वपूर्ण केन्द्र थियो। यहाँका शिक्षकहरू देशभरि नै प्रख्यात थिए। देशका विभिन्न भागबाट शिक्षा आर्जनका लागि विद्यार्थीहरू मधेस आउँथे। तर, अहिले अवस्था निकै फरक छ। पटक–पटकको आन्दोलन, हिंसात्मक गतिविधि र नकारात्मक प्रचारका कारण मधेसको शैक्षिक क्षेत्र धराशायी बन्दै गएको राजर्षि जनक विश्वविद्यालयका सहायक व्याख्याता अशोक साह बताउँछन्।
‘१० वर्षअघिसम्म पनि शिक्षाको बेस एक हिसाबले राम्रै थियो तर, अहिले त्यसको स्तर नै ध्वस्त भइसकेको छ,’ उनले भने, ‘विभिन्न कालखण्डमा विभिन्न भावनाहरूलाई मुद्दा बनाएर मधेसमा राजनीति गर्ने राजनीतिज्ञहरूले यो क्षेत्रलाई प्रयोग गरेका छन्। यहाँका पूर्वाधारहरू भत्किएका छन्। भौतिकभन्दा पनि अभौतिक पूर्वाधारको अवस्था झनै नाजुक बन्दै गएको छ।’ विद्यार्थीहरूका लागि अनुशासन, नैतिकता, समयसापेक्ष शिक्षा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी शिक्षाको विकासका लागि काम नै नभएको उनको गुनासो छ।
‘एकातर्फ हामी सबै एक हौं, कसैमा भेदभाव छैन, अवसरमा समान पहुँच होस् भन्ने अधिकारको आन्दोलनबाट निस्केर अलि तंग्र्रिन खोजेका छौं,’ उनले भने, ‘अर्कोतर्फ फेरि नयाँ मुद्दा उठाएर हिंसा भड्काउने क्रियाकलाप गराएर बालबालिकाहरूलाई शिक्षाबाट बिमुख गर्ने खेल भइरहेको छ। यस्तो क्रियाकलाप रोक्न समाजका सचेत वर्ग एकजुट भएर आवाज उठाउनु जरुरी छ।’
मधेस प्रदेशमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयको अनुपात कुल विद्यालयको ६४ प्रतिशत र ३६ प्रतिशत रहेको छ। यहाँ सामुदायिक विद्यालयको संख्या राष्ट्रिय औसतभन्दा ३० प्रतिशत बढी रहे पनि उच्च तहमा विद्यार्थी टिकाउ दर न्यून छ।
- जेन–जी आन्दोलनको क्षति कम हुन नपाउँदै साम्प्रदायिक तनावका कारण मधेस प्रदेश फेरि अशान्त बनेको छ भने जनकपुर र सिरहालगायतका क्षेत्रमा कफ्र्यु तथा निषेधाज्ञा लागू गरिएको छ।
- पछिल्लो साम्प्रदायिक तोडफोड र आगजनीबाट सिरहामा मात्रै करिब ५० करोड रुपैयाँको आर्थिक क्षति भएको छ भने यसअघिको जेन–जी प्रदर्शनमा ४ अर्ब ९२ करोड बराबरको भौतिक संरचना ध्वस्त भएको थियो।
- साक्षरता दर (६३.५ प्रतिशत) र बहुआयामिक गरिबी (२४.२ प्रतिशत) जस्ता सूचकमा मधेस देशकै अन्य प्रदेशभन्दा पछाडि छ, बारम्बारको द्वन्द्वले गर्दा युवा उद्यमी र व्यवसायीहरूको लगानी जोखिममा परेको छ।
- स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको अगुवाइमा जनकपुरमा सद्भाव र्याली निकालिए पनि असन्तुष्ट पक्षको विरोधका कारण अवस्था अझै पूर्णरूपमा शान्त भइसकेको छैन।
गुणस्तरीय शिक्षाको अभाव, अभिभावकमा साक्षरता दरको कमी र रोजगारीको अभावका कारण युवाहरू सानातिना विषयमा पनि हिंसात्मक दंगा र झडपमा भाग लिन उन्मुख हुने गरेको शिक्षक प्रमोद झाको धारणा छ। बालबालिकाहरूलाई उज्ज्वल भविष्यका लागि तयार गर्नेतर्फ ध्यान पुर्याउन सकिएन भने उनीहरू अझ बढी उग्र र उदण्ड हुने सम्भावना रहेको झा बताउँछन्।
मधेसले कहिलेसम्म द्वन्द्व र हिंसा भोग्ने ?
