शिशुलाई किन राखिन्छ एनआईसीयू ?
अस्पतालमा सामान्य मात्र नभई गम्भीर अवस्थाका बिरामी पनि उपचार गर्न आउँछन्। गम्भीर अवस्थाका बिरामीलाई विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने भएकाले ठूला अस्पतालहरूमा सघन उपचार कक्ष (आईसीयू) को व्यवस्था हुन्छ। त्यस्तै अस्पतालहरूमा नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) को पनि उत्तिकै अत्यावश्यकता पर्छ।
जन्मिनेबित्तिकै वा दुई महिनामुनिका बालबालिकालाई राख्ने ठाउँलाई नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) भनिन्छ। यो जटिल र गम्भीर अवस्थाका शिशुहरूलाई २४ सै घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराइने विशेष कक्ष हो, जहाँ चिकित्सक, नर्स, कर्मचारी र बिरामीबाहेक अरूलाई आवतजावत गर्न निषेध गरिएको हुन्छ।
सबै शिशुलाई एनआईसीयूको जरुरत पर्दैन। तर, अक्सिजनको कमी हुने, मुटुको चाल नाप्नुपर्ने, औषधिको निरन्तर प्रयोग, खानपिन र सरसफाइलगायत विशेष निगरानीमा राख्नुपर्ने अवस्थाका शिशुलाई एनआईसीयूमा राखेर उपचार गर्नुपर्छ। कुनै पनि खालका कडा सङ्क्रमण भएमा, निमोनिया, दम तथा श्वास–प्रश्वास एवं मुटुको समस्या भएका शिशुलाई चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिन्छ। सिकिस्त अवस्थाका शिशुलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र सङ्क्रमण फैलन सक्ने भएकाले एनआईसीयूमा राखेर उपचार गराउनुपर्ने हुन्छ।
त्यसैगरी कतिपयलाई भेन्टिलेटरको जरुरत पनि पर्दछ। कतिलाई सामान्य अक्सिजन दिए पनि हुन्छ भने कतिलाई अलि कडा खालको अक्सिजनको जरुरत पर्दछ। कतिपयलाई औषधिको मात्रा अलिकति पनि तलमाथि नगरी दिनुपर्ने हुन्छ। यस्तो अवस्थामा बालरोग विशेषज्ञ र नर्सको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ। नर्सले प्रत्यक्ष निगरानी गर्नुपर्ने औषधी, चेकजाँच, सरसफाइ अनि खानपानको ख्याल गर्नुपर्ने हुँदा एनआइसीयूमा सिंगो युनिट नै खडा गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो अलि खर्चिलो हुन्छ। यसमा विशेष भूमिका भने नर्सकै हुन्छ। एनआईसीयूमा काम गर्नका लागि आईसीयूबारे विशेष तालिम लिएको हुनुपर्छ।
तालिमप्राप्त नर्सहरूलाई उपकरणहरू चलाउनेदेखि बिरामीको अवस्था र प्रकृति अनुसार कसरी उपचार र हेरचाह गर्ने भन्ने राम्रो ज्ञान हुन्छ। एनआईसीयू भन्नेबित्तिकै सङ्क्रमण न्यूनीकरण गर्न वा रोक्न (इन्फेक्सन प्रिभेन्सन) का लागि बिरामी राखिने उपचार कक्ष हो। त्यसैले एनआइसीयूमा एउटा बिरामी बराबर एक जना नर्सको व्यवस्था गरिएको हुन्छ।
प्रतिक्रिया दिनुहोस !