श्रद्धामा फुलेको आँसुको फूल

श्रद्धामा फुलेको आँसुको फूल
सुन्नुहोस्

सुर्यले अझै पहाडको टुप्पो नाघिसकेको थिएन। बिहानको चिसो हावाले मन्दिरको आँगनभरि रातभर झरेका पारिजातका फूलहरूलाई हल्लाइरहेको थियो। धूपको हल्का गन्ध, बिस्तारै हराउँदै गएको घण्टीको प्रतिध्वनि र शिवलिंगमाथि निरन्तर झरिरहेको जलधाराले त्यहाँ यस्तो मौनता रचेको थियो, जसलाई शब्दले होइन, केवल अनुभूतिले सुन्न सकिन्थ्यो। म त्यही मौनताको छेउमा उभिएको थिएँ।  श्रद्धालुहरू फर्किसकेका थिए।

कसैले चढाएका राताम्मे गुराँसहरू ओइलाउँदै थिए। एउटी वृद्धा हातमा कुचो लिएर मन्दिरको आँगन बढार्दै थिइन्। उनको चालमा कुनै हतार थिएन। लाग्थ्यो, उनी मन्दिरको परिसर होइन, आफ्नै जीवनका वर्षहरू विस्तारै समेटिरहेकी छन्। अचानक उनी रोकिइन्। कुचोको टुप्पोमा एउटा ओइलिएको फूल अड्किएको थियो। उनले त्यसलाई कुचोले पन्छाइनन्। बिस्तारै झुकिन्, दुवै हातले उठाइन्, केही क्षण आँखा अगाडि राखेर हेरिन् र निधारमा लगेर छोइन्। त्यसपछि तुलसीको मठको फेदीमा राखिदिइन्।

केहीबेर उनलाई हेरिरहेँ। त्यही कुचोले केही क्षणअघि यस्तै अरू फूलहरू बढारेर डोकोमा फालेको देखेको थिएँ। आफूलाई रोक्न सकिनँ र सोधे, ‘आमा, यो फूल किन फाल्नुभएन ?’ वृद्धाले मलाई हेरेर मुस्कुराइन्। त्यो मुस्कानमा उमेरले पनि खोस्न नसकेको उज्यालो चमक थियो। ‘बाबु’, उनले भनिन्, ‘सबै फूल एउटै हुँदैनन्।’ तुरुन्तै ओइलिएका अरू फूलतिर हेरेँ। ‘तर, यी पनि त उस्तै हुन् नि !’ उनले टाउको हल्लाइन्। ‘फूल उस्तै हुन् र हुन्छन् पनि। फरक त दृष्टिमा हुन्छ।’ उनले दिएको उत्तर सुनें, तर बुझिनँ। उनी फेरि बोलिन्, ‘यो फूल भगवान्को शिरमा चढेको थियो। ओइलियो, यसको रङ हरायो, सुगन्ध हरायो, तर यसको यात्रा हराएको छैन। जसलाई  श्रद्धाले छोइयो, त्यसलाई कुचोले बढार्न मन मान्दैन।’ मलाई मनको कतै धेरै पुरानो ढोका खोलेको जस्तो लाग्यो।

मन्दिरबाट फर्कँदै गर्दा बाटोछेउको सानो खोलाले मेरो पाइला रोक्यो। पहाडबाट झरेको त्यो पानी हतारमा थियो। केही पर पुगेपछि त्यही खोला नदी कहलिन्थ्यो। अझ तल पुगेर कसैले त्यही पानीलाई ‘जल’ भनेर अञ्जुलीमा उठाउँथ्यो। समुद्रमा पुगेपछि संसारले फेरि अर्को नाम दिने थियो। तर, पानीले कहिल्यै आफ्नो परिचय फेरेको थिएन। नामहरू त केवल हामीले दिएका थियौं। 

अचानक लाग्यो— हामी पनि त पानीजस्तै हौं। हामी जन्मँदा न हामीसँग पद हुन्छ, न परिचय। न कुनै धर्म हुन्छ, न कुनै प्रतिष्ठा। हामीसँग केवल एउटा सास हुन्छ र एउटा रुवाइ हुन्छ। त्यसपछि बल्ल समाजले हामीलाई नाम दिन्छ, थर दिन्छ, जात दिन्छ, धर्म दिन्छ, पद दिन्छ, मान दिन्छ र अपमान पनि दिन्छ।

यति धेरै परिचयले हामीलाई ढाकिदिन्छ कि एक दिन हामी आफ्नै वास्तविक अनुहार बिर्सन पुग्छौं। सायद त्यसैले होला, बच्चाहरू सुन्दर देखिन्छन्। उनीहरू अझै परिचयभन्दा माथि आफ्नै अस्तित्वमा बाँचेका हुन्छन्। त्यही बेला मलाई एउटा पुरानो घटनाको सम्झना आयो। सानै थिएँ। हजुरआमा बित्नुभएको दिन गाउँभरि मानिसको भीड थियो। पहिलोपटक बुबालाई रोएको देखेको थिएँ। ती मानिस, जसलाई मैले कहिल्यै कसैको सामु झुकेको देखेको थिइनँ, त्यो दिन आमाको काखलाई सिरानी बनाएर बालकजस्तै रुँदै हुनुहुन्थ्यो। त्यो दृश्यले मलाई डर लाग्यो।