‘२०४६ सालदेखि निरन्तर कुनै न कुनै खालको हिंसा, द्वन्द्व र विध्वंस भोग्दै आएको मधेसमा शान्ति र स्थिरता कहिले आउँछ ?,’ महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी श्याम साहको प्रश्न छ। ‘हामी मधेसीहरूले कहिलेसम्म द्वन्द्व र हिंसाको मार सहनुपर्ने हो ? थाहा छैन,’ उनी भन्छिन्, ‘माओवादी द्वन्द्वपछि २०६३÷६४ मा पहिलो मधेस आन्दोलन र ०७२÷७३ मा दोस्रो मधेस आन्दोलनको मारमा हामी पर्यौं। त्यस आन्दोलनले पहिचान र अधिकार दिलाए पनि त्यसलाई मधेसका राजनीतिक दलहरूले संस्थागत गर्न नसक्दा त्यसको हर्जाना पनि यहाँका जनताले नै चुकाइरहेका छन्।’
मधेस आन्दोलनपछि पनि भूमिगत सशस्त्र समूहको बिगबिगी र त्रास मधेसी जनताले नै भोगेको साह बताउँछिन्। धार्मिक व्यक्तिहरूले कहिल्यै पनि अतिवादी क्रियाकलाप र हिंसालाई प्रवद्र्धन गर्नै नसक्ने भन्दै साहले अनावश्यक हल्ला र आक्रामकताका पछाडि लागेर आफ्नै नोक्सान गर्न नहुने बताइन्।
पहिलो मधेस आन्दोलनमा मधेसमा ५४ जनाले ज्यान गुमाएका थिए भने दोस्रो मधेस आन्दोलनमा ५६ जनाको मृत्यु भएको विभिन्न तथ्यांकहरूले देखाउँछन्।
खुला सीमा पनि हिंसा भड्काउने कारक
प्रदेशका ८ वटै जिल्ला भारतसँगको खुला सीमानासँग जोडिएका छन्। खुला सीमानाका कारण मधेसलाई थुप्रै फाइदा भए पनि अनगिन्ती नोक्सानी पनि व्यहोर्नुपरिरहेको छ।
‘यो भूमि अशिक्षा, गरिबी र विभेदले सधैं थिचियो। यहाँका मानिसहरूले आफ्नो पहिचान र अधिकारका लागि सधैं संघर्ष गर्नुपरेको छ। राज्यप्रति एक खालको वितृष्णा छ, त्यसकै परिणति देखिन्छ– सामान्य कुराहरूमा पनि अत्याधिक आक्रोश र हिंसा,’ राजनीतिक विश्लेषक रणधीर चौधरी भन्छन्, ‘१९९० पछि सम्भावनाका जुन अवसरहरू खुले, त्यसको लाभ मधेसले पनि लियो। यहाँका मानिसहरू भारतसहित खाडीमुलुकमा गएर परिश्रम गरी रोजगार पाए।
त्यहाँबाट पठाएको पैसाले आफ्ना बालबालिकाहरूलाई राम्रो शिक्षादीक्षा दिने प्रयासमा लागे। घरहरू पक्की बन्न थाले र त्यससँगसँगै अधिकारको खोजी पनि हुन सुरु भयो।’ देशको अनुहारमा आफ्नो भाषा, आफ्नो अनुहार हेर्न नपाउँदा मधेसका जनतामा रिस र आवेग बनेको चौधरीको भनाइ छ। ‘खुला सीमानाका कारण थुप्रै अवाञ्छित गतिविधिहरू पनि मधेसमा भइरहेका छन्,’ चौधरी भन्छन्, ‘जसकारण यहाँका केही व्यक्तिहरूले ‘इजी मनी’ कमाउने उपाय बनाए। त्यो इजी मनीसँगै अपराधलाई प्रश्रय दिने खालका थुप्रै विषयहरूले पनि मधेसमा प्रवेश पाएका छन्। र बेलाबेलामा आक्रमण, हिंसा र मुठभेडका घटना भइरहेका छन्।’
