किन हुन्छ डिम्ब तस्करी ?
चर्चित डाक्टरहरूले नै विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभन दिएर डिम्ब तथा वीर्य किन्ने–बेच्ने धन्दा चलाइरहेका छन्।
काठमाडौं : गत असार १४ गते ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी आईभीएफमा लगेर १७ वर्षीया नाबालिगको डिम्ब निकालिएको छ। कक्षा ११ मा पढ्ने ती नाबालिगलाई एजेन्टमार्फत पैसाको प्रलोभन दिएर डिम्ब बेच्नका लागि तयार गरिएको थियो। स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माको टोलीले किशोरीको डिम्ब निकालेको थियो। परिवारलाई थाहा नदिई डिम्ब निकाल्नका लागि राजी भएकी किशोरीको डिम्ब निकालेपछि अनेक समस्या आएर बिरामी परेकी थिइन्। अनि मात्रै यो विषय उनका आफन्त हुँदै प्रहरीसम्म पुगेको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मि श्रका अनुसार नाबालिगको डिम्ब तस्करीको घटनामा लमजुङकी २१ वर्षीया राधिका गोतामे पक्राउ परेकी थिइन्। अदालतले उनलाई हाजिरी जमानीमा छाडेको छ। ‘घटनामा संलग्न अन्य व्यक्ति पनि भएकाले गोप्य रूपमा अनुसन्धान गरिएको छ,’ उनले भने। घटनामा संलग्न केही फरार रहेका छन्, निगरानी बढाएर अनुसन्धान अगाडि बढाइएको छ।
राधिकाले नै ती किशोरीलाई पैसाको प्रलोभन दिएर ‘डिम्ब निकाल्दा केही फरक पर्दैन’ भन्दै तयार पारेकी थिइन्। आफूले पनि पटक–पटक डिम्ब दिएको बताउँदै एक पटक डिम्ब निकालेको ५० हजार रुपैयाँ प्राप्त हुने भन्दै प्रलोभन दिएकी थिइन्। पैसाको प्रलोभनमा पर्दै किशोरीले डिम्ब निकालेकी थिइन्। त्यसपछि राधिकाले उनलाई ३० हजार मात्र दिएकी थिइन्।
डा. नूतन शर्माको टोलीले किशोरीको डिम्ब निकालेको पीडितको भनाइ छ। तर, डा. शर्माविरुद्ध भने कुनै पनि कानुनी अप्ठ्यारो परेको छैन। उनी देशबाहिर रहेको बताइएको छ। किशोरीको शरीरमा समस्या आएर उपचारपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरमा उनीहरूले उजुरी दिएका हुन्।
२०८२ को असारमा पनि काठमाडौंमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस्तै डिम्ब तस्करीमा संलग्नहरूलाई पक्राउ गरेको थियो। बबरमहलको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमार्फत डिम्बको तस्करी भएको भन्दै त्यहाँका सञ्चालकसमेत अनुसन्धानमा तानिएका थिए। अनुसन्धानका क्रममा डा. स्वस्ति शर्मा, प्रत्युषा बराल, असीम अधिकारी, मलिनी चौधरी, एलिसा ओली र जस्टिना प्रधानसहित ७ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको थियो। अनुसन्धान सकेर सीआईबीले गत भदौमा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेको थियो। तर तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले गत ३० असोजमा यो मुद्दा नचल्ने निर्णय गरेकी थिइन्। भण्डारीको निर्णय विवादमा आएको थियो।
किन निकालिन्छ डिम्ब ?
निःसन्तान दम्पतीलाई सन्तान प्राप्तिका लागि अन्य महिलाको डिम्ब प्रयोग गरिन्छ। यसरी संकलन गरिएको डिम्बलाई आईभीएफमार्फत बच्चाको उत्पादन (प्रजनन) गरिन्छ। पछिल्लो समय नेपालमा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त हुने बहानामा आईभीएफ सेन्टर खुल्ने प्रचलन बढ्दो छ। यसलाई नियमन गर्न कानुन नहुँदा अनेक समस्या देखिइरहेका छन्। चर्चित डाक्टरहरूले नै विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभन दिएर डिम्ब तथा वीर्य किन्ने–बेच्ने धन्दा चलाइरहेका छन्। यही पद्धतिमार्फत केही दम्पतीहरूले सन्तान प्राप्ति पनि गरेका छन्।
कानुनी प्रबन्ध के–के छ ?
अवैध रूपमा डिम्ब बेचबिखन गरेको घटना बढ्न थालेपछि सरकारले नयाँ मापदण्ड तयार पारेको थियो। सरकारले निःसन्तान उपचार (आईभीएफ) सेवालाई नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ जारी गरेको थियो।
संविधानले सुनिश्चित गरेको प्रजनन अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न र बाँझोपना उपचार सेवामा एकरूपता ल्याउन मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार अधिकार प्रयोग गरी मापदण्ड जारी गरेको छ। यो मापदण्डअनुसार नाबालिगले डिम्ब दान गर्न पाउँदैनन्।
मापदण्डअनुसार अब डिम्बदान प्रक्रिया निश्चित सीमा, गोपनीयता र स्वास्थ्य सुरक्षासहित गर्नुपर्नेछ। डोनरको उमेर २० देखि ३५ वर्षभित्रको हुनुपर्ने र डिम्बदान गर्नुअघि शारीरिक परीक्षण र प्रयोगशाला जाँचमार्फत सरुवा रोग नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ।
महिला, कानुन तथा विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठका अनुसार नेपालको कानुनले डिम्बदानलाई अपराध मानेको छैन। कानुन पूर्ण नभएकाले पनि यस्ता घटना बढिरहेका छन्। ‘डिम्बलाई दान गर्ने भनिएको छ,’ उनी भन्छन्, ‘तर यहाँ डिम्ब किन्ने र बेच्ने समूह नै सक्रिय छन्।’ आईभीएफ सेन्टरको बाटो हिँड्ने मान्छेलाई समेत जबरजस्ती लगेर, प्रलोभन पारेर डिम्ब निकालिदिने गरेका घटना पनि सुन्नमा आएको उनले जानकारी दिए।
अधिवक्ता श्रेष्ठ आईभीएफ सेन्टरले डोनरको रूपमा लिने व्यक्तिहरू अहिलेसम्म आर्थिक रूपमा कमजोर अवस्थाका देखिन्छन्। अहिलेसम्म डिम्ब दानको विषयमा कानुनले प्रस्ट रूपमा सम्बोधन गरेन। आईभीएफ सञ्चालकहरू आफू अनुकूलको कानुन ल्याउनका लागि लबिइङ गरिरहेको देखिन्छ। कानुन बन्ने क्रममा छ। श्रेष्ठ थप्छन्, ‘जे भए पनि नाबालिगको डिम्ब तस्करी गर्नेहरूलगायत विरुद्ध बालबालिकासम्बन्धी कसुर र मानव बेचबिखन कसुरमा पनि अनुसन्धान गर्न सकिन्छ।’
डिम्ब निकाल्ने प्रक्रिया सामान्य मानिस वा बिचौलियाले एक्लै गर्न सक्ने काम होइन। यसका लागि उच्चस्तरीय प्रविधि, भिडियो एक्स–रे (अल्ट्रासाउन्ड), हर्मोनल इन्जेक्सन र शल्यक्रियात्मक प्रविधि आवश्यक पर्छ। त्यसैले यस्ता घटनामा पोख्त आईभीएफ विशेषज्ञ र नाम चलेका क्लिनिकहरूकै मुख्य हात हुने गरेको अधिवक्ता श्रेष्ठले जानकारी दिए।
प्रहरीले अनुसन्धान गर्ने क्रममा डा. नूतन शर्मा र पक्राउ परेकी राधिका गोतामेबीच पटक–पटक आर्थिक लेनदेन भएको पनि भेटिएको छ। यस विषयमा ललितपुर प्रहरी प्रवक्ता मिश्र टुंग्याउँछन्, ‘अनुसन्धान चलिरहेको छ, दोषी उम्कँदैनन्।’
प्रतिक्रिया दिनुहोस !