ल्याप्रोस्कोपिक रोज्ने कि ओपन सर्जरी ?
अपरेसनपछिको तेस्रो दिन ५२ वर्षीया राममाया तामाङले मलाई सोधिन्– ‘डाक्टरसाब, तपाईंले साँच्चिकै मेरो पाठेघर निकालिदिनुभएको हो नि ?’ गाउँघरतिर पाठेघर निकाल्न ठूलो घाउ बनाउनुपर्छ भनेर सुनेकी राममायाले पेटमा तीन–चारवटा स–साना प्वाल (ह्यान्डिप्लास्ट टाँसिएको) देखेपछि अपरेसन नै गरेको छैन कि भनेर धक मानेकी रहिछन्। पछि चित्र कोरेर उनको चित्ता बुझाइदिएँ।
अपरेसन गरेको भोलिपल्ट राउन्ड गर्न गएको पोस्टअपरेटिभ वार्डको दुई नम्बर बेड खाली नै देखेँ। साइडको बेन्चमा एक जना अधबैंसे महिला बसिरहेकी थिइन्। ‘सिस्टर, हिजोको ल्याप्रोस्कोपिक केस खै त ? ’ ‘डाक्टर, उनी त हो नि !’ बिहानको नर्सिङ केयरपछि कोरीबाटी गरेर बसिरहेकीले म नै झुक्किएँ। घाउ पारेर पाठेघर निकालेको भए तीन–चार दिनसम्म पनि बेडमै निस्लोट सुतिरहन बेर लाग्दैनथ्यो।
कुनै जमाना थियो, एउटा चेक साट्न घन्टौं लाइन बस्नुपथ्र्यो, अचेल एटीएमबाट केही मिनेटमै काम फत्ते गर्न सकिन्छ। कुनै जमाना थियो, हाम्रा आमा–हजुरआमा दाउरा–छालीमा धुवाँ पुत्तपुत्ताएर कसौंडीमा भात पकाउनुहुन्थ्यो, अचेल राइसकुकर वा इन्डक्सनमा टाइमर राखी प्रेसरकुकरमै खाना पकाउन सकिन्छ। हो, अचेल प्रविधिले हामीलाई निकै सजिलो बनाइदिएको छ। यस्तैमा महिलाहरूमा हुने अनेकानेक समस्याका लागि शल्यक्रियाको क्रममा ठूलो घाउ नपारी दूरबिन प्रविधिबाटै समस्या समाधान गर्न सकिने भएको छ। मेडिकल भाषामा ‘ल्याप्रोस्कोपिक’ भनिने यो प्रविधि नेपाली महिलाहरूका लागि पनि वरदानसिद्ध भएको छ। यस आधुनिक प्रविधिबाट पाठेघर, डिम्बाशय, डिम्बवाहिनी नली एवं पाठेघरवरिपरिका धेरै समस्याहरू व्यवस्थापन गर्न सकिन्छ।
पाठेघरमा मासु पलाउने (फाइब्रोइड), पाठेघर ठूलो हुने (एडेनोमायोसिस), रगत जमेको फोका आउने (इन्डोमेट्रिओसिस) समस्या, निःसन्तान एवं महिनावारी गडबडीका कारण खुट्याउन, आङ खस्ने समस्याको निराकरणका लागि फित्ता राख्न, जीर्ण खालको तल्लो पेट दुखाइको कारण खुट्याउन, महिलाहरूमा स्थायी बन्ध्याकरण आदिका लागि ल्याप्रोस्कोपी प्रविधि अपनाउन सकिन्छ। त्यसैगरी महिनावारी गडबडी एवं निःसन्तानको कारण खुट्याउन, पाठेघरभित्र जालो पलाएको तथा मासु पलाएको (फाइब्रोइड) हटाउन पनि ‘हिस्टेरोस्कोपी’ भनिने दूरबिन प्रविधि अपनाउन सकिन्छ।
पाठेघर, पाठेघरको मुख, डिम्बाशय एवं डिम्बवाहिनी नलीको क्यान्सरपूर्वको अवस्था तथा यी अंगमा लागेको क्यान्सरको सुरुवाती अवस्थामा, फाइब्रोइड, एडेनोमायोसिस, औषधिबाट अनियन्त्रित असामान्य खालको महिनावारी गडबडीका कारण पाठेघर निकाल्नुपर्ने हुन्छ। पछिल्लो समय नेपालमै पनि पाठेघर निकाल्ने शल्यक्रियाका लागि ल्याप्रोस्कोपी प्रविधि अपनाइँदै आइएको छ। त्यसैगरी डिम्बाशयमा आउने विभिन्न खालका फोका (सिस्ट) को व्यवस्थापनका लागि पनि ल्याप्रोस्कोपी प्रविधि प्रयोग हुँदै आएको छ।
ल्याप्रोस्कोपिक अपरेसनको क्रममा पेटमा दुईवटादेखि चारवटासम्म ५ देखि १२ मिलिमिटरसम्मका स–साना प्वाल बनाई ल्याप्रोस्कोप (क्यामेरा) र विशेष उपकरणहरू प्रयोग गरिन्छ। यस प्रविधिबाट गरिने अपरेसनको क्रममा पेटभित्र कार्बन डाइअक्साइड ग्यास भरेर शल्यक्रियाका लागि आवश्यक स्थान बनाइन्छ र भिडियो मनिटरमार्फत अपरेसनका दृश्यहरू स्पष्ट रूपमा हेर्न सकिन्छ। माथि एटिएम, इन्डक्सन चुल्हो, राइसकुकरको प्रसंग उठाएजस्तै यी स्त्रीजन्य अपरेसनमा पनि ठूलो घाउ नपारी किन आधुनिक ल्याप्रोस्कोपी प्रविधि अपनाउने त ? परम्परागत तवरमा घाउ बनाएरभन्दा ल्याप्रोस्कोपी प्रविधिका निकै धेरै फाइदाहरू छन्।
ल्याप्रोस्कोपिक प्रविधिका फाइदाहरू
- सानो प्वालः स–साना प्वाल मात्र बनाइने भएकाले पेटका तन्तुमा कम क्षति हुन्छ र सौन्दर्यात्मक दृष्टिले राम्रो देखिन्छ। अचेल महिलाहरू पनि घाउ–खटिराको दागप्रति सचेत हुँदै छन्।
- कम रक्तस्रावः ल्याप्रोस्कोपी अपरेसनको क्रममा रगत थाम्ने आधुनिक उपकरणको प्रयोगले रक्तस्राव न्यून बनाउँछ।
- कम दुखाइः यस प्रविधिमा पेटको मांसपेशी कम काटिने भएकाले शल्यक्रियापछिको दुखाइ कम हुन्छ।
- छोटो अस्पताल बसाईः धेरैजसो बिरामी २४–४८ घण्टाभित्र घर फर्कन सक्छन्।
- छिटो हिँडडुलः ल्याप्रोस्कोपी शल्यक्रियाको केही घण्टामै बिरामी हिँड्न सक्छन्।
- घाउ छिटो निको हुनेः घाउ छिट्टै निको हुने हुनाले आफ्ना दैनिक कार्यहरू २–४ हप्ताभित्र गर्न सकिन्छ।
- सङ्क्रमणको जोखिम कमः सानो घाउ भएकाले सङ्क्रमण कम हुन्छ।
- राम्रो दृश्यः ल्याप्रोस्कोपी प्रविधिको क्रममा क्यामेराले पिसाबनली, रक्तनली, स्नायु तथा इन्डोमेट्रियोसिसका दाग, पेटका भित्री अंगहरू स्पष्ट देखिने हुनाले सर्जनलाई पनि सहज हुन्छ।
- मासु टाँसिने समस्या कमः ल्याप्रोस्कोपीको क्रममा भित्री अंगहरू कम चलाइने र रक्तस्राव पनि कम हुने भएकाले अपरेसनपछि भित्री अंगहरू एकआपसमा टाँसिने सम्भावना पनि कम हुन्छ।
- जीवनस्तर राम्रोः यसरी अस्पताल बसाइ, काममा फर्किने, कम पीडा, कम सङ्क्रमण, घाउ छिटो निको हुने हुनाले समग्रमा बिरामी चाँडै नै सामान्य जीवनमा फर्कन सक्छन्न्, जुन बिरामीको जीवनस्तरको दृष्टिले राम्रो हो।
के छ बेफाइदा ?
के त्यसो भए ल्याप्रोस्कोपी प्रविधिका फाइदाहरू मात्रै छन् त ? के सबैखाले स्त्रीजन्य शल्यक्रियाहरू यो प्रविधि अपनाएर गर्न सकिन्छ त ? होइन, ल्याप्रोस्कोपी प्रविधिका पनि बेफाइदाहरू छन्। जस्तैः आवश्यक उपकरण महँगा हुन्छन्, जसले गर्दा सेवाग्राहीलाई तुलनात्मक रूपमा उपचार खर्च महँगो हुन जान्छ। अपरेसन गर्ने सर्जनलाई सिक्न लामो समय लाग्छ। र, राम्रो ठाउँमा तालिम लिई पोख्त हुनुपर्ने हुनाले जोकोही सर्जन ल्याप्रोस्कोपी उपचार गर्न सक्षम हुन्छ भन्ने हुँदैन।
यी दुई कारणले गर्दा नेपालमा काठमाडौं एवं सहरी क्षेत्रका सरकारी एवं निजी अस्पतालमा बाहेक प्रदेश तथा जिल्ला अस्पतालमा ल्याप्रोस्कोपी उपचार विरलै मात्र उपलब्ध छ। यस प्रविधिबाट अपरेसन गर्नका लागि एनेस्थेसिया, अपरेसन थिएटर नर्स, ब्लड बैंक एवं आईसीयू वा एचडीयू कहिलेकाहीँ जरुरत पर्ने भएकाले सितिमिति दूरदराजमा आँट गर्न सकिँदैन।
खर्चको तुलना अलि महँगो छ। हेर्दा ल्याप्रोस्कोपिक उपचार सुरुमा महँगो देखिन्छ। यसका लागि आवश्यक आधुनिक उपकरण तथा डिस्पोजेबल (एक पटक मात्र प्रयोग गर्न मिल्ने) सामग्रीका कारण शल्यक्रियाको प्रारम्भिक खर्च बढी हुन्छ। तर, अस्पताल बसाइ छोटो, जटिलता कम तथा छिटो काममा फर्कन सकिने भएकाले समग्र लागत कम हुन सक्छ। यसको उल्टो, घाउ पारेर गरिने शल्यक्रियाको प्रारम्भिक खर्च कम भए पनि लामो अस्पताल बसाइ, बढी औषधोपचार, घाउको जटिलता, लामो समयको पीडा तथा ढिलो निको हुने भएकाले समग्रमा आर्थिक र मानसिक भार बढी हुन सक्छ। हामीलाई अनौठो लाग्ला, विकसित मुलुकमा निजी बिमा कम्पनीले आफ्ना बिमित रोगीलाई ल्याप्रोस्कोपिक उपचार गराउनका लागि बढावा दिन्छन्।
सुरुवाती अवस्थामा सर्जनलाई यस प्रविधिबाट शल्यक्रिया गर्न समय बढी लाग्ने हुन्छ। यस प्रविधिबाट अपनाइने अपरेसनको क्रममा प्रयोग गरिने उपकरणबाट रक्तनली, पिसाबनली, पिसाबथैली, आन्द्रामा चोट लाग्ने सम्भावना हुन्छ। त्यस्तै पेट फुलाउनका लागि राख्ने कार्बन डाइअक्साइडसँग सम्बन्धित आफ्नै जटिलता छन्। कतिपय अवस्थामा ल्याप्रोस्कोपी गर्दागर्दै अप्रत्याशित जटिलताका कारण ठूलो घाउ पारेर गरिने शल्यक्रियामा परिवर्तन गर्नुपर्ने हुन्छ।
ल्याप्रोस्कोपीको क्रममा पूर्ण बेहोस बनाउनैपर्ने भएकाले जटिल एवं जीर्ण खालको मुटु, फोक्सो, थाइरोइड, मुत्रनलीको समस्या भएकाहरूमा यो प्रविधि उपयुक्त हुँदैन। यसैगरी पहिले पटक–पटक वा जटिल खालको पेटको अपरेसन गरिसकेको यताउती मासु टाँसिने समस्या भएका कारणमा पनि यो प्रविधि त्यति सुरक्षित हुँदैन। त्यस्तै १८–२० हप्ताभन्दा ठूलो पाठेघर भएका वा जटिल खालका डिम्बाशयको ट्युमर (सिस्ट) मा पनि ल्याप्रोस्कोपी प्रविधि असहज हुन्छ, तर निकै अनुभवी ल्याप्रोस्कोपिक सर्जनले गर्न सक्छन्।
धुलिखेल अस्पतालमा सर्जरी गर्न आएका महिलामा पछिल्लो ५ वर्षको अन्तरालमा धेरै भिन्नता पाइएको छ। घाउ पारेर (ओपन सर्जरी) बाट पाठेघर निकाल्ने महिलाहरू ८४ प्रतिशतबाट २५ प्रतिशतमा झरेका छन्। ल्याप्रोस्कोपीबाट १६ प्रतिशतबाट ७५ प्रतिशतमा वृद्धि भएको छ।
त्यसैगरी डिम्बाशयमा पलाएको सिस्ट निकाल्ने उपचारका लागि घाउ पारेर ६९ प्रतिशतबाट २४ प्रतिशतमा झरेको छ भने ल्याप्रोस्कोपीबाट ३१ प्रतिशतबाट ७६ प्रतिशतमा पुगेको छ। पाठेघरबाहिर डिम्बवाहिनी नलीमा गर्भ रहने (एक्टोपिक प्रेग्नेन्सी) समस्याको शल्यक्रियागत उपचारका लागि घाउ पारेर वा ल्याप्रोस्कोपीबाट पछिल्लो ५ वर्षमा त्यति खासै भिन्नता पाइएन।
ओपन सर्जरीमा फाइदा के छ ?
घाउ पारेर गरिने अपरेसनका आफ्नै फाइदा छन्। सर्जनले हातैले छुन, छाम्न सक्ने हुनाले कतिपय अवस्थामा यो राम्रो हुन्छ। जस्तैः डिम्बाशय वा लिम्फनोड साह्रो छ/छैन छामेर थाहा पाउन सहज हुन्छ। क्यान्सर एवं जटिल खालको अपरेसनमा घाउ पारेर गर्दा आवश्यकता अनुसार पछि घाउ ठूलो पारेर अपरेसन गर्ने क्षेत्र सजिलै देख्न सकिन्छ। त्यसैले गम्भीर खालको क्यान्सरका लागि घाउ पारेर नै उपयोगी हुन्छ।
यस्तो खालको कामका लागि तुलनात्मक रूपमा महँगा उपकरण चाहिँदैनन् र सर्जनहरूले पनि आफ्नो पढाइकै क्रममा आवश्यक एवं यथेष्ट अनुभव बटुलिसकेका हुन्छन्। तर ठूलो घाउ, बढी रक्तस्राव, बढी दुखाइ, लामो अस्पताल बसाइ, घाउ निको हुन समय लाग्न सक्ने, पाक्न सक्ने, इन्सिजनल हर्नियाको जोखिम, ठूलो दाग, यताउती मासु टाँसिने जटिलताका कारण अचेल बिरामी र सर्जन दुवैले ल्याप्रोस्कोपी प्रविधिलाई प्राथमिकता दिन थालेका छन्।
प्रतिक्रिया दिनुहोस !