हिंसात्मक गतिविधिले कहिल्यै पनि विकास र समृद्धि दिन नसक्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन्। ‘हामी धार्मिक भाइचारा र प्रेमभावले यो समाजमा बस्दै आएका छौं। कतै कसै एक जनाबाट गल्ती भयो भने त्यसलाई साम्प्रदायिक मुद्दा बनाएर हिंसा र आतंक मच्चाउनु उचित होइन,’ महन्थ दास भन्छन्, ‘समाज अहिले विकृतितर्फ बढी उन्मुख भएको छ। गोली–बन्दुक, ढुंगामुढा र अराजकताले समाजमा घृणा मात्रै फैलाउँछ, त्यसैले मेरो अनुरोध छ– हामी विकास, पर्यटन प्रवद्र्धन र सुनौलो भविष्य बनाउनका लागि प्रयत्न गरौँ, हिंसा त्यागौं।’
६५ जना पक्राउ
नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा ६५ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयकाअनुसार सबैभन्दा बढी धनुषाबाट ४५ जना, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना, पर्साबाट १ जना, सप्तरीबाट १ जना र सुनसरीबाट २ जनालाई नियन्त्रणमा लिइएको छ।
पछिल्ला दिनहरूमा तराई–मधेसका विभिन्न जिल्लामा साम्प्रदायिक तथा सामाजिक सद्भाव बिगार्ने घटनाहरू बढ्दै गएपछि सामाजिक शान्ति, सुरक्षा र सद्भाव कायम राख्न सुरक्षा निगरानी तथा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।
‘सामाजिक सञ्जालमा कुनै पनि खालको साम्प्रदायिक वा धार्मिक द्वन्द्व फैलाउने खालका अभिव्यक्ति वा कन्टेन्टहरू राखिएको पाइएमा नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गर्छौं,’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल भन्छन्, ‘सामाजिक सञ्जालमा निकै गम्भीरताका साथ निगरानी गरिरहेका छौँ। अब कुनै पनि हिंसा र प्रतिशोध भड्काउने खालका क्रियाकलाप गर्नेहरूलाई उन्मुक्ति दिइने छैन।’
जनकपुरमा सद्भाव र्याली
जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा जनकपुरमा ‘नेपाली एकता जिन्दावाद, हामी सबै एक हौं’ जस्ता नाराहरू घन्काउँदै शनिबार सद्भाव र्याली निकालिएको थियो। रेल्वे स्टेसनबाट निकालिएको सद्भाव र्यालीमा विभिन्न सम्प्रदायका नागरिकहरूले सहभागिता जनाएका थिए।
र्यालीमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य मनिष झा, रास्वपा सांसद रामविनोद यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहहरूसहितका जनप्रतिनिधिहरूको समेत सहभागिता थियो।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वपक्षीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। सद्भाव र्याली निस्केकै बेला असन्तुष्ट पक्षहरूले विरोधमा नाराबाजी गरेका थिए। असन्तुष्ट पक्षहरूले जसको आन्दोलन हो उनीहरूकै असहमति रहेको भन्दै सामाजिक सञ्जालमा चर्चा गरेका थिए। त्यसैकारण मधेस अझै पनि शान्त भइनसकेकाले जिम्मेवार निकाय चनाखो भएर बस्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन्।
प्रतिक्रिया दिनुहोस !