पर्याप्त सुत्नुहोस्, स्वस्थ हुनुहोस्
निद्रा शरीरका लागि अमृतसरह हो, तर यसको अनियन्त्रित मात्रा विष बन्न सक्छ। त्यसैले, सन्तुलित निद्रा नै निरोगी जीवनको आधार हो।
यदि तपाईं वा तपाईंको छिमेकी वा आफन्त जुनसुकै समयमा पनि निद्राले ढल्किने, दिउँसो धेरै सुत्ने वा ओछ्यान छाड्नै गाह्रो हुने अवस्था भोगिरहेका छन् भने यसलाई केवल अल्छीपन ठानेर बेवास्ता नगर्नुहोस्। लामो समयसम्म सुत्ने बानीभित्र कुनै गम्भीर स्वास्थ्य समस्या लुकेको हुन सक्छ।
सामान्यतया, एक वयस्क मानिसका लागि दैनिक साढे ६ देखि ७ घण्टाको उचित निद्रा पर्याप्त मानिन्छ। पर्याप्त निद्रा नपुग्दा ज्यान थकित हुने र ध्यान केन्द्रित नहुने लगायतका विविध स्वास्थ्य समस्या निम्तन सक्छन्। त्यस्तै आवश्यकताभन्दा बढी सुत्ने बानी पनि शरीरका लागि उत्तिकै समस्या बन्न सक्छ।
कति समय सुतियोभन्दा पनि कस्तो गुणस्तरको निद्रा भयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। तर, केवल अल्छीपन वा खराब जीवनशैलीका कारण आवश्यकताभन्दा बढी सुत्ने बानीले शरीरमा अनेकौं जटिलताहरू निम्त्याउँछन्। मानिसहरू धेरै सुत्नुका पछाडि विभिन्न शारीरिक तथा मानसिक कारणहरू जिम्मेवार हुन्छन्। यदि सामान्य अवस्थामा पनि अत्यधिक निद्रा लाग्ने समस्या छ भने समयमै स्वास्थ्य परीक्षण गराएर चिकित्सकको परामर्श लिनु बुद्धिमानी हुन्छ।
बढी सुताइले निम्त्याउने जोखिमहरूः
- टाउको दुखाइ
- मोटोपन र मधुमेह (सुगर)
- ढाड तथा कम्मर दुखाइ
- मुटुरोगको जोखिम
विज्ञहरूका अनुसार गुणस्तरीय निद्राका लागि ‘स्लिप हाइजिन’को आवश्यकता पर्छ। स्लिप हाइजिन भन्नाले सुत्ने वातावरण र दैनिकीमा सुधार ल्याउने बुझिन्छः
- नियमित व्यायाम गर्ने।
- दैनिक शारीरिक रूपमा सक्रिय रहने।
- चिल्लो, गुलियो र धेरै मसालेदार खाना कम खाने।
- तालिका अनुसार सुत्ने र उठ्ने समय निश्चित गरी पालना गर्ने।
- सुत्ने कोठालाई शान्त, आरामदायी र अँध्यारो बनाउने।
अझै पनि निद्रासम्बन्धी समस्या वा घुर्ने बानीलाई रोगका रूपमा स्वीकार्ने चेतना न्यून छ। तर, पछिल्लो समय विशेषज्ञ चिकित्सक र प्रविधिको विकाससँगै यसको आधुनिक उपचार नेपालमै सम्भव भइसकेको छ। अहिले नेपालका प्रमुख अस्पतालहरूमा ‘स्लिप स्टडी ल्याब’को व्यवस्था रहेको छ, जहाँ अत्याधुनिक उपकरणको मद्दतले बिरामी सुतेको अवस्थामा उसको निद्राको प्रकृति, अक्सिजनको मात्रा र अन्य स्वास्थ्य सूचकहरूको सूक्ष्म अध्ययन गरिन्छ। निद्रा शरीरका लागि अमृतसरह हो, तर यसको अनियन्त्रित मात्रा विष बन्न सक्छ। त्यसैले, सन्तुलित निद्रा नै निरोगी जीवनको आधार हो।
प्रतिक्रिया दिनुहोस !