पछि आमालाई सोधेको थिएँ, ‘बुबा पनि रुनुहुन्छ र ?’ आमाले मेरो टाउको सुम्सुम्याउँदै यति मात्र भन्नुभएको थियो, ‘छोरा, धेरै माया गर्नेहरू धेरै रुन्छन्।’ त्यो बेला मैले यो कुरा बुझिनँ। आज मन्दिरको आँगनमा वृद्धाले निधारमा छुवाएको ओइलिएको फूलले आमाको त्यो वाक्य फेरि सम्झाइदियो। हामीले आँसुलाई कमजोरी ठान्यौं, किनकि त्यसलाई केवल दुःखसँग मात्र जोड्यौं। तर, प्रकृतिले आँसुको कुनै धर्म बनाएको छैन। पहिलो सन्तान जन्मिँदा आमाको आँखामा आउने आँसु र अन्तिम सास फेरिरहेका बाबुको हात समात्दा झर्ने आँसु एउटै आँखाबाट झरिरहेका हुन्छन्। वर्षौंपछि विदेशबाट फर्किएको छोरालाई अँगाल्दा बुबाको आँखाबाट झर्ने आँसु पनि त्यही नै हो।

मन्दिरमा भगवान्को सामु उभिँदा  श्रद्धाले भरिने आँखाको हालत पनि त्यही हो। इष्र्यामा, क्रोधमा, पश्चातापमा, प्रेममा, वियोगमा वा मिलनमा— आँसुले रूप बदल्दैन, बदलिन्छ त केवल त्यसको अर्थ। त्यसैले आँसुको रङ एउटै भए पनि त्यसका कथाहरू कहिल्यै एउटै हुँदैनन्। मानिसलाई प्रायः हाँसेको अनुहारले चिन्छौं। तर मानिसको वास्तविक परिचय उसको मुस्कानमा होइन, उसले कसका लागि आँसु बगाउँछ भन्ने कुरामा लुकेको हुन्छ। जसको मन ढुंगा झैं कठोर हुन्छ, उसको आँखा सुक्खा हुन पनि सक्छ। तर, जसको मन नदी हुन्छ, उसको आँखामा कुनै न कुनै मौसम बगिरहेकै हुन्छ।

दिनभरिको आफ्नो काम सकेर साँझतिर म फेरि त्यही मन्दिर पुगेँ। बिहान तुलसीको फेदीमा राखिएको फूल अब झन् धेरै ओइलाइसकेको थियो। तर, त्यसको वरिपरि धूपको सुगन्ध अझै बाँकी थियो। धेरैबेर त्यसैलाई हेरिरहें। अचानक मलाई लाग्यो— ओइलाएको फूल सुन्दर हुन छोडेको थिएन, मैले पो सुन्दरतालाई केवल ताजापनसँग जोडेर हेरेको रहेछु। सायद जीवनमा यस्तै भोगिरहेका हुन्छौं। कोही जवान हुँदा सम्मान गर्छौं, वृद्ध हुँदा बेवास्ता। ऊ सफल हुँदा वरिपरि बस्छौं, असफल हुँदा टाढा। ऊ उपयोगी हुँदा आफ्नै लाग्छ, अशक्त भएपछि बोझ। सोच्न पुगेँ— दोष त हाम्रो आफ्नै दृष्टिमा पो रहेछ।

साँझको पहिलो तारा आकाशमा टल्किन थालिसकेको थियो। पाइलाहरूले घरको बाटो खोज्दै थिए। धर्तीमा टेकिरहेका पाइलाहरूको आभास छुट्टै थियो। यताउता हेर्छु, चलिरहेको चिसो बतास भने उस्तै थियो। खोलाको पानी आफ्नै गतिमा बगिरहेको थियो। हावाले फेरि एउटा ओइलिएको फूल बाटोमा ल्याइपुर्‍यायो। 

मेरा खुट्टा अडिए। मैले त्यसलाई टेक्न सकिनँ। अलिकति झुकें, उठाएँ र हेरिरहें। म ओइलिएको फूलमा जीवन खोज्न पुगेछु। कता–कता आँखा रसाए झैं लाग्यो। त्यो सुनसान वातावरणमा मेरै भित्री आवाजले भनिरहेथ्यो— ‘आँसु आँखाबाट झर्ने पानी मात्र होइन, त्यो त हाम्रो दृष्टि शुद्ध हुन थालेको पहिलो संकेत हